Comments Add Comment

ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने

२५ मंसिर, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते आह्वान भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख चयनका लागि आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेबारे एक-दुई दिनमै सघन छलफल हुने भएको छ ।

नेकपा स्रोतका अनुसार सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय भइसकेको छ । नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुखलाई राजिनामा गराउन लागिएको पुष्टि गरे ।

तुम्बाहाम्फेले आफू सभामुख हुने निश्चित भएपछि मात्र राजिनामा दिने बताउँदै आएकी थिइन् । यद्यपि उनले सभामुख र उपसभामुख एकै दलको हुन नहुने संवैधानिक व्यवस्था आफूलाई थाहा भएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सबै प्रक्रिया मिलाएपछि निकास दिने बताइन् ।

प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्नुअघि नै उपसभामुखले राजिनामा दिने कि सभामुख निर्वाचनको कार्यक्रम बनाएर राजिनामा दिने भन्ने अझै टुंगो लागेको छैन । यद्यपि नेकपा स्रोतले भने पुस ४ गते संसद बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने र त्यसअघि नै उपसभामुखको राजिनामा आउने जनाएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर राजिनामा दिएपछि डेढ महिनादेखि सभामुख पद रिक्त छ । यसबीचमा विधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने काम उपसभामुख तुम्बाहाम्फेले गर्दै आएकी छन् ।

यो पनि पढ्नुहोस ‘म पदमै हुँदा नेकपाले सभामुखमा उम्मेदवारी दिन मिल्दैन’

उनले गरेको सूचना आयोगका पदाधिकारी सिफारिसको निर्णय भने गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ । सभामुखले अध्यक्षता गर्ने बैठक उपसभामुखले गरेको भन्दै परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रतिनिधिसभाको बाँकी ३ वर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनमा कसलाई अघि बढाउने भन्ने बारेमा नेकपाभित्र औपचारिक छलफल नभएको महासचिव विष्णु पौडेलले बताएका छन् । उपसभामुखको राजिनामा आइसकेपछि नेकपाको बैठकमै यसबारेमा छलफल हुने नेताहरुको भनाइ छ ।

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ देखि बस्दैछ । त्यसअघि नै सभामुखमा कसलाई अघि सार्ने भन्नेबारे दुई अध्यक्षबीच छलफल हुने बताइएको छ । ओली र प्रचण्डले जसलाई सभामुख बनाउने सहमति गर्छन् उसकै नाम सम्भवतः सचिवालय र स्थायी कमिटी बैठकमा लगेर टुंगो लगाइने छ ।

सुवास नेम्वाङ र अग्नि सापकोटा

सभामुखमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रमुख सचेतक देव गुरुङ र स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाम नेकपाभित्र चर्चामा छ । उपसभामुख तुम्बाहाम्फेलाई यसअघि नै प्रधानमन्त्रीले मन्त्री बन्न प्रस्ताव गरिसकेका छन् ।

प्रतिनिधिसभाको सभामुखमा पार्टीको स्थायी कमिटी तहकै नेतालाई पठाउने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष ओलीले सभामुखमा नेम्वाङलाई अघि सार्न खोजेका छन् । अबको संसद सञ्चालन झनै जटिल हुने भन्दै त्यसका लागि नेम्वाङ नै उपयुक्त पात्र रहेको ओली पक्षको भनाइ छ ।

उता अग्नि सापकोटाको लबिङ पनि निकै बलियो छ । अध्यक्ष प्रचण्डले सापकोटालाई अघि सार्ने अनुमान गरिएको छ । पछिल्लो समय सभामुखमा नेम्वाङ र सापकोटाका नाम दुई अध्यक्षबीच छलफलको एजेण्डा बन्ने सम्भावना छ । नेम्वाङले यसअघि आफू सभामुख नबन्ने प्रतिक्रिया दिँदा प्रधानमन्त्री ओलीले यसबारे बाहिर नबोल्न निर्देशन दिएका थिए ।

यो पनि पढ्नुहोस ‘सभामुखबारे मलाई नबोल्ने आदेश छ’

नेकपाका एक सचिवालय सदस्यले सभामुख कसलाई बनाउने भनेर पार्टीको स्थायी कमिटी बैठकमा छलफल नगराइने बताए । दुई अध्यक्षबीच समझदारी भएपछि त्यसैमा अघि बढ्ने पद्धति अनुरुप नै सभामुखको टुंगो ओली र प्रचण्डको छलफलबाटै लाग्ने उनको भनाइ छ । कतिपयले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउनेबेलै सभामुखको टुंगो लागिसकेको आशंका पनि गरेका छन् ।

दुर्गा पौडेल

यसैबीच नेकपाले उपसभामुख साना दललाई दिने भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसबाहेक आफ्नो सहयोगी दलबाट उपसभामुख चयन गर्ने नेकपाका एक नेताले बताए । उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत हुने भएकाले कांग्रेसलाई थप एक सदस्य दिन नचाहेको उनले प्रष्ट पारे ।

पुरुष सभामुख भएको अवस्थामा महिला उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको सम्भावना बढी रहेको नेकपा स्रोतले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावदेखि पछिल्लो उपचुनावमा समेत नेकपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएकाले उपसभामुख राजमोलाई दिने सम्भावना प्रवल छ ।

उपसभामुखमा सत्तारुढ समाजवादी पार्टीले पनि दावी गरेको छ । तर समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले सरकार र प्रधानमन्त्रीको सार्वजनिक रुपमै तीव्र आलोचना र आरोपहरु लगाउने गरेकाले ओली रुष्ट छन् ।

उपेन्द्र यादवलाई नै मन्त्रीबाट हटाउन लागेका प्रधानमन्त्रीले समाजवादीलाई उपसभामुख दिने सम्भावना नरहेको नेकपा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment