
२३ मंसिर, काठमाडौं । प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की उपन्यासकार बनेकी छिन् । कार्कीको पहिलो उपन्यास ‘कारा’ यसै साता बजारमा आएको छ ।
उपन्यासकार कार्कीका शब्दमा, ‘कारा’ एउटा बन्धनको कथा हो । उस उपन्यासमा महिला कैदीहरुले भोगेको भौतिक कारागारका साथै समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा समेटिएको छ ।
पञ्चायतविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा उपन्यासमा उनिएको छ । यो उपन्यास जेलभित्रको निरकुंशताको कथा पनि हो । त्यसैगरी बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा निरीह महिलाले भोगेको पीडालाई कार्कीले उपन्यासको विषयवस्तु बनाएकी छिन् ।
‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथा सुनें, कार्की भन्छिन्, त्यसले मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे-भोगेका महिलाका पीडालाई पनि उपन्यासमा प्रतिविम्बित गरेको किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकाल बताउँछिन् ।
गत वर्ष पूर्वप्रधानन्यायाधीश कार्कीको आत्मकथा ‘न्याय’ प्रकाशित भएको थियो ।
खगेन्द्र सङ्ग्रौलाको जीवनी : सन्नाटाको एउटा स्वर
खगेन्द्र सङ्ग्रौलाको जीवनी ‘सन्नाटाको एउटा स्वर’ युवा लेखक उज्जल प्रसाईँको लेखनमा तयार भएको छ । पुस्तकको आवरण सार्वजनिक गर्ने कार्यक्रममा लेखक उज्ज्वल प्रसाईले भने, ‘खगेन्द्र सङ्ग्रौला नाम आफैंले उनको सग्लो परिचय दिन्छ ।’
प्रसाईं अगाडि भन्छन्, ‘नेपाली समाज एवं राजनीतिले व्यहोरेका अनेक उतार-चढावलाई कहिले सक्रिय रुपमा संलग्न भएर, कहिले किनारामा उभिएर बुझ्ने र व्याख्या गर्ने प्रयत्न संग्रौलाले गरेका छन् । आफूले नियमित रुपमा पढ्दै आएका यी गम्भीर स्रष्टाबारे अध्ययन गर्दै उनको जीवनी लेख्न पाएकोमा मैले आफूलाई गौरवान्वित महसुस गरेको छु ।’
जीवनीमा सङ्ग्रौलाको जीवनका सम्पूर्ण आयामलाई समेट्ने कोसिस गरिएको लेखक बताउँछन् ।
पत्रकार सम्मेलनमा सङ्ग्रौलाले भने, ‘मैले जीवनमा जे-जति कर्म गरें, ती सबैबारे कसैले मिहीन ढंगले अध्ययन गर्दै मेराबारे जीवनी नै तयार पार्ला भनेर कहिल्यै सोचेको थिइनँ ।’
संग्रौलाले भने, ‘जीवनी प्रकाशन हुनेबेला नजिकिँदै गर्दा मलाई एउटै दुविधा छ, के म जीवनी लेखिन पर्ने मान्छे हुँ ? समाजमा मैलेभन्दा धेरै मानेमा श्रेष्ठ र समाजोपयोगी काम गरेका कति मान्छेबारे अझै जीवनी लेखिएको छैन ।’
संग्रौलाको जीवनी आगामी चैत्र १५ गते काठमाडौंंमा सार्वजनिक गरिने प्रकाशन गृह बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।
बुटवलमा साहित्य मेला : चार लाखका पुस्तक बिक्री
यसैवीच प्राप्त अर्को साहित्य समाचार अनुसार बुटवलमा पहिलोपटक आयोजित साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सकिएको छ । पुस्तक प्रदर्शनीको ८ हजार मानिसले अवलोकन गरेको र करिव ४ लाखका पुस्तक बिक्री भएको संस्थाका अध्यक्ष दलबहादुर गुरुङले बताए ।
पाठ्यक्रम बाहेकका साहित्य, कला, संस्कृति र संगीतसंग सम्बन्धित पुस्तकहरु प्रदर्शनमा राखिएका थिए ।
विशेष गरेर नयाँ पुस्तामा पठन संस्कृतिसँगै उनीहरुलाई पुस्तकमा रुचि बढाउन गरिएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीले साहित्यमा नयाँ उचाइ थपेको सचिव श्यामलाल पोखरेलले दाबी गरे ।
पुस्तक प्रदर्शनीमा साहित्य, कला, संस्कृति, संगीत, नारी चेतना, ईतिहांस, बालसाहित्य, प्रगतिशीलता, स्वास्थ्य, शहरलगायत विभिन्न दुई दर्जन विषयमा बहससमेत गरिएको थियो । सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा प्रदेश मन्त्री, साहित्यकार, लेखक, स्तम्भकार, सामाजिक अभियन्ताले तीन दिनसम्म बहस गरेका थिए ।
पहिलो दिन प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल घनश्याम कोइराला, साहित्यकार जंगबहादुर शाह, डा. राजेन्द्र खनालले आतिथ्य गरेका थिए । दोस्रो दिन रामचन्द्र श्रेष्ठ, प्राध्यापक दिल साहानी, प्राध्यापक हुमाकान्त पाण्डेय, डाक्टर मुरारी पराजुली,विमलबहादुर शाक्य र अन्तिम दिन सहप्राध्यापक ऋषिराम भुसाल, प्राध्यापक डा. कपिलदेव लामिछाने, डा. लक्ष्मी पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्य लगायतले सहभागिता जनाएका थिए ।
साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा बुँद राना, जंगबहादुर शाह, मीनबहादुर राना, सरिता श्रीसलगायतले हरेक दिन आफ्ना रचना वातन गरेका थिए ।
प्रतिक्रिया 4