Comments Add Comment

ठोरीको निर्मलवस्ती-विजयवस्ती–सुवर्णपुर,  तोरी खेतीले पहेंलपुर

२७ मंसिर, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाका किसानहरु पुन: तोरी खेतीतर्फ आर्कषित भएका छन् । १ र २ नम्वर वडा बाहेक बाँकी तीन वडाका अधिकांस किसानहरु तोरी खेती तर्फ आकर्षित भएका हुन् । विशेष गरेर ठोरी गाउँपालिका ३ को रामनगर र ब्रम्हनगर, वडा ४ को निर्मलवस्ती र विजयवस्ती तथा वडा ५ को सुवर्णपुर गाउँका किसानहरु तोरी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

गाउँपालिकाको यी तीन वडाका अधिकांश किसानहरुले तोरी खेती गरेका कारण रामनगर, ब्रम्हनगर, निर्मलवस्ती, विजयवस्ती र सुवर्णपुर गाउँ अहिले पहेँलपुर बनेको स्थानीय शिक्षक सन्तोष श्रेष्ठले बताए ।

कम सिँचाई भए पनि पुग्ने र वन्यजन्तुले नोक्सानी नपु¥याउने भएका कारण यस गाउँपालिकाका किसानले तोरी खेती गरेका हुन् । मुख्य नगदे बालीको रुपमा विजयवस्ती र सुवर्णपुर क्षेत्रका किसानले तोरी खेतीसँगै सुर्ती खेती गर्दै आएका छन् । सुर्ती खेती स्वास्थ्यका लागि हानीकारक, रोग किराको प्रकोप देखिएपछि किसानहरु पुनः परम्परागत तोरी खेतीमै फर्किएका हुन् ।

माटो तयार पारेर एक पटक तोरी छरेपछि गोडमेल गर्नु नपर्ने र धेरै सिँचाई समेत आवश्यक नपर्ने भएकोले खेति गर्न सजिलो रहेको किसानको अनुभव छ ।

तोरी खेती सहज र दरिलो नगदे बाली रहेको ५६ वर्षिय किसान तेजबहादुर बमजन बताउँछन् । बमजनले यसवर्ष एक विगाहामा तोरी लगाएका छन् ।

‘हिउँदमा गहुँ बाली लगाउन प्रयाप्त सिँचाई चाहिन्छ । यसमाथि पर्सा निकुञ्जबाट गाउँ पस्ने घोडगदा, हात्ती, बदेल, चित्तल जस्ता जंगली जनावरले नष्ट पारिदिने जोखिम हुन्छ ।’ बमजनले भने ‘ तोरीबाली जंगली जनावारले खाँदैन ।’

गाउँभरीका किसानले तोरी नै तोरी लगाएको उनको भनाइ छ । तर किसानले खेतीका लागि प्रोत्साहन पाउन सकेका छैनन् ।

गाउँकै कन्यामाया लोप्चनले १० कठ्ठा जमिनमा तोरी लगाएकी छन् । उनी गाउँपालिकाले तोरी खेतिका लागि कुनै किसिमको सहयोग नगर्ने गरेको बताउँछिन् । ‘सुर्ती खेतीमा चुरोट कारखानाले समेत सहयोग गर्ने गरेको थियो तर तोरी लगाउँदा कतैबाट सहयोग आउँदैन । सबै कुरा आफैंले गर्नुपर्छ,’  उनले भनिन्, ‘ तर जसरी पहिलादेखि खेती गर्दै आएका थियौं, त्यसरी नै बाली लगाउँछौं । न कुनै तालिम पाएका छौं । न  कुनै कृषि प्राविधिक गाउँमा आउँछन् ।’

सुवर्णपुर, विजयवस्ती, निर्मलवस्ती, ब्रम्हनगर र रामनगर तोरी उत्पादन हुने पकेट क्षेत्रको रुपमा रहेका छन् । यस भेगमा पछिल्लो केही वर्ष यता भूमिगत जलस्रोतको तह घट्दै गएको छ । स्यालो ट्युववेल बोरिङ्ग धेरै गहिरो खन्नुपर्ने हुन्छ ।

सिँचाइका लागि अन्य विकल्प छैनन् । आकाशे वर्षाको भरमा धान, तोरी र मकै बाहेक अन्य अन्न बाली उब्जाउन कठिन हुने किसान बताउँछन् ।

तेलहन बालीमा पर्ने तोरी समथर भूभागमा खेती गरिन्छ । यो नेपालको मूख्य तेलहन बाली हो । तोरीको बोट सानो हुँदा सागको रूपमा तरकारी खाने चलन समेत छ ।

ठोरी गाउँपालिका–५ का अध्यक्ष राम बहादुर पाख्रिन तोरी खेती गर्ने किसानलाई सिँचाइ र मलखादका लागि सहयोग गरेको दाबी गर्छन् ।

‘पहिला सुर्ती खेतिमा किसानको बढी आकर्षण थियो, त्यता समस्या आएपछि अहिले तोरी खेतीमा जोड दिन थालेका छन् ।’ वडा अध्यक्ष पाख्रिनले भने ‘ गाउँमा कृषि सहकारी नभएर अनुदानको रासायनिक मल आईरहेको थिएन, सिफारिस गरेर अर्को ठाउँबाट बाँड्यौं ।’

गाउँमा वडाकै सिफारिसमा २ सय क्विन्टलको हाराहारीमा मल भित्रिएको दाबी उनको छ ।

ठूलो संख्याका किसानले तोरी खेती गर्ने गरेको भएपनि गाउँपालिकाको योजनामा तोरी पर्न सकेको छैन ।

अब तोरी खेतीलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्ने देखिएको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा किसानलाई प्रोत्सानका कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्छन् ।

‘तोरी पालिकाका किसानको मुख्य बाली हो । किसानले उन्नत जातका बिउ नै प्रयोग गर्छन । जेटिए गएर बाली हेर्ने र आवश्यक सल्लाह दिने गरेका छन् ।’ उनले भने ‘ तर पकेट क्षेत्रको रुपमा परेको छैन । गाउँपालिकाले समेत प्रोत्साहनका कार्यक्रम ल्याउन नसकेको अवस्था छ ।’

यस क्षेत्रमा उत्पादन भएका तोरीको बजारका लागि अभाव नरहेको श्रेष्ठले बताए । किसानले खेतबारीबाट तोरी भित्र्याउन थालेपछि व्यापारीहरु घरघरमा खरिद गर्नका लागि आउने गरेको उनले बताए । उनका अनुसार ठोरी गाउँपालिका १ र २ का किसानले उपभोगका लागि मात्रै तोरी खेती गर्ने गरेका छन् तर ३, ४ र ५ वडाका किसानहरुले तोरीखेतीबाट राम्रै आम्दानी लिने गरेका छन् । तोरी खेतीका लागि ठोरी गाउँपालिका पकेट क्षेत्र भएपनि कति क्षेत्रफलमा तोरी खेती गरिन्छ भन्ने तथ्याङ्क नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment