Comments Add Comment

वीपीलाई पढ्दा र बुझ्दा

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद (वीपी) कोइराला लाई सानैदेखि नै सुन्दै र पढ्दै आएको हो । राजनीतिमा त उनी कम सुनिएका वा पढिएका होइनन् ।

वीपीलाई दुई स्रोतमा पढ्न सकिन्छ । एक, उनका आफ्नै किताबहरु र दोश्रो, उनीमाथि अर्काले लेखेका पुस्तक र पत्रपत्रिकाका लेखहरु । पत्रपत्रिकाका लेखहरुमा त मैले वीपीमाथि ३०० बढी लेख नै पढें । ६/७ जना बाहेक अधिकांशको लेख वीपीसम्बन्धी उस्तै उस्तै पाएँ ।

लगभग सबैले वीपी अद्वितीय थिए, उनी बहुतै महान थिए भनी लेखनीको सुरुवात गर्छन् । किनभने वीपी मलाई ढोकासम्म लिन आउनुभयो, गेटसम्म छोड्न जानुभयो, फर्किने बेलामा मलाई भाडा सोध्नुभयो, वीपीलाई हाम्रो पहिलो भेट याद रैछ, वीपीले खाना सोध्नुभयो, वीपीले मलाई चिठी लेख्नुभयो ।

यसरी वीपीलाई महान देख्नेले वीपीको राजनीतिक साहित्यिक मूल्याङ्कन गरेका छैनन् । यस लेखमा मेरो अहिलेसम्मको वीपीमाथिको अध्ययनका क्रममा निस्केको निश्कर्ष र केही मलाई लागेका कुराहरु लेख्दै छु ।

वीपी निकै कम समय मात्र नेतृत्वमा रहे । नयाँ पुस्ता जसले वीपीलाई बृहत रुपमा पढेको बुझेको छैन, उसलाई वीपीको नेतृत्वमा सात सालको क्रान्ति भएको भन्ने छ । वीपीको नेतृत्वमा सात सालको क्रान्ति भएको थिएन । तर, उनको महत्वपूर्ण भूमिका भने थियो ।

वीपी औपचारिक रुपमा निकै कम समयमात्र नेतृत्वमा रहे । अनेक परिबन्दले गर्दा उनी मुख्य नेता घरि हुने घरि नहुने भएको थियो । मात्रिकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, सुवर्णसमशेर राणा लगायतसँग उनले नेतृत्व लिने दिने गरेका थिए ।

वीपी अत्यन्त शिक्षित थिए । वीपीले त्यस समयअघिका विश्व राजनीतिका ठूलाठूला ऐतिहासिक घटना र पात्रहरूका बारेमा पढेका थिए । र, उनमा आफू पनि त्यस्तै पात्रहरुको लहरमा उभिने रहर जागेको थियो भन्न सकिन्छ । वीपीले लेनिन पनि पढेका थिए । वीपी र लेनिनमा एउटा कुराचाहिँ समान थियो, त्यो के भने दुवै अध्ययनशील थिए, र दुवैजना कुशल संगठक पनि थिए । लेखापढी पनि गर्ने र संगठनमा पनि जमेका, मोर्चामा अगाडि पनि हुने । र, दुवैजनालाई के थाहा थियो भने आफैंले लेखेन भने इतिहासमा सुरक्षित भइँदैन ।

इतिहासमा आफ्नो स्पेस बनाउने हो भने आफ्ना बारेमा लेखिनु नै पर्छ भन्ने वीपी जान्दथे । त्यसकारण पनि उनले धेरै लेखे । जेल जर्नल लेखे, राजनीतिक दस्तावेज र अन्य धेरै लेखहरु लेखे, भाषणहरु पनि आफैं लेखे, र तिनलाई सक्दो सुरक्षित राखे । वीपी आफूले पढेका सुनेका ठूला ऐतिहासिक पात्रबाट प्रभावित थिए । उनलाई आफू पनि त्यस्तै पात्र बन्छु भन्ने विश्वास थियो ।

उनले मोहनदास गान्धीलाई महात्मा गान्धी हुनुअघि नै भेटेका थिए । कसरी मोहनदास हेर्दाहेर्दै महात्मा गान्धी भए, त्यो नजिकबाट देखेका थिए । उनले माओ पनि कसरी सामान्य किसानबाट क्रान्तिकारी हुँदै महान चीनको नेतृत्वमा पुगे भन्ने देखेका थिए । यसरी वीपी जत्तिको शिक्षित, स्वप्नशील नेतालाई सिमाना जोडिएको देशमा आफ्नै समयमा ठूला नेता स्थापित हुँदा, त्यसैप्रकारको महत्वाकांक्षा पलाउनु स्वाभाविक हो ।

वीपीलाई इतिहासमा कसरी सुरक्षित भइन्छ भन्ने राम्ररी थाहा थियो । उदाहरणका लागि उनको पहिलो समावेसी सरकार र इजरायलसँग दौत्य सम्बन्धको स्थापनालाई लिन सकिन्छ । माओसँम्ग भेटेर सगरमाथालाई यतै पारे । महान् नेतामा एउटा लुकेको गुण हुन्छ, त्यो के भने उसले आफुलाई इतिहासमा कसरी सुरक्षित हुने भन्ने प्राविधिक कुरा जानेको हुन्छ ।

वीपीलाई एउटा कुराले पीडा दिएको हुन सक्छ । चन्द्रसेखर र वीपी दुवै एकदम मिल्ने साथी थिए । उनीहरु दुवैजना राजनीतिक पीडित थिए । वीपी निर्वासनमा थिए भने चन्द्रशेखर इन्दिरा गान्धीको लखेटाइमा परेका थिए । तर, पछि वीपी नेपालमा जेल परे भने चन्द्रशेखर प्रधानमन्त्री बने । आफू जेल पर्दा आफ्नो साथी शक्तिशाली छिमेकी देशको प्रधानमन्त्री हुँदा एउटा स्वाभाविक अपेक्षा हुन्छ, जुन वीपीले पनि पक्कै गरेका थिए । तर, चन्द्रशेखरले त्यस्तो सहयोग गरेनन् । यो एकदम पेचिलो कुरा हो । एउटा प्रयास भने गरेका थिए । त्यसलाई राजाले टेरेनन् ।

वीपीको राजनीति र उमेर दुवैलाई हेर्दा उनी कम उमेरमै प्रधानमन्त्री बनेका थिए । त्यसअघि नेपालमा राणाहरु अत्यन्त बुढो उमेरमा प्रधानमन्त्री हुने गर्थे भने भारतमै पनि बुढाहरु मात्र प्रधानमन्त्री भएका थिए । महेन्द्र पनि कम उमेरमै राजा बनेका थिए । पछिसम्म पनि वीपीलाई सत्तामा फर्किन्छु भन्ने लागेको हुन सक्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा उनको दिमागमा रहेको कतिपय योजना र सपना पूरा हुन पाएनन् । फेरि सत्तामा जाउँला र निकै राम्रो काम गरुँला भन्ने वीपीलाई लागेको हुनसक्छ । तर, त्यो हुन पाएन । यो एउटा अपुरो कुरा उनको मनमा रहिरह्यो ।

नेहरुले असहयोग गरेको भन्ने कुरा धेरै ठाउँमा खुलिसकेको छ । वीपी अंग्रेज विरुद्धको आन्दोलनमा निष्ठापूर्वक लागेका थिए । गान्धी, नेहरु र अन्य नेताहरुलाई उनी भारत स्वतन्त्र हुनुअघि नै चिन्दथे । नेहरु प्रम भएपछि वीपीकोे जुन स्वाभाविक अपेक्षा थियो, त्यो पूरा भएन । खासमा नेहरु पनि शिक्षित महत्वाकांक्षी र दुरदर्शी नेता थिए । उनले वीपीलाई बुझेका थिए । नेहरुले वीपीमा आफूलाई देखेका थिए ।

अझ म त केसम्म भन्न सक्छु भने, जवाहरलाल नेहरु वीपी कोइरालाको व्यक्तित्वको इर्ष्या गर्थे । भारत भर्खर स्वतन्त्र भएर प्रजातन्त्र अभ्यास र प्रबर्धन गर्दै गरेको देशको शक्तिशाली प्रधानमन्त्री भएर विश्व प्रसिद्ध भएका बेलामा जुन ‘क्रेडिट’ नेहरु बटुलिरहेका थिए, सायद छेउकै देशमा वीपी उदाउँदा त्यो क्रेडिट खोसिने डर थियो नेहरुमा । वीपी सफल भएका भए त्यसैबेला अन्तरास्ट्रिय रुपमा स्थापित हुन्थे र एसिया महादेशमा नेहरु र वीपीको इज्जत समान हैसियतमा स्थापित हुन्थ्यो । आफूमात्र जंगलको बाघ हुनको लागि नेहरुले वीपीलाई सहयोग गरेनन् बरु असहयोग नै गरे ।

वीपीको एउटा कमजोरी के थियो भने उनले खासमा नेपाल बुझ्नै पाएनन् अथवा भनुँ असाध्यै कम बुझे । वीपी भारतमै हुर्के, बढे, भारतमै पढे, भारतमै राजनीति सिके, भारतमै उनले पहिलो आन्दोलनमा सहभागी भए । उनको लामो नेपाल बसाइ त जेल जीवनमा मात्र भयो । त्यसपछि फेरि निर्वासनमा रहे । समग्रमा उनले नेपालको भौगोलिक, सांस्कृतिक र आर्थिक स्थिति बुझ्नै पाएनन् । उनीसंग देश बनाउने बिशाल सोच त थियो तर सिंगो नेपाल उनले बुझेका थिएनन् भन्ने मलाई लाग्छ ।

दुई वर्ष जतिअघि सौरभले अन्नपूर्ण पोस्ट दैनिकमा यस्तो लेखेका थिए ‘वीपी बाँचेका भए पञ्चायत पनि बाँचिरहेकै हुन्थ्यो’ । ०४६ सालको आन्दोलनमा संयुक्त वाम गठबन्धन र नेपाली कांग्रेसको सहभागिता थियो । पुष्पलालले धेरैअघि नै मिलेर जाउँ भनेका थिए । तर, वीपीले मानेका थिएनन् । चीनमा माओले च्याङ्ग काइसेकसँग मिलेर बिस्तारै शक्ति आर्जन गरेर सेकलाई नै धपाएका थिए । कम्युनिस्टहरुसँग मिलेर जाँदा शक्ति आर्जन गर्छन् र प्रजातन्त्रनै खतरामा पर्न सक्छ भन्ने उनको बुझाइ थियो ।

अर्को कुरा, वीपीको नजरमा राजा अलि सानो दुश्मन शक्ति थिए, रसियाको जार जस्तो नभएर, चीनको च्याङ्ग काइसेक जस्तो नभएर उनको नजरमा एउटा अपठित, संसार नबुझेको र भर्खरै खुला भएको संस्थालाई म एक्लै फाल्छु भन्ने घमण्ड वा विश्वास थियो । वीपीलाई यस कारण दुरदर्शी भन्न सकिन्न ।

वीपी आफूसँग सहमत हुनेलाई अत्यन्त सम्मान गर्ने, माया गर्ने गर्थे भने आफूसँग वैचारिक रुपमा असहमत हुनेप्रति एकदम असहिष्णु व्यवहार गर्थे । यसका धेरै उदाहरण हरिहर बिरहीको ‘आगो निभेको छैन’ भन्ने किताबमा पढ्न पाइन्छ । यो एउटा वीपीको फरक पाटोबारे लेखिएको किताब हो ।

वीपी बिरामी हुँदै जाँदा उनमा एकदम पीडा बढेको हुन सक्छ । क्यान्सरजस्तो रोगको कारण उनमा अब बाँच्दिनँ भन्ने लागेको हुन सक्छ । जीवन सिद्धिँदै छ भन्ने एकातिर अनुभव हुनु र अर्काेतिर सारा चिज बदल्छु भनेर हिँडेको म, त्यत्रो महत्वाकांक्षा लिएर हिँडेको म, नाम ठूलो काम अधुरै छ भन्नेजस्ता कुराले उनमा धेरै पीडा रहेको थियो भन्न सकिन्छ ।

वीपीको मनमा जे भए पनि, उनी यो देशका अहिलेसम्मकै स्वप्नशील र असल नेता थिए । वीपी नै त्यस्तो नाम बनेको छ, जुन नामलाई हरेक पुस्ता सम्मान गर्दछ । वीपीप्रति मेरो पनि अत्यन्त सम्मान छ । वास्तवमै यो देशले गुमाएका मध्ये पहिलो कोही छ भने वीपी नै हुन् । वीपीलाई अहिलेको पुस्ताले पढ्न र बुझ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment