Comments Add Comment

गृहमन्त्रीको प्रस्ताव : भारतलाई काउन्टर दिन सशस्त्र प्रहरी र बीओपी थपौं

२७ मंसिर, काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको दरबन्दी थपेर बोर्डर आउट पोष्ट बढाउने तयारी गरेको छ । यसले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन मद्दत गर्ने गृहमन्त्री रामबहादुर थापा बादलले बताए ।

गृहमन्त्री थापाले शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिम्पियाधुराको ३७२ र कालापानीको विवादास्पद ३२÷३३ गरेर ४०० बढी वर्गकिलोमिटर भारतले अतिक्रमण गरेको तथ्यांक प्रस्तुत गरे । ‘यो अतिक्रमण सन् १९६२ भन्दा पहिले देखिन्न । भारत चीन युद्ध पश्चात अतिक्रमण गरेको देखिन्छ । त्यसअगाडि यो भूभाग नेपालको थुप्रै प्रमाणहरु छन्’, उनले भने ।

भारत चीन युद्धका क्रममा भारतले १८ ठाउँमा सेना राख्यो । युद्धपछि १७ हटाएको भारतले कालापानीमा राखिराख्यो । ‘हुँदाहुँदा त्यो भूभाग भारतको हो भन्ने वैधानिक बनाउन नक्सा जारी गरे,’ उनले अघि भने, ‘यो क्षेत्र नेपालको हो भन्नेमा सरकार स्पष्ट छ । विगतका सरकारहरु पनि लड्दै आएका हुन् ।’

तर अहिलेसम्म राष्ट्रिय स्वाधीनताको लडाइँमा सफलता हात नपरेको भन्दै उनले अहिले नेपालको भूमि फिर्ता लिने अनुकुल स्थिति बनेको गृहमन्त्री बादलले सुनाए ।

सशस्त्र प्रहरीमा दरबन्दी थप्ने प्रस्ताव

गृहमन्त्री थापाकाअनुसार नेपाल र भारत सीमा क्षेत्र एक हजार ८०० किलोमिटर भएको मानिन्छ ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ र १०२ वटा बोर्डर आउट पोष्ट (बीओपी) छ । तर सीमा क्षेत्रमा नेपालका बीओपीको दुरी करिव २५/३० किलोमिटरमा छ । कालापानी क्षेत्रमा त बीओपी सीमा नजिकै पनि छैन ।

जबकी भारतले हरेक किलोमिटरमा बीओपी राखेको छ र, ठूलो संख्यामा सीमा सुरक्षा बल (एसएसबी) खटाएको छ । सेना र गोर्खा राइफल्स पनि खटिएका छन् ।
भारतलाई काउन्टर दिन अब सशस्त्र प्रहरीमा दरबन्दी थपेर बीओपी थप्ने गृहमन्त्रीले बताए ।

‘सशस्त्र प्रहरी करिव ३७ हजार संख्या छ । यो सीमा सुरक्षा गर्न पर्याप्त देखिएको छैन,’ उनले भने, ‘गृह मन्त्रालयले सशस्त्रको दरबन्दी विस्तार गर्ने प्रस्ताव राखेको छ ।’

बोर्डर आउट पोष्ट पनि ६०/७० वटा पनि थप्न गृहकार्य भइरहेको मन्त्री थापाले बताए । दार्चुलामा सशस्त्र प्रहरीको गुल्म रहे पनि सीमानजिकै सशस्त्र प्रहरी राख्न नसकिएको भन्दै उनले त्यसको एउटा समस्या सडक भएको बताए ।

नेपाली भूभागमा जान समेत भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । गृहमन्त्री थापाले अब नेपाली भूभागबाट जाने सकिने गरी बाटो बनाउने र गुल्ममा रहेका सशस्त्र प्रहरीलाई सात ठाउँमा विस्तार गर्ने योजना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment