
२६ मंसिर, काठमाडौं । नेपालले आयोजना गरेको १३ दक्षिण एसियाली खेलकुद (साग) का लागि अनुमानित ३ अर्ब रुपैयाँ खर्च भएको छ । यो खेलकुद पूर्वाधार र खेलाडीलाई घोषित पुरस्कारबाहेकको रकम हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालका अनुसार सागको व्यवस्थापकीय खर्चका लागि सरकारले ३ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको थियो । यसबाट करिब ३ अर्ब खर्च भएको उनले बताए । किफायती तरिकाले खर्च गरिएकोले विनियोजित बजेट उब्रेको पनि उनले बताए ।
परिषदले आगामी ९० दिनभित्र सागमा भएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नेछ । सिलवालले भने, ‘मैले शुरुमै प्रतिवद्धता जनाएको थिएँ, हामी एक–एक रुपैयाँको हिसाब सार्वजनिक गर्छौं । त्यो प्रतिवद्धता पूरा गर्नेछु ।’
नेपालले यसपटक सागको उद्घाटन र समापन कार्यक्रम भब्य बनाउन कुनै कसर बाँकी राखेन । यसका लागि अनुमानित १५ करोड रुपैयाँ खर्च भएको परिषदको भनाइ छ ।
सदस्य सचिव सिलवालका अनुसार यी दुई इभेन्टका लागि १ महिनादेखि करीव १८ हजार कलाकार, विद्यार्थी, सुरक्षाकर्मी खटिएका थिए । उनीहरुलाई दैनिक ५/६ घण्टा उभ्याउँदा खाजा खर्चको जोहो परिषद्ले गरेको थियो । सांस्कृतिक झाँकीहरुका लागि कलाकारले करीव १ महिनासम्म तयारी गरेका हुन् ।
सागमा करिब ५ हजारको संख्यामा विदेशी पाहुना नेपाल आएका थिए । विदेशी टोलीमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संचारकर्मी तथा उच्च पदस्थ अधिकारीहरु थिए । उनीहरुका लागि आयोजकले काठमाडौं, पोखरा र जनकपुरमा गरी करीव २२ सय वटा कोठा बुक गरेको थियो । पाहुनाको आवास र खानपिनमा ठूलो रकम खर्च भएको छ । यसको हिसाब परिषद्ले अझै निकालिसकेको छैन । यातयातमा पनि उत्तिकै खर्च भएको छ ।
फरक–फरक स्थानमा खेल भएका कारण खेलाडी तथा व्यवस्थापकलाई आयोजककै खर्चमा यातायातको व्यवस्थापन गर्नुपर्छ । सुरक्षाकर्मीको परिचालनमा पनि ठूलो खर्च हुने गरेको छ । यसका साथै विभिन्न विधाका खेलाडीहरुको करीव ५ महिना अगाडिदेखिको प्रशिक्षणको खर्च समेत यसमा जोडिने छ ।
४२ करोडका खेलसामग्री
सागमा करिब ४२ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद भएको छ । यसभित्र पोशाकदेखि खेलाडीका लागि आवश्यक सरसामग्री पर्छन् । कम्प्यूटर तथा इलेक्ट्रिक सामग्रीसमेत यसै प्रयोजनमा खरिद गरिएको थियो ।
५ करोडको मेडिकल
सागमा खेलाडीको आकस्मिक उपचारका लागि मेडिकल तथा डाक्टर र नर्स खटाइएको थियो । हरेक खेल आयोजना हुने इभेन्टमा मेडिकल टोली तैनाथ हुनुपर्छ । यसका लागि मात्र करीव ५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
४ करोडमा एन्टी डोपिङ
यस प्रकारका खेल मेलामा डोपिङलाई निकै प्राथमिकता दिने गरिन्छ । किनकी यी प्रतियोगितालाई अन्तर्राष्ट्रिय निकायले समेत नियमन गरिरहेको हुन्छ । एन्टी डोपिङ प्रयोजनका लागि मात्र सागमा ४ करोड रुपैयाँ खर्च भएको छ ।
पदक खर्च प्रयोजकबाट
हरेक विधाका खेलमा तीन उत्कृष्ट खेलाडीलाई आयोजकले स्वर्ण, रजत र काश्य पदक प्रदान गर्छ । यस्तो मेडल खर्चको जोहो भने यसपटक प्रायोजकबाट भएको छ । सदस्यसचिव सिलवालका अनुसार यस पटक करिव १० करोड रुपैयाँ बराबर रकम प्रायोजकबाट उठेको छ । यो रकमले मेडल बनाउने खर्च भने धानेको छ ।
पूर्वाधार निर्माण र पुरस्कारमा अलग्गै खर्च
सरकारले बुधबार मात्र खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । यसको कूल राशी करीब पौने अर्ब पुग्छ । यो रकम सागको व्यवस्थापन बाहेकको हो ।
अर्कोतर्फ सरकारले चालु आवको बजेटमै सागको तयारीका सिलसिलामा पूर्वाधारमा बजेट छुट्याएको थियो । युवा तथा खेलकुद मन्त्रालयको तथ्यांकअनुसार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजनामा पूर्वाधार निर्माणतर्फ ६७ करोड ९० लाख रुपैयाँ विनियोजन भएको छ ।
पूर्वाधारतर्फ विनियोजन भएको बजेट यस्तो छ :
- दशरथ रंगशालाको बाटो, गेट निर्माण र अन्य मर्मत : ३ करोड
- च्यासल फूटबल रंगशाला निर्माण : १० करोड
- प्रशासनिक कार्यालय भवन निर्माण दशरथ रंगशाला परिसर त्रिपुरेश्वर : ६ करोड ५० लाख
- हिटिङ सिस्टम सहितको स्वीमिङ पुल निर्माण, सातदोबाटो : ५ करोड
- दशरथ रंगशालामा भिआइपी प्याराफीटमा छाना र कुर्सी राख्न : १० करोड
- मूलपानी क्रिकेट एकेडेमी निर्माण : १० करोड
- कीर्तिपुर क्रिकेट मैदानमा स्कोरबोर्ड, भीआइपी, इन्डोर कार्पेट, फिटनेस इक्प्यूपमेन्ट, डीपबोरिङ निर्माणलगायत : १ करोड
- सातदोबाटोमा स्क्वास कोर्ट निर्माण : २ करोड
- कराँते एकेडेमी निर्माण, सातदोबाटो : ५० लाख
- तेक्वान्दो एकेडेमी निर्माण, सातदोबाटो : ५० लाख
- कीर्तिपुर बास्केटबल कभर्डहल निर्माण : १ करोड
- नैकाप फूटबल मैदान निर्माण, तेह्रौ साग प्राक्टिस भेन्यू : ३५ लाख
- लैनचौर टीटी कर्भर्ड हल मर्मत, रंगरोगन : २५ लाख
- नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत संस्थाहरुको खेलस्थल मर्मत सम्भार, रंगरोगन तथा स्तरोन्नती पोखरा बहुउद्देश्यीय कभर्डहलको इन्टरनल फिनिसिङ, कुर्सी, साउण्ड सिस्टम, ल्याण्डस्केप निर्माण : ५ करोड
- पोखरा रंगशाला निर्माण : ५ करोड
- ह्याण्डबल एकेडेमी निर्माण पोखरा : ५० लाख
- पोखरा क्रिकेट स्टेडियम निर्माण : ३ करोड
- पोखरा ब्याडमिन्टन कभर्ड हल निर्माण : ५० लाख
- लामाचौर फूटबल स्टेडियमनमा भीआइपी प्याराफिट र चेन्जिङ रुम (प्राक्टिस भेन्यू) लनटेनिस कोर्ट निर्माण कास्की : १ करोड
- गौरीशंकर खेल मैदान निर्माण हेम्जा (प्राक्टिस भेन्यू) : १ करोड
- भलिबल खेल मैदान निर्माण पोखरा २३ बाम्दी (प्राक्टिस भेन्यू) : ५० लाख
प्रतिक्रिया 4