+
+
Shares

पत्रकारमाथि कुटपीटको विरोधमा रंगशालाबाहिर धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १५:१४

२४ मंसिर, काठमाडौं । प्रहरीले कुटपिट गरेको विरोधमा पत्रकारहरुले काठमाडौंको दशरथ रंगशालामा धर्ना दिएका छन् । त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वार नजिकै तस्वीर लिने क्रममा मंगलबार प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि कुटपीट गरेको विरोधमा पत्रकारले धर्ना दिएका हुन् ।

उनीहरुले रिपोर्टिङका क्रममा पटक पटक दुर्व्यवहार गरेको भन्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समापन समारोह बहिस्कार गर्ने चेतावनी दिएका छन् । पत्रकारले नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनल खेल बहिस्कार गरेको बताएका छन् ।

दशरथ रंगशालाबाहिर टिकट किनेर आएका दर्शकमाथि प्रहरीले कुटपिट गरिरहेको तस्वीर खिच्ने क्रममा प्रहरीले पत्रकार चापागाईंमाथि कुटपिट गरेको थियो । पत्रकारहरु दशरथ रंगशालाबाहिर प्लेकार्डसहित धर्नामा बसेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गरी पत्रकारमाथि दुव्र्यवहार गर्ने प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरलगायत प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेको छ । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमा १३ औं सागको सुरक्षा समितिमा नेपाल प्रहरी महानिरीक्षक स्वयं संयोजक रहेको स्मरण गराउँदै मंगलबारको घटनाले घटनाले प्रहरीको सुरक्षा रणनिति तथा ज्यादती थप उजागर भएको बताएको छ ।

देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारले नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको मञ्चले उल्लेख गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गरी पत्रकार सुमन चापागाईंमाथि प्रहरीले कुटपिग गरेको घटनाको विरोध गरेको छ । पत्रकारमाथि प्रहरी अधिकारीकै नेतृत्वमा प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको महासंघले बताएको छ ।

‘प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछु महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले पत्रकारमाथि दुर्व्यवहारको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पत्रकार कुटिनु असामान्य घटना भएको बताउँदै यसबारे सत्य तथ्य अनुसन्धान हुने बताएका छन् । उनले पत्रकार चापागाईंको उपचार खर्च राष्ट्रिय खेलकुद परिषदले ब्यहोर्ने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?