Comments Add Comment

फिल्ममा कसरी खोजिन्छ पात्र ?

३० मंसिर, काठमाडौं । चलचित्रकर्मीले चलचित्रका पात्र कसरी खोज्छन् ? अभिनेताले कुनै पात्रको भूमिका निर्वाह गर्नुअघि के के तयारी गर्छन् ? पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवमा सोमबार यसै विषयमा छलफल भयो ।

अभिनेता सौगात मल्ल, विपीन कार्की र सुरक्षा पन्तले आफूले गर्ने पात्र तयारीबारे पत्रकार स्वेच्छा राउतसँग कुराकानी गरे । अभिनेता मल्लले पात्रको छनोट गर्दा आफूले मौलिकता खोज्ने बताए । उनले भन्ने, ‘पात्रको छनोट गर्दा उनीहरुलाई बताउँदिनँ । तर, उनीहरुको मौलिकता आफूमा उतार्ने कोशिस भने गर्छु ।’ चलचित्रमा मुख्य कलाकारजत्तिकै सहायक कलाकारले पनि फरक पार्ने तर्क राखे ।

अभिनेता विपीन कार्की पनि आम ‘हिरो’ भन्दा भिन्न छन् । उनी पनि फिल्म गर्दा आफूमा ‘विपीन’ खोज्ने बताए । ‘हामीले गर्ने अभिनय सबै एउटै हो । तर, म प्रत्येक स्क्रिप्टपछि म त्यसमा विपीनलाई उभ्याउँछु । त्यसले गर्दा अरुभन्दा भिन्न बन्न जान्छ,’ उनले भने ।

कार्कीले कथामा केन्द्रीय पात्रको महत्व भए पनि त्यसमा सहायक भूमिका निभाउने कलाकारको झन् ठूलो भूमिका रहने सुनाए । उनले भने, ‘उनी केन्द्रीय पात्र हुनैपर्छ । एकजनाले त कथा भन्नै पर्छ । तर, उसलाई जीवन्त बनाउन सहायक पात्रको ठूलो भूमिका हुन्छ ।’ उनले पात्र भूमिका निभाउँदा सम्बन्धित विषयमा अध्ययन गरे सजिलो हुने बताए । उनले अध्ययनले कल्पनाशीलता बढाउने बताए ।

अभिनेता कार्कीले फिल्म क्षेत्रमा आउन पनि सिद्धान्तको ज्ञान आवश्यक पर्ने सुझाव दिए । ‘सिद्धान्त नपछ्याउने भन्ने कुरा हुँदैन । बेसिक कुराचाहिँ हुनुपर्छ,’ उनले भने, ‘तर त्यही सिद्धान्तलाई पनि ब्रेक गर्नपर्छ । ब्रेक गर्न पनि सिद्धान्तबारे थाहा हुनुपर्छ ।’ उनले आफूले परम्परागत सिद्धान्त भत्काउन पनि आफै थाहा नपाउने गरी भत्काउनुपर्ने बताए ।

कलाकार सुरक्षा पन्तले नेपाली फिल्म क्षेत्रमा ‘कथा वाचक’ महिला आउन जरुरी रहेको सुनाइन् । उनले भनिन्, ‘फिल्म क्षेत्रमा महिला कलाकार स्पेस नपाए पनि फरक पर्दैन । तर, कथा वाचक आउनै पर्छ । जसले फिल्म क्षेत्रबारे इमान्दार भएर बोल्छ ।’ उनले नेपाली फिल्म क्षेत्रमा पछिल्लो केही समयपछि मात्रै महिलाहरु देखिने गरी आउन थालेको तर्क राखिन् ।

पन्तले आफूले फिल्ममा निभाउने पात्रको भूमिका आफ्नै जीवनबाटै सिक्ने गरेको सुनाइन् । तर, उनले पात्रको तयारी गर्न कथामा द्वन्द्वको खोजी हुनुपर्ने भनाइ राखिन् । भनिन्, ‘पात्रको तयारी गर्दा त्यसभित्रको द्वन्द्वले फरक पार्छ ।’ उनले पात्रको तयारी गर्दा स्क्रिप्टले सहयोग गर्ने र नहुँदा मौलिकता खोज्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनले फिल्म भनको सपनालाई विपनामा कोर्नु रहेको तर्क राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment