Comments Add Comment

‘विवेकपूर्ण अपरिहार्य वाध्यता’ले महाधिवेशन सर्‍यो- प्रेस युनियन अध्यक्ष सिग्देल

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल । फोटो : फेसबुक

२६ मंसिर, काठमाडौं । नेपाल प्रेस युनियनको मंसिर २८ र २९ गतेका लागि निर्धारित महाधिवेशन अन्तिम समयमा आएर रद्द भएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत निर्धारित मितिमा नवौं महाधिवेशन नहुने जानकारी दिएका हुन् ।

सिग्देलले विज्ञप्तिमा लेखेका छन्, ‘लोकतन्त्रको प्रमुख आधार मध्येको एक आवधिक निर्वाचनको पक्षमा युनियन रहँदारहँदै पनि निर्धारित समयमै महाधिवेशन गर्न नसक्नु हाम्रो विवेकपूर्ण अपरिहार्य वाध्यता हो ।’ ‘विवेकपूर्ण अपरिहार्य वाध्यता’ के हो भन्नेचाहिँ विज्ञप्तिमा खुलेको छैन ।

गत साउन २२ गते बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको थियो । त्यतिबेला डोल्पा र मुस्ताङ बाहेक सबै जिल्ला शाखा, उपशाखा र प्रतिष्ठान शाखामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइएको थियो ।

तर अध्यक्ष सिग्देलले भने एक दर्जनभन्दा बढी जिल्लामा अझै पनि अधिवेशन हुन नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमती हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई केही प्रभाव पारेको यथार्थ कतैबाट लुकेको छैन ।’

सिग्देलले कम्युनिष्ट नेतृत्वको दुई तिहाइ बहुमतको सरकार, नेपाली काँग्रेसको महासमिति बैठक, १४ मंसिरको उपनिर्वाचन, मातहतमा निकायमा अधिवेशन हुन नसकेको लगायतका कारणले महाधिवेशन सार्नु परेको उल्लेख गरेका छन्

एक पटक जितेर दुई कार्यकाल नेतृत्वमा

विधान अनुसार राष्ट्रिय महाधिवेशनले तीन वर्षका लागि केन्द्रीय समितिको चयन गर्दछ । युनियनको वर्तमान नेतृत्व चयन भएको भने झण्डै ६ वर्ष पुग्न लागेको छ ।

युनियनको अहिलेको नेतृत्व २०७१ भदौमा पोखरामा सम्पन्न आठौं महाधिवेशनले निर्वाचित गरेको हो । यस हिसाबले महाधिवेशनको म्यान्डेट २०७४ भदौसम्मका लागि हो ।

विज्ञप्तिमा महाधिवेशन सरेको मात्रै होइन कहिले हुन्छ भन्ने पनि यकिन गरिएको छैन । जबकी विज्ञप्तिमै, ‘कुनै पनि लोकतान्त्रिक संस्थाको जीवन्तता र संगठनमा नेतृत्व विकासका लागि संगठनभित्र नियमित निर्वाचन आवश्यक मानिन्छ,’ भनिएको छ ।

प्रेस युनियनको महाधिवेशन पहिलो पटक सरेको भने होइन । यसअघि २०७५ मंसिर २७ र २८ गतेका लागि तय भएको महाधिवेशन पनि अन्तिम समयमा आएर खारेज भएको थियो ।

अध्यक्ष नै जिम्मेवार !

युनियनका नेताहरूका अनुसार महाधिवेशन मात्रै हुन नसकेको होइन नियमित बैठक समेत बस्न सकेको छैन । २२ मंसिरमा युनियन महासचिव अजयबाबु शिवाकोटीले अध्यक्षलाई पठाएको पत्रमा भनिएको छ, ‘विधानत चार-चार महिनामा बस्नुपर्ने बैठक किन १६ महिना बित्दासमेत बोलाउनु भएन हामीले औपचारिक रुपमा सोध्ने ठाउँसमेत फेला पारेका छैनौं ।’

सिग्देलले कम्युनिष्ट नेतृत्वको दुई तिहाइ बहुमतको सरकार, नेपाली काँग्रेसको महासमिति बैठक, १४ मंसिरको उपनिर्वाचन, मातहतमा निकायमा अधिवेशन हुन नसकेको लगायतका कारणले महाधिवेशन सार्नु परेको उल्लेख गरेका छन् ।

महासचिव शिवाकोटीले भने अध्यक्षले नै जिम्मेवारी पूरा गर्न नसकेको दाबी गरेका छन् । उनले पत्रमा लेखका छन्, ‘आफूले पाएको जिम्मेवारीलाई निर्वाह गर्ने सन्दर्भमा हाम्रो नैराश्यताले युनियनले आगामी दिनमा ठूलो क्षति भोग्नुपर्ने अवस्था सिर्जना भएको छ र यसको जिम्मा मातहतका पदाधिकारी र सदस्यहरूलाई देखाएर अध्यक्ष उम्कन पाउनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment