Comments Add Comment

सागमा नेपाली क्रिकेटको कमजोरी छताछुल्ल

कुन स्तरका थिए, बंगलादेशी र श्रीलंकन टिम ?

२३ मंसिर, काठमाडौं । १३ औं सागमा नेपाली क्रिकेट टिमले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गर्‍यो । तर समग्रमा नेपालको प्रदर्शन सन्तोषजनक रहेन ।

सागको पुरुष क्रिकेटमा दुई बलिया टोली भारत र पाकिस्तानले प्रतियोगितामा सहभागिता नै जनाएनन् ।

बाँकी नेपालसँगै श्रीलंका, बंगलादेशको यू-२३ टिम तथा भुटान र माल्दिभ्सको टिम रहृयो ।

र, नेपालको लक्ष्य स्वर्ण जित्ने थियो । तर प्रतियोगितामा नेपालको ब्याटिङ र बलिङ दुवै अपेक्षाकृत भएन । खासगरी फास्ट बलिङको कमजोरी छताछुल्ल नै भयो ।

सागमा नेपालले खेलेका ५ खेलमा ३ जित निकाल्यो भने दुईवटा हार व्यहोर्‍यो । नेपालको तीन जित भुटान र माल्दिभ्स जस्ता कमजोर टिमविरुद्ध थिए । श्रीलंका र बंगलादेशको यू-२३ टिमले नेपालको राष्ट्रिय टिमलाई मौका दिएनन् ।

तेस्रो स्थानका लागि सोमबार भएको प्रतिस्पर्धामा नेपालले माल्दिभ्सविरुद्ध जित निकाल्न पनि पसिना निकाल्नुपर्‍यो । जबकी दुई देशका क्रिकेटको स्तरमा ठूलो अन्तराल छ । टी-२० विश्व वरियतामा नेपाल १२ औं र माल्दिभ्स ७६ औं स्थानमा छन् ।

नेपाली बलरहरुले माल्दिभ्सका ब्याट्सम्यानहरुलाई अलआउटसमेत गर्न सकेनन् । एकदिवसीय टिमविरुद्ध पूरा २० ओभर खेलेर ९४ रन जोड्नु माल्दिभ्सका लागि ठूलो थियो । र, नेपालको ५ विकेट लिन सक्नु उसका बलरहरुको सफलता हो ।

त्यसो त पहिलो र दोस्रो खेलमा नेपालको ब्याटिङ सन्तोषजनक थियो । श्रीलंकाविरुद्ध नेपालले एक सय ७२ रन जोड्दा जितको आशा राखिएको थियो । तर बलरहरुले निराश बनाए । श्रीलंकाले ४ विकेटको क्षतिमा नै लक्ष्य भेट्टायो ।

दोस्रो म्याचमा भुटानविरुद्ध नेपालले सुदृढ ब्याटिङ गर्‍यो । कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खराब फर्म बिर्सेर विष्फोटक शतक हाने । र, नेपालको खातामा कीर्तिमानी २३६ रन जोडियो ।

तर, नेपाली बलरहरुले भुटानलाई अलआउट गर्न चुके । भुटानले पूरा २० ओभर खेल्दै ९५ रन बनायो ।

समूह हचरणमा माल्दिभ्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने निर्णय लियो । भुटानविरुद्ध ब्याटिङले हौसिएको नेपालले माल्दिभ्सविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन सकेन । आठौं नम्बरमा आएका करण केसीले १६ बलमा ४० रन नहानेको भए नेपाल सामान्य स्कोरमा खुम्चिन सक्थ्यो ।

करणले अन्तिम ओभरमै २४ रन हानेपछि नेपालको लाज जोगियो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले ७९ रन मात्र बनाउन सक्यो, तर उसले पूरा २० ओभर खेल्यो ।

समूह चरणको अन्तिम म्याच नेपालका लागि सेमिफाइनल सरह थियो । तर बंगलादेशविरुद्ध नेपालले कुनै चमत्कार देखाउन सकेन । पहिलो ब्याटिङ गरेको बंगलादेशलाई १५५ रनमा समेट्नु बलरहरुको सफलता थियो । तर १५६ रनको लक्ष्य नेपालका लागि भारी भयो । नेपालले २० ओभर खेलेर १११ रन मात्रै बनाउन सक्यो ।

चलेनन् पारस, ज्ञानेन्द्रको मिश्रित

नेपालको ब्याटिङका प्रमुख खम्बा हुन् पारस खड्का । कप्तानीको जिम्मेवारी बिसाएपछि उनको ब्याट अझै चम्किने अपेक्षा गरिएको छ । तर सागमा त्यसको उल्टो भयो । ओपनिङमा आएका पारस चाँडै आउट हुँदा त्यसको प्रभाव सिंगो ब्याटिङमा पर्न गयो ।

भुटानविरुद्ध २८ बलमा बनाएको ५७ रन बाहेक उनले उल्लेख्य स्कोर बनाउन सकेनन् । अन्य ४ म्याचमा उनले कुल मिलाएर २१ रन मात्र बनाएका छन् ।

बरु बंगलादेशविरुद्ध उनले बलिङ राम्रो गरे । प्रतियोगिताकै सर्वोत्कृष्ट मानिएका बंगलादेशी ओपनर शौम्य सरकार लगायत तीन जनालाई उनले आउट गरेका थिए ।

खराब फर्मबाट गुग्रिरहेका कप्तान ज्ञानेद्र मल्लले पहिलो म्याचमा भुटानविरुद्ध आशालाग्दो ब्याटिङ गरे । उनको विष्फोटक शतकको मद्दतले नेपालले टी-२० मा अहिलेसम्मकै उच्च योगफल बनायो । तर बंगलादेश र श्रीलंकाविरुद्ध फिक्का रहे । श्रीलंकासँग उनले २० बलमा २१ रन बनाएर आउट भएका थिए भने माल्दिभ्सविरुद्ध समूह चरणमा १६ बलमा १९ रन मात्रै बनाउन सके ।

बंगलादेशविरुद्ध ४३ बलमा त्यत्तिकै रन बनाएका ज्ञानेन्द्रले सोमबार तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सलाई २४ बलमा २२ रन मात्र बनाउन सके ।

नेपालका ब्याट्सम्यानमध्ये मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले अपेक्षाकृत राम्रो प्रदर्शन गरे । पहिलो म्याचमा श्रीलंकाविरुद्ध उत्कृष्ट अर्धशतक बनाउँदै नेपाली टिमको उद्धार गरेका थिए । उनले ४४ बलमा ३ छक्का र ४ चौकासहित अविजित ७२ रन बनाए पनि सो खेल नेपालले जित्न सकेन ।

दीपेन्द्रले भुटानविरुद्ध ४५, माल्दिभ्स्विरुद्ध ३९, बंगलादेशविरुद्ध १६ बनाए । आइतबार तेस्रो स्थानका लागि भएको म्याचमा भने उनी मात्र २ रनमै आउट भए ।

फास्ट बलिङ फितलो

नेपालको फास्ट बलिङको कमजोरी प्रतियोगितामा देखियो । कमजोर टिमहरुविरुद्ध पनि नचलेको नेपालको फास्ट बलिङ नेपालका लागि चिन्ताको विषय बनेको छ ।

यस प्रतियोगितामा पूर्णकालीन फास्ट बलरहरुले ५ म्याचमा जम्मा ३ विकेट मात्रै लिएका छन् । करण केसी बलिङमा चलेनन् । उनले पाँच म्याचमा जम्मा एक विकेट लिए ।

श्रीलंकाविरुद्धको पहिलो म्याच मात्रै खेेलेका सोमपाल कामीले २ ओभरमै २९ रन खान पुगे । सोही म्याचका क्रममा घाइते भएका उनी त्यसपछि मैदान फर्किएनन् ।

४ म्याच खेलेका अर्का फास्ट बलर अविनाश बोहराको खातामा पनि एक विकेट मात्रै पर्‍यो । बरु पार्ट टाइम बलरका रुपमा पारसले ४ म्याचमा ६ विकेट लिन सफल भए ।

सँधै मजबुत रहने नेपालको स्पिन विभाग यस प्रतियोगितामा ठिकठाक देखियो । सन्दिप लामिछानेको अनुपस्थितिमा ललित राजवंशी र सुशन भारीले जिम्मेवारी निभाए । ललित, सुशन र पवन सर्राफले १५ विकेट आपसमा बाँडेका छन् ।

बंगलादेश र श्रीलंका कुन स्तरका ?

दक्षिण एसिया क्रिकेटको पावर हाउस मानिन्छ । यहाँका पाँच देश भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान टेस्ट मान्यताप्राप्त हुन् भने नेपाल एकदिवसीय मान्यता प्राप्त । बाँकी दुई राष्ट्र भुटान र माल्दिभ्स मात्रै क्रिकेटमा कमजोर मानिन्छन् ।

साग सुरु भएको २६ वर्षपछि पहिलोपटक सन् २०१० को बंगलादेश सागमा क्रिकेटलाई समावेश गरिएको थियो । त्यस प्रतियोगितामा नेपालले ५ खेल खेल्दै एक जित र चार हार व्यहोरेको थियो ।
नेपालले माल्दिभ्सलाई जितेको थियो भने पाकिस्तान, श्रीलंका, बंगलादेशसित हारेको थियो । त्यसपछिका सागमा

क्रिकेटले नियमितता पाउन सकेन । अघिल्लोपटक भारतको गुवाहटीमा भएको १२ औं सागमा पनि क्रिकेटको स्पर्धा भएन । त्यस हिसाबले ९ वर्षपछि सागमा क्रिकेट यसपाली फर्केको हो ।

यसपटकको सागमा अफगानिस्तानले भाग लिएको छैन । भारत र पाकिस्तानले पनि प्रतिस्पर्धा गर्न चाहेनन् । त्यसैले १३ औं साग खेल्ने क्रिकेट राष्ट्र बंगलादेश र श्रीलंका मात्र थिए । सागमा टेस्ट राष्ट्रका यू-२३ टिम (जसमा तीन सिनियर खेलाडी राख्न पाइन्छ)ले मात्रै सहभागीता जनाउन पाउन नियम बनाइएको छ । अन्य राष्ट्रले भने राष्ट्रिय टिमलाई नै खेलाउन सक्छन् ।

श्रीलंका यू-२३ को नेतृत्व चरिथ असालंकाले गरेका थिए भने बंगलादेश यू- २३ को नेतृत्व नाजमुल हुसेनले । असालंकसँग श्रीलंकाको यू-१९ टिमको कप्तानी गरेको अनुभव छ । तर, राष्ट्रिय टिमबाट भने खेलेका छैनन् । सन् २०१८ मा उनी श्रीलंकाको टेस्ट टिममा परेका पनि थिए तर खेल्न पाएनन् । उनले दुईपटक इमर्जिङ एसिया कपमा श्रीलंकाको नेतृत्व गरेका छन् । श्रीलंकाका उपकप्तान कामिन्दु मेन्डिसले भने राष्ट्रिय टिमबाट वान डे र टि-२० खेलिसकेका छन् ।

बंगलादेशी कप्तान हुसेन भने टेस्ट र वान डे समेत खेलिसकेका खेलाडी हुन् । उनले २०१७ मा न्यूजिल्यान्डविरुद्ध टेस्ट खेलेका थिए भने २०१८ मा एसियाकप खेलेका थिए । अहिले भने राष्ट्रिय टिममा छैनन् । बंगलादेशको टिममा भने सौम्य सरकार छन्, जो बंगलादेशी राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । श्रीलंका र बंगलादेश दुवै टिमका खेलाडीहरु फस्र्ट क्लास क्रिकेटमा भने अनुभवी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment