Comments Add Comment

बिग मर्जरको चहलपहल : ग्लोबल र जनतापछि अरु बैंक पनि तातिए

बैंकको संख्या अझै घटाउने राष्ट्र बैंकका गभर्नरको चाहना

२४ मंसिर, काठमाडौं । गत शुक्रबार दुई ठूला वाणिज्य बैंक मिलेर एक बने । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक एक भएर मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेसँगै बैंकिङ क्षेत्र तरंगित बनेको छ ।

यद्यपि, दुई वाणिज्य बैंकहरु मर्ज भएको नेपालमा पहिलो रेकर्ड भने यो होइन । ग्लोबल आइएमईले नै यसअघि नेपाल कमर्ज एण्ड ट्रष्ट बैंक गाभेको थियो भने प्रभु बैंकमा ग्राण्ड बैंक नेपाल र किष्ट बैंक गाभिएका थिए ।

यसअघि कमर्सीयल बैंकहरु खराब अवस्थामा पुगेपछि गाभिएका थिए । अहिले भने राम्रो प्रगति गरिरहेका बैंकहरु मर्ज भएका हुन् । ग्लोबल र जनताको एकीकरणले अन्य बैंकहरुलाई पनि प्रेरणा मिलेको छ । केही बैंहरु मर्जरका लागि पार्टनर खोज्न पनि थालेका छन् ।

गभर्नर डा. चिरञ्जीवी नेपाल आगामी चैतबाट कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बाहिरिँदैछन् । चार गुणासम्म चुक्ता पुँजी बढाएर विकास बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या धेरै घटाउन सफल भएका गभर्नर नेपाल वाणिज्य बैंकसमेतको संख्या घटाउन चाहन्छन्

यसअघि नै दुईवटा वाणिज्य बैंक गाभिसकेको प्रभु बैंकले छलफल अघि बढाएको छ । प्रभु बैंकका एक सञ्चालकले दिएको जानकारीअनुसार पहिलो चरणमा एनसीसी बैंकसँग यसले अनौपचारिक कुरा गरेको छ ।

‘केही साथीहरुले एनसीसीको सञ्चालकहरुसँग अनौपचारिक कुरा गर्नुभएको रहेछ, हुन्छ नै भन्ने त छैन जेहोस कुरा शुरु भएको छ,’ ती सञ्चालकले भने, ‘उताबाट केही जवाफ आएको छैन ।’

यी दुबै बैंकले साधारणसभाबाट नै मर्जरमा जाने निर्णय गराइसकेका छन् । यि दुई बैंक बाहेक अन्य वाणिज्य बैंकहरुले समेत छलफल शुरु गरेका छन् । नेपाल बैंकर्स संघका बर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सीईओ रहेको नेपाल बंगलादेश बैंकले समेत मर्जरका लागि छलफल शुरु गरिसकेको छ ।

बैंकले उपयुक्त पार्टनर भेटे मर्जमा जाने यसअघि नै बताउँदै आएको थियो । यस बैंकको आगामी पुस ७ गते साधारणसभा बस्दैछ । साधारणसभामा मर्जरका लागि विशेष प्रस्ताव लैजाने बैंकले जानकारी दिएको छ ।

अन्य धेरै बैंकहरुले मर्जरका लागि आन्तरिक गृहकार्य तीव्र बनाएका छन् । यसअघि मर्जरका लागि प्रारम्भिक सहमति गरेर पनि भाँडिएको एभरेष्ट बैंक र लक्ष्मी बैंक फेरि तातेका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा एभरेष्ट बैंकका एक सञ्चालकले केही बैंकहरुसँग मर्जरका लागि छलफल चलाइरहेको बताए । तर यसअघि नै मर्जर भाँडिएको र अहिले प्रारम्भिक चरणमै भएकाले कुन बैंकसँग छलफल चलेको भन्ने विषयमा खुलाउन चाहेनन् ।

पछिल्लोपटक सिभिल बैंकले समेत मर्जरका लागि छलफल चलाएको छ । मर्जरका लागि सिभिलका अध्यक्ष इच्छाराज तामाङले केही बैंकका सञ्चालकहरुसँग भेटेरै कुरा गरिरहेका छन् । तर अहिलसम्म कुरा नमिलेको बैंक स्रोतले बताएको छ ।

बैंक घटाउने गभर्नरको चाहना

राष्ट्र बैंकले ठूला बैंकहरु अब धमाधम मर्जरमा जाने दावी गरेको छ । केही समय अघि ठूला बैंकहरुको मर्जरको कुरा गर्दा नपत्याउने अवस्था रहे पनि अब भने त्यो अवस्था परिवर्तन भइसकेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरले बैंकिङ क्षेत्रमा राम्रो सन्देश गएको बताए । यी दुई बैंकहरुको मर्जरबाट अन्य बैंकहरुले पाठ सिकेको उनको भनाइ छ ।

‘दुई राम्रै कन्डिसनमा रहेका बैंकहरु मर्ज भएर एक भएका छन्, यो बैंकिङ क्षेत्रका लागि धेरै राम्रो कुरा हो’ प्रवक्ता निरौलाले भने, ‘यसले धेरै राम्रो सन्देश गएको छ, अब अन्य बैंकहरु मर्ज हुन तयार छन् ।’

अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग लिखितरुपमै मर्जरमा जाने प्रतिवद्धता जनाइसकेको उनले स्मरण गरे । प्रारम्भिक चरणका वाताहरु भइरहेका कारण नेपाल राष्ट्र बैंकलाई भने अहिले औपचारिक रुपमा जानकारी नगराएको उनले बताए ।

गभर्नर डा. चिरञ्जीवी नेपाल आगामी चैतबाट कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बाहिरिँदैछन् । चारगुणासम्म चुक्ता पुँजी बढाएर विकास बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या धेरै घटाउन सफल भएका गभर्नर नेपाल वाणिज्य बैंकसमेतको संख्या घटाउन चाहन्छन् ।

चार वर्षअघि गभर्नर भएसँगै उनले बैंकको संख्या घटाउनकै लागि पुँजी वृद्धिको अस्त्र प्रयोग गरेका थिए । उनको अस्त्रले ८९ वटाको संख्यामा रहेका विकास बैंक अहिले २ दर्जनमा खुम्चिएका छन् भने फाइनान्स कम्पनी पनि निकै घटेका छन् । वाणिज्य बैंक भने ३२ बाट २८ मा मात्रै झरे ।

गभर्नर निकट श्रोतका अनुसार फोर्स मर्जरको योजना गभर्नरको भए पनि कार्यकाल थोरै मात्रै बाँकी रहेका कारण उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा त्यो ‘रिस्क’ लिन चाहेनन् ।
यो पनि पढ्नुहोस पर्शुरामका काँधमा देशकै ठूलो वाणिज्य बैंकको जिम्मेवारी

ठूला बैंकहरुको मर्जरको विषय औपचारिकरुपमा भने बजेटबाट बाहिरिएको हो । जेठ १५ गते आर्थिक वर्ष ०७६/७७ बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन हुने नीति सरकारले लिने उल्लेख गरेका थिए । बजेटबाट शुरु भएको बिग मर्जरको बहस मौद्रिक नीति आउने तयारी भइरहँदासम्म अझ चर्चाको शिखरमा पुग्यो ।

तर त्योभन्दा अघि पनि गभर्नर नेपालले सार्वजनिक फोरमहरुमा नै बिग मर्जरको चर्चा गर्दै आएका थिए । उनले सहजै मर्जर नभए जबर्जस्त (फोर्स मर्जर) गरेर भए पनि बैंकहरुलाई गाभ्न लगाउने भनेर भाषण गरे । राष्ट्र बैंकले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि प्रतिवद्धता पेश गर्न निर्देशन पनि दियो । फोर्स मर्जरको हल्लाबाट डराएर अधिकांश बैंकहरुले मर्जरमा जान्छौं भनेर राष्ट्र बैंकसमक्ष लिखित प्रतिवद्धता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment