
२५ मंसिर, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने पक्का भएको छ ।
विश्वविद्यालयका परामर्शदाताहरुको उपस्थितीमा निर्माणस्थलमा विश्वविद्यालयको साइनबोर्डसमेत लगाइएको छ । ‘मल्टी पर्पोज बिल्डिङ’ बनाउने तयारी थालिएको छ ।
तर मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणसम्बन्धी विधेयक सदनबाट पारित हुन भने बाँकी छ ।
चिनियाँ राष्ट्रपति सी जिनजिङको राजकीय नेपाल भ्रमणमा क्रममा विश्वविद्यालय निर्माणका लागि सहयोग गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिन र अन्य पूर्वाधारको परामर्शदाता टोलीले स्थलगत अवलोकन गरिसकेको छ ।
विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले निर्माण पूर्वाधार क्षेत्रको लागि ईआईए प्रतिवेदन तयार पार्न सूचना प्रकाशित गरिसकेको छ । ‘ईआईए प्रतिवेदन तयार पार्नको लागि सूचना प्रकाशित गरिएको छ, चित्लाङमा विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढ्यो’, विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका परामर्शदाता सञ्जय खनालले भने, ‘ विधेयक पास भएपछि मुख्य काम अघि बढ्छ ।’
स्थलगत निरीक्षणमा परामर्शदाता भक्तबहादुर आले, रमेश मास्केलगायत ११ जना सहभागी थिए । परामर्शदाता र प्राविधिकहरुको टोलीले विश्वविद्यालय निर्माणको फिल्ड कार्यालय निर्माण स्थलको अवलोकन गरेको छ ।
‘विश्वविद्यालय निर्माणस्थल नजिकै हामीले फिल्ड अफिस निर्माण स्थल छनौट गरेका छौं, यसको लागि सरकारले ५ करोड रुपैयाँ बिनियोजन गरिसकेको छ’, परामर्शदाता भक्तबहादुर आलेले भने, ‘अब छिट्टै टेण्डर प्रक्रिया टुङ्ग्याएर फिल्ड अफिस निर्माण गरी अन्य काम सुरु गर्छौ ।’
अर्का परामर्शदाता रमेश मास्केले चित्लाङ विश्वविद्यालयका लागि अत्यन्तै उपयुक्त थलो देखिएको बताए । ‘चित्लाङ काठमाडौंदेखि नजिकको मनोरम ठाउँ रहेछ । काठमाडौंको कोलाहाल बाहिर शान्त ठाउँमा विद्यार्थीले पढ्न पाउँछन् । युनिभर्सिटीको भ्याली नै बन्न सक्छ,’ मास्केले भने, ‘सबैभन्दा पहिला निर्माण हुने, ‘मल्टी पर्पस विल्डिङ हो, त्यही निर्माणको तयारी सुरु भएको छ । विश्व विद्यालय निर्माणका लागि स्थानीयले पूर्ण सहयोग गर्नुपर्छ ।’
विश्वविद्यालय निर्माणको लागि आवश्यक ७ सय ४० रोपनी जग्गा छुट्याईसकेको अवस्था छ । त्यसमध्ये झण्डै २ सय रोपनी जग्गा स्वच्छन्द भैरव माविले उपलब्ध गराएको हो भने बाँकी त्यहाँ रहेको ऐलानी जग्गा प्रयोग गरिने भएको छ ।
थाहा नगरपालिका- ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठ गाउँमा विश्व विद्यालय निर्माण हुने कुराले स्थानीय खुशी भएको बताउँछन् । ‘विश्वविद्यालय निर्माणको लागि चाहिने जग्गाको ब्यवस्था गरिसकेका छौं, जनप्रतिनिधि र स्थानीय आवश्यक अन्य सहयोग गर्न पनि तयार छौं,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘जसरी पनि चित्लाङमा नै विश्वविद्यालय बन्नुपर्छ भन्ने भावना सबैको छ । यसमा कुनै विवाद छैन ।’
नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरिसकेको छ ।
विश्वविद्यालयको सबै संरचना निर्माण गर्दा करिब ४३ अर्ब रुपैयाँ लाग्ने समितिको अनुमान छ । त्यसमध्ये चालु आर्थिक वर्षमा सरकारले प्रारम्भिक तयारी र निर्माणको काम थाल्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यालय बनाउने लक्ष्य सरकारको छ । जहाँ चार हजार विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।
स्नातकोत्तर तहभन्दा माथिका अनुसन्धन र खोजका विषयमा अध्ययन-अध्यापन हुने विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट अध्यापन सुरु गर्ने लक्ष्य लिइएको समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए ।
उनका अनुसार विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिकशास्त्र, व्यस्थापन, कानून र न्यायलगायतका विषय र क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनेछ ।
सरकारले विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकलाई यस अघिको सङ्घीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ ।
हाल विधेयक समितिमा छलफलको क्रममा रहेको छ । विश्वविद्यालय निर्माणस्थल काठमाडौंको थानकोटबाट २ घण्टाको पैदल दुरी र आधा घण्टाको मोटरयात्रमा पुगिन्छ । जुन सडक निर्माणाधीन अवस्थामा छ ।
प्रतिक्रिया 4