Comments Add Comment

हुम्लाको बाटो : माथि च्यासरा भीर, तल नीलो दह !

हुम्लामा यसपालि जिन्दगीकै जोखिमपूर्ण बाटो हिँडियो । तल कहालिलाग्दो खोला, माथि टोपी खस्ने भीर । बाटोको आयतन पैतालासम्म अटाउने । ‘डर के आगे जीत है’ भन्ने हिन्दी कहावतझैं जोखिमको बाटो छिचोलेपछि अहा ! कति सुन्दर रहेछ हुम्ला !

यो हुम्लाको च्यासरा भीर हो । यो भीर पार गर्न खुट्टाको भर परेर हुँदैन, भित्तामा अढेसिनुपर्छ । कतै डोरीको पनि साहारा लिनुपर्ने हुन्छ ।

सिमिकोटदेखि हिल्सासम्मको सडक निर्माणाधीन छ । त्यही सडकखण्डको सबैभन्दा डरलाग्दो भीर हो, च्यासरा भीर ।

सिमिकोटदेखि हेप्कासम्म हामीले जीपमा यात्रा गर्‍यौं । त्यसपछि पैदल घोटिनुपर्‍यो । तीनघण्टे पैदल यात्रापछि च्यासरा भीरले हामीसँग पौंठेजोरी खेल्यो । यो कठिन भीर पार गरेपछि हाम्रा पाइला यलबाङतर्फ सोझिए ।

हाम्रो गन्तव्य हो- नाम्खा गाउँपालिकाको यलबाङ । यलबाङ कुनै परिचित ठाउँ होइन । यद्यपि यो ठाउँ भौगोलिक हिसाबले अत्यन्तै रमणीय रहेछ । यहाँ एक गुम्बा छ, यलबाङ्ग गुम्बा । जिल्लाकै सबैभन्दा महत्वपूर्ण गुम्बा रहेछ यो ।

गुम्बासम्म पुग्न कम्ता सास्ती खेप्नु परेन । यसपालि फरक मौसममा यात्रा गरेकाले अनुभूति पनि फरक रह्यो ।

यात्रा कठिन थियो, तर उत्तिकै रोमाञ्चक । बाटोमा देखिने सुरम्य दृश्यले आँखालाई लोभ्याइरहे । तीव्र बेगमा बग्ने हिमाली खोला, किनारमा पाक्नै लागेको अन्नबाली, आँखाले भ्याउनेसम्मका पहाडी श्रृंखला, लेकाली वस्तीहरु । जति हेरे पनि हेरिरहुँ लाग्ने !

हिमाली वस्तीको यात्रा जति कठीन छ, प्रकृतिको सुन्दरता कठिनाई भुलाउने खालको हुने गर्छ । र, स्थानीय मानिसहरुको स्वागत सत्कार एवं आतिथ्य अति नै न्यानो हुने गर्छ ।

मानसरोवर जाने बाटो, जहाँबाट कैलाश पर्वत देखिन्छ : हिक्मतसिंह ऐर, वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड

हुम्ला जिल्लाको सबैभन्दा महत्वपूर्ण स्थान लिमी भ्याली हो । तिल, हल्जी र जाङ्ग मिलेर लिमी उपत्यका बनेको छ, जुन नाम्खा गाउँपालिकाभित्र पर्छ । नाम्खा गाँउपालिकामाको सबैभन्दा केन्द्र भनेको यलबाङ हो ।

 

यलबाङ लिमी भ्याली र नेपाल-चीनको सिमाना हिल्सा बोर्डर जाने मार्गको केन्द्रबिन्दुमध्ये एक हो । हिन्दुहरुको पवित्रस्थल मानसरोवर जाँदा बाटामा पर्ने स्थानमा यलबाङ पर्छ ।

लिमी भ्याली पुग्दा लाग्यो, एकपटक यो क्षेत्र पुग्नै पर्ने रहेछ । नेपालको सायद एकमात्र स्थान होला जहाँबाट माउन्ट कैलाश देखिन्छ, जो नाम्खा गाउँपालिकामा पर्छ । यसलाई लाप्चासार भनिन्छ ।

नयाँ गन्तव्य, नाम्खा गाउँपालिकाको यलबाङलाई चिनाउनुपर्दा पदयात्राका रुपले होस या सडकको माध्यमबाट, दुवै तरिकाले यलवाङ पुग्न सकिन्छ । अहिले सडक निमार्ण भइरहेकाले केही असहज होला तर, भविश्यमा निकै राम्रो हुन्छ जस्तो लाग्यो  । लिमी उपत्यका लगायत नाम्खा गाउँपालिकामा बर्षेनी महोत्सव हुँदै आएको छ,  जसले यी गन्तव्यहरुमा पर्यटकलाई तान्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment