Comments Add Comment

नेपालको सामाजिक अवस्था र मानसिक समस्या

मानसिक रोगका कारण विभिन्न हुन्छन् । अहिलेसम्म भएका शोध तथा अनुसन्धानबाट जैविक, मनोवैज्ञानिक र सामाजिक कारक तत्वहरुले मानसिक समस्या ल्याउन प्रमुख भूमिका खेल्ने गरेको पाइएको छ । हाम्रो मस्तिष्कमा भएका विभिन्न रसायनको गडबडीका कारण मानसिक रोग लाग्ने गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

यस्ता रसायनहरु गडबडी हुन तनावको ठूलो भूमिका रहेको हुन्छ । विभिन्न किसिमका तनावले मस्तिष्कमार्फत शरीरमा रहेका हर्मोन ग्रन्थीहरुलाई असर पार्छ । यी ग्रन्थीहरुले पनि शारीरिक रोगका साथसाथै मानसिक रोग लाग्न ठूलो भूमिका खेलेका हुन्छन् ।

त्यसकारण सामाजिक तनाव र यसले ल्याउने शारीरिक र मानसिक परिवर्तनले समाजमा मानसिक रोग बढाउन ठूलो भूमिका खेल्ने गरेको पाइएको छ । हुन त स्थिर र सम्पन्न समाजभित्र पनि विभिन्न किसिमका समस्या र मानसिक रोगहरु पनि हुन्छन् । तर, जुन समाज अत्यन्त द्रुतगतिमा परिवर्तन भइरहेको छ, त्यहाँ मानसिक समस्या पनि तीब्र गतिमा भइरहेको हुन्छ ।

यसको ज्वलन्त उदाहरणका रुपमा नेपाललाई नै लिन सकिन्छ । यहाँको सामाजिक परिवर्तन निकै द्रुत गतिमा भइरहेको छ र यसकै कारण विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या पनि वृद्धि भएको पाइएको  छ।

अत्यन्त छिटो आर्थिक उपार्जन गर्न खोज्ने तर प्राप्त गर्न नसक्ने स्थितिले र एक आपसमा देखिने आर्थिक विपन्नताले ल्याउने मानसिक समस्या पनि छ। त्यो विशेष गरेर सहरी क्षेत्रमा देखिन्छ ।

समाजशास्त्रीका भनाइअनुसार समाज परिवर्तनशील छ र कुनै पनि समाज पूर्ण रुपमा स्थिर हुँदैन तर प्राकृतिक रुपमा बिस्तारै परिवर्तन भएको समाजमा यस किसिमका मानसिक समस्या त्यति नदेखिन सक्छन्, जुन अप्रत्यासित र द्रुत गतिमा परिवर्तन भइरहेको समाजमा हुन्छन् ।

विशेष गरेर जहाँ अत्यन्त छोटो समयमा द्वन्द्व र लडाइँ सुरु हुन्छ र हिंसात्मक गतिविधिहरु छोटो समयमै उच्चस्तरमा पुग्छ, त्यस्तो बेला मानिसहरु त्यस प्रकारको परिवर्तनका लागि मानसिक रुपमा तयार भएका हुँदैनन् र चाँडै नै त्यस किसिमका गतिविधिबाट मानसिक सन्तुलन गुमाउन सक्छन् । हाम्रो देशमा र अरु द्वन्द्व प्रभावित मुलुकमा देखिएका मानसिक रोगका समस्याहरुबाट पनि यो कुरा पुष्टि हुन्छ।

सामाजिक परिवर्तन र मानसिक समस्या केवल सतही रुपमा देखिने हिंसात्मक गतिविधिबाट मात्र पनि भएको हुँदैन । त्यसबाट हुने आर्थिक समस्या, आन्तरिक एवम् बाह्य बसाइँ सराइ, परिवार छिन्नभिन्न भएको अवस्था, जातीय, भाषिक विभेद आदिले पनि समुदायमा भय, त्रास र तनावको स्थिति पैदा हुन सक्छ ।

वर्तमान नेपालमा ग्रामीण क्षेत्रबाट विशेष गरी युवाहरु सहर र विदेशतिर पलायन भइरहेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका वृद्धवृद्धा तथा केटाकेटीमा सामाजिक सुरक्षाको कमी महसुस भइरहेको छ । यसकारण उनीहरुमा तनाव झेल्न सक्ने क्षमतामा ह्रास आई डिप्रेसनलगायत विभिन्न किसिमका मानसिक रोगहरु बढी देखिन सक्छन् । सहर आएका र विदेश गएका युवाहरुमा पनि आफ्नो मौलिक पहिचान र संस्कृतिबाट अचानक नयाँ परिवेशमा प्रवेश हुने भएकाले प्रशस्त मानसिक समस्याबाट गुज्रिनुपर्ने बाध्यता रहेको छ  । हाल नेपालमा ग्रामीण क्षेत्रमा बढिरहेको आत्महत्याको संख्याले पनि यस कुरालाई धेरै हदसम्म पुष्टि गर्छ ।

अत्यन्त छिटो आर्थिक उपार्जन गर्न खोज्ने तर प्राप्त गर्न नसक्ने स्थितिले र एक आपसमा देखिने आर्थिक विपन्नताले ल्याउने मानसिक समस्या पनि छ। त्यो विशेष गरेर सहरी क्षेत्रमा देखिन्छ । युवाहरुमा लागूपदार्थको दुर्वयसन, गैरसामाजिक क्रियाकलाप, जोखिमपूर्ण यौनसम्बन्ध र यसबाट हुन सक्ने क्षति पनि परिवर्तनशील समाजका मनोवैज्ञानिक समस्याहरु हुन् ।

यसको मतलब आर्थिक उन्नति र विकासले मानिसको जीवनमा भौतिक रुपमा धेरै सुविधा प्रदान गर्छ तर सूक्ष्म रुपमा यही विकासले सामाजिक परिवर्तन र त्यसबाट हुन सक्ने क्षतिलाई नजरअन्दाज गरेमा समुदायले अर्को किसिमको क्षति पनि बेहोर्नुपर्ने स्थिति आउन सक्छ ।

कुनै पनि समाज परिवर्तनको दौरानमा यदि कुनै भौतिक क्षति भएको छ भने त्यसलाई कुनै न कुनै किसिमबाट फेरि बनाउन सकिन्छ तर चरम सामाजिक परिवर्तनबाट आएका मानसिक समस्याहरु वर्षोंसम्म पनि समाजमा रहिरहने र सूक्ष्म तर गम्भीर रुपमा यसले समाजलाई कुनै न कुनै किसिमले हानि पुर्‍याइरहेको छ ।

कुनै समाज चरम द्वन्द्व र अत्यन्त द्रुत सामाजिक परिवर्तनको शिकार भएमा त्यस समाजले द्वन्द्वपश्चात् पनि लामो समयसम्म विभिन्न किसिमका मानसिक समस्या झेल्नुपर्ने देखिन्छ । त्यसमा पनि यदि समुदायमा सामाजिक चेतना, शिक्षाको कमी र मानसिक रोगसम्बन्धी जनचेतना न्यून भएमा समस्या विकराल बन्न सक्छ ।

अहिलेको पुस्ता मात्र होइन, भावी पुस्तामा पनि परिवर्तन र द्वन्द्वका नकारात्मक असरहरु रहिरहन सक्छन्। यसरी लामो समयसम्म समाजले मानसिक समस्याका लागि नजानिदो पारामा तर ठूलो मात्रामा स्रोत–साधन गुमाइरहनुपर्ने हुन्छ ।

विशेष गरेर सामाजिक परिवर्तनको सर्वाधिक भार युवा पुस्तामा परेको हुन्छ । किनकी युवा पुस्ता प्राकतिक रुपमा नै परिवर्तनलाई अंगाल्न खोज्छन् । तर, परिवर्तनको नकारात्मक पक्षलाई राम्रोसँग केलाउने परिपक्वता धेरैमा आइसकेको हुँदैन । उनीहरु चाँडै नै नयाँ संस्कारमा आफूलाई ढाल्न खोज्छन् तर नयाँ संस्कार उनीहरुका लागि त्यति सजिलो हुँदैन । फलस्वरुप उनीहरुभित्र एक किसिमको ‘संस्कारविहीनता’ को स्थिति पैदा हुन्छ ।

आफ्नो संस्कृति र संस्कार कुन हो भन्ने कुरामा उनीहरु द्विविधामा पर्छन् । अनि आफूभित्र एक किसिमको शून्यता महसुस गर्न सक्छन्  । केही मनोविज्ञहरुको विचारमा त्यही शून्यता युवाहरुमा हुन सक्ने मानसिक रोग र दुर्वयसनीको कारण हो । सामाजिक परिवर्तन र मानसिक समस्या अत्यन्त जटिल विषयवस्तु हुन् । यसलाई हेर्ने दृष्टिकोण पनि विभिन्न क्षेत्रका विज्ञहरुमा फरक रहेको पाइन्छ । तर, तनावसँग मनोरोगको अत्यन्त घनिष्ट सम्बन्ध छ भन्ने कुरामा चाहिं अधिकांश मनोविज्ञहरुको एकमत नै देखिन्छ ।

त्यस कारण भौतिक संरचना र विकासका साथसाथै नीति–निर्माताहरुले समुदायमा भएको मानसिक समस्या निक्र्योल गरी त्यसलाई न्यूनीकरण गर्न र थप क्षति हुनबाट रोक्न समयमै प्रभावकारी पाइला चाल्नुपर्ने देखिन्छ ।

डा. शर्मा ओम अस्पतालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment