Comments Add Comment

चित्लाङमा मदन भण्डारी विश्वविद्यालय बन्ने पक्का

२५ मंसिर, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने पक्का भएको छ । विश्वविद्यालयका परामर्शदाताहरुको उपस्थितीमा निर्माणस्थलमा विश्वविद्यालयको साइनबोर्ड लगाइएको छ । र ‘मल्टी पर्पस बिल्डिङ’ बनाउने तयारी थालिएको छ ।

तर मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण सम्बन्धि विधेयक सदनबाट पारित हुन भने बाँकी छ ।

चिनियाँ राष्ट्रपति सी चसनफिङको नेपाल भ्रमणमा क्रममा विश्वविद्यालय निर्माणका लागि सहयोग गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिन र अन्य पूर्वाधारको परामर्शदाता टोलीले स्थलगत अवलोकन गरिसकेको छ ।

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले निर्माण पूर्वाधार क्षेत्रको लागि वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार पार्न सूचना प्रकाशित गरिसकेको छ । ‘इआइए प्रतिवेदन तयार पार्नको लागि सूचना प्रकाशित गरिएको छ, चित्लाङमा विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढ्यो’, विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका परामर्शदाता सञ्जय खनालले भने, ‘ विधेयक पास भएपछि मुख्य काम अघि बढ्छ ।’

स्थलगत निरीक्षणमा परामर्शदाता भक्तबहादुर आले, रमेश मास्के लगायत ११ जना सहभागी थिए । परामर्शदाता र प्राविधिकहरुको टोलीले विश्वविद्यालय निर्माणको फिल्ड कार्यालय निर्माण स्थलको अवलोकन गरेको छ ।

‘विश्वविद्यालय निर्माणस्थल नजिकै हामीले फिल्ड अफिस निर्माण स्थल छनौट गरेका छौं, यसको लागि सरकारले ५ करोड रुपैयाँ बिनियोजन गरिसकेको छ’, परामर्शदाता भक्तबहादुर आलेले भने, ‘अब छिट्टै टेण्डर प्रक्रिया टुङ्ग्याएर फिल्ड अफिस निर्माण गरी अन्य काम सुरु गर्छौं ।’

विश्वविद्यालय निर्माणको लागि आवश्यक ७ सय ४० रोपनी जग्गा छुट्याईसकेको अवस्था छ । त्यसमध्ये झण्डै २ सय रोपनी जग्गा स्वच्छन्द भैरव माविले उपलब्ध गराएको हो भने बाँकी त्यहाँ रहेको ऐलानी जग्गा प्रयोग गरिने भएको छ ।

नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरिसकेको छ । विश्वविद्यालयको सबै संरचना निर्माण गर्दा करिब ४३ अर्ब रुपैयाँ लाग्ने समितिको अनुमान छ । त्यसमध्ये चालु आर्थिक वर्षमा सरकारले प्रारम्भिक तयारी र निर्माणको काम थाल्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यालय बनाउने लक्ष्य सरकारको छ । जहाँ चार हजार विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । एमए भन्दा माथिका अनुसन्धन र खोजका विषयमा अध्ययन–अध्यापन हुने विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट अध्यापन सुरु गर्ने लक्ष्य लिइएको समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए ।

उनका अनुसार विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यस्थापन, कानून र न्याय लगायतका विषय र क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनेछ । सरकारले विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकलाई यस अघिको सङ्घीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ ।

हाल विधेयक समितिमा छलफलको क्रममा रहेको छ । विश्वविद्यालय निर्माणस्थल काठमाण्डौंको थानकोटबाट २ घण्टाको पैदल दुरी र आधा घण्टाको मोटरयात्रमा पुगिन्छ । जुन सडक निर्माणाधिन अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment