Comments Add Comment

अँधेरी रातमा फास्ट ट्रयाकको काम !

२६ मंसिर, महादेवटार (मकवानपुर) । बिहीबार साँझ ७ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–५, महादेवटार पुग्दा नेपाली सेनाका जवान सडक निर्माणको काममा व्यस्त थिए । स्काभेटर लिएर १४० मिटर अग्लो चट्टान फोड्न जुटेका फौजीलाई जाडोको मतलव थिएन । झमक्क रात परिसकेको थियो ।

फौजी टोली तालिम अवधिमा झैँ उत्साहका साथ राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको काममा तल्लीन देखिन्थे । सरकारबाट २७ साउन ०७४ मा आयोजना निर्माणको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको सेना लक्ष्यअनुसार काम गर्न प्रतिवद्ध देखिन्छ ।

महादेवटार बेसक्याम्पका प्रमुख एवं प्राविधिक सेनानी पूर्णचन्द्र ढकाल भन्छन्, ‘विहान ५ बजेदेखि बेलुकी १०÷११ बजेसम्म काम भइरहेको छ ।’ ढकालको कार्यक्षेत्र पर्ने ४ किलोमिटरमा दुई सिफ्टमा काम जारी छ ।

बिहान ५ बजेदेखि एउटा टोलीले थालेको काम दिउँसोबाट अर्को समूहले टेकओभर गर्ने गरेको अधिकृतहरु बताउँछन् । ‘यसरी हामीले समयलाई सक्दो सदुपयोग गरेर काम अघि बढाइरहेका छौं’, अधिकृतहरु भन्छन् ।

‘अहिले यो क्षेत्रमा पहाडलाई काटेर सडक निर्माणका लागि आवश्यक सतहमा पु¥याउने काम टोलीले गरिरहेको छ’, ढकालले अनलाइनखबरसँग भने, ‘यसलाई हामी प्राविधिक भाषामा कटिङको काम भन्छौं । ढुंगालाई काटेपछि बनेको सतहमा माटो हाल्ने कामलाई चाहिँ फिलिङ भन्छौं ।’

विशेष गरी ठूला उपकरण प्रयोग हुने कामलाई मात्र रातको समयमा गर्ने गरिएको अधिकृतहरु बताउँछन् । मजदुर प्रयोग हुने कामलाई भने दिनमै प्राथमिकता दिइएको आयोजनास्थलमा खटिएका सैनिक जवानहरुको भनाइ छ ।

परियोजनाका कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडी पनि अनुगमन र सुपरिवेक्षणको आवश्यकता नपर्ने कामलाई रातमा गरिएको बताउँछन् ।

‘विशेष गरेर हाम्रै जवान संलग्न हुने कामलाई रातको समयमा प्राथमिकता दिएका छौं’, उनले थपे, ‘कटिङको काममा खासै सुपरिवेक्षण आवश्यक नहुने भएकाले कामको गतिलाई तीब्रता दिन रातमा पनि सडक निर्माणको काम जारी राखिएको हो ।’

उनका अनुसार कामको गुणस्तरलाई समेत मध्यनजर गरेर मजदुरलाई रातको समयमा काममा खटाइएको छैन ।

असारसम्म सडक सञ्जाल छिचोल्ने लक्ष्य

नेपाली फौजकै प्रतिष्ठानको विषय बनेको आयोजना २०८१ वैशाखसम्ममा सरकारलाई हस्तान्तरण गर्ने जंगीअड्डाको लक्ष्य छ । जसलाई पूरा गर्नका लागि पनि काममा कुनै पनि विलम्व नगरिएको आयोजनामा खटिएका अधिकृतहरु बताउँछन् ।

लक्ष्यलाई भेट्ने गरी तयार पारिएको कार्ययोजनाअनुसार यही असार मसान्तसम्ममा सडकको सञ्जाल खुलाइसक्ने पहाडी बताउँछन् । ‘यो आर्थिक वर्षभरिमा हाम्रो मुख्य लक्ष्य भनेको पुल र सुरुङबाहेक बाटो छिचोल्ने भन्ने हो’, उनले थपे, ‘सडक सञ्जालमा पर्ने क्षेत्रमा कटिङ र फिलिङको काम सक्ने गरी हामीले कामलाई तीब्रता दिइरहेका छौं ।’

आयोजनाका अनुसार कुल ७२.५ किलोमिटरको सडकमा १०.५६ किमी साना, मजौला तथा ठूलो पुल र ६.४१ किमीमा सुरुङ पर्छ । बाँकी रहेको ५५.५ किमीलाई असारसम्ममा ढुंगा र माटोको काम सकेर सडक निर्माणको आधारभूत सतहमा ल्याउने गरी सेनाले काम तयारी गरिरहेको हो ।

‘यसको ८० प्रतिशतभन्दा बढी काम सकिइसकेकाले लिइएको लक्ष्यमा सम्पन्न हुनेमा हामी आशावादी छौं’, पहाडीले भने । त्यसपछि अर्को आर्थिक वर्षमा आयोजनाको सबैभन्दा जटिल सुरुङ र पुल निर्माणको काम सुरु हुने उनले बताए ।

सेनाले महादेव डाँडामा ३.३५५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमीको सुरुङ मार्ग बनाउँदैछ । सेनाका अनुसार सुरुङ निर्माणको काम २०७८ जेठबाट सुरु भएर २०८१ वैशाखमा सकिनेछ । द्रुतमार्गमा निर्माण हुने ठूला र साना पुल भने २०८० मंसिरमा सम्पन्न हुने अधिकृतहरुको भनाइ छ ।

द्रुतमार्गमा विशेष प्रकृतिका १६ र अन्य ७१ वटा गरी ८७ वटा पुन निर्माण हुँदैछन् । विशेष प्रकृतिका १६ वटा पुल (इपिसी) इञ्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड इञ्जिनियरिङ) मोडलमा निर्माण हुनेछन् । जसका लागि छानिने ६ वटा अन्तर्राष्ट्रिय ठेकदार कम्पनीले आफैं मोडल तयार पारेर निर्माण सम्पन्न गरी सेनालाई हस्तान्तरण गर्नेछन् ।

मार्गमा प्यासेन्जर अन्डर पास १२, आभेरपास एउटा, सवारी अन्डरपास ५ र ओभरपास ४ वटा पनि निर्माण हुनेछ ।

द्रुतमार्ग बनाउन १० क्याम्प

सेनाले द्रुतमार्ग निर्माणका लागि १० वटा अस्थायी क्याम्प खडा गरेर काम गरिरहेको छ । जेरो किलो खोकनादेखि बाराको निजगढसम्म ७ देखि ८ किलोमिटरको फरकमा क्याम्प राखिएको आयोजनाले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा द्रुतमार्गको कामलाई गति दिएर निर्धारित समयमै काम सक्नका लागि कार्ययोजना बनाउने कार्य पनि जारी रहेको बताइएको छ ।

तोकिएको समयमा आयोजना सकिनेमा शंका व्यक्त भइरहेका वेला थापाले समयमै गुणस्तरीय रुपमा काम सक्न निर्देशन दिएका छन् । त्यसअनुसार आयोजनाले विभिन्न प्याकेज तयार गरेर एकैपटक ठाउँ–ठाउँमा काम थाल्ने गरी तयारी गरिरहेका हो । हरेक प्याकेजलाई ३ देखि साढे ३ वर्षसम्म सक्ने गरी समयसीमा तोकिने बताइएको छ ।

सेनाले फास्ट ट्रयाकको जिम्मेवारी लिँदा भारतीय कम्पनी आइएलएफएसले बनाएको डीपीआरमा १ खर्ब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । पछि कोरियन कम्पनी सुसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङलाई डीपीआर तयार गर्ने जिम्मेवारी दिइएको थियो । जसमा फास्ट ट्रयाकको खर्च १ सय १८ अर्ब पुग्ने आँकलन गरेको थियो ।

तर, कोरियन कम्पनीको डीपीआरमा सेनाको सुझाव थपेर पठाइएको मस्यौदा मन्त्रिपरिषदबाट स्वीकृत भएर आउँदा आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुगेको छ ।

नयाँ डीपीआर अनुसार द्रुत मार्गको लम्बाई भने घट्नेछ । यसअघि ७६.३ किलोमिटर रहेको कुल लम्बाई ७२.५ किमी कायम भएको हो । यो सडक निर्माण सम्पन्न भएपछि १ घन्टा २ मिनेट ३३ सेकेण्डमा काठमाडौं तराईसँग जोडिने सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment