
चिकित्सकहरुले उपचार गर्नु अघि जहिले पनि दुई वटा आरोप खेप्नुपर्छ । उपचार गर्न आउने बिरामीलाई कुनै समस्या नआएसम्म अनावश्यक औषधि र परीक्षणको भार थोपरेको आरोप लाग्छ । त्यस्तै उपचारको क्रममा केही समस्या आयो भने चिकित्सकको कमजोरीले बिरामीमाथि तलमाथि भएको भनेर उल्टै आक्रोश सहनुपर्छ ।
यस्तो अवस्थामा चिकित्सकहरुले सबै किसिमको स्वास्थ्य परीक्षण गर्दा पनि अपजस सहनुपर्ने र परीक्षण नगरी उपचार सुरु गर्दा पनि अपजस सहनु पर्ने अवस्था छ ।
यति कुरा गर्दैगर्दा सबै गल्ती बिरामीहरुकै हो र चिकित्सकहरु पानीमाथिका ओभाना हुन्छन् भन्ने पनि होइन । कतिपय अवस्थामा चिकित्सक र अस्पताल प्रशासनकै कारण पनि बिरामीहरु आर्थिक समस्यामा पर्ने गरेको देखिन्छ । बिरामीले एउटा अस्पतालमा हजारौं रुपैयाँ खर्च गरेर स्वास्थ्य परीक्षण गरेको हुन्छ ।
कुनै कारणले बिरामी त्यो अस्पतालमा उपचार गराउन सक्दैन र अर्काे अस्पतालमा जानु पर्यो भने उसले फेरि पुरानै परीक्षणको लागि खर्च अर्काे हजारौं रुपैयाँ खर्चगर्नुपर्ने बाध्यता छ । कतिपय अस्पतालको यस्तो बाध्यकारी नियमका कारण भने पक्कै पनि बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।
सधैं होइन, कहिलेकाहीँ आवश्यक हुनसक्छ पुनः परीक्षण
कुनैपनि अस्पतालले अर्काे अस्पतालमा गरेको एकै किसिमको स्वास्थ्य परीक्षण समेत नस्वीकार्दा धेरै मानिसहरु आर्थिक समस्यामा गुज्रिने गरेको गुनासाहरु प्रशस्तै आउँछ । अस्पताल प्रशासनले घोषित रुपमा नै अरु संस्थाले अध्ययन गरेको रिपोर्ट मान्दिन भन्नु उनीहरुको कमजोरी हो ।
यद्यपि कहिलेकाहीँ प्रविधि र मानिसकै गल्तीले पनि रिपोर्ट अस्वभाविक किसिमको आउन सक्छ । त्यस्तो अवस्थामा पुनः स्वास्थ्य परीक्षण गर्नु स्वभाविक पनि हो । कहिलेकाहीँ हुने यस्ता घटनाहरुलाई सामान्य नै मान्नुपर्छ । तर, सधैंभरी भने यस्तो अवस्था आउँदैन ।
टाइम म्यागाजिनको एक अध्ययन अनुसार हरेक वर्ष २२३ खर्ब नेपाली रुपैयाँ बराबरको रकम त विश्वभर अनावश्यक स्वास्थ्य परीक्षण र उपचारमा नै सकिने गरेको छ । यस्तो अवस्थामा नेपालमा पनि यसले आर्थिक अवस्था कमजोर भएकाहरुलाई अझै वित्तीय संकटतर्फ धकेल्ने गरेको देख्न सकिन्छ ।

समस्या तेस्रो पक्षमा बढी
यति भनिरहँदा बिरामी र अस्पताल प्रशासनमा मात्रै होइन । यसको मूल समस्या त यी दुई बाहेकको तेस्रो पक्षमा धेरै देखिएको छ । बिरामी र चिकित्सकहरुको कमजोरीको बहस गरिरहँदा प्राविधिक कमजोरी नै अहिलेको मूल समस्या हो ।
काठमाडौं उपत्यका बाहिरको त कुरै छाडौं काठमाडौंमै पनि स्वास्थ्य परीक्षणको रिपोर्ट तयार पार्ने धेरै स्वास्थ्य संस्थामा कम गुणस्तरको सामान र अदक्ष जनशक्तिको बिगबिगी छ ।
यसको अर्थ सबै संस्था त्यस्तै छन् भन्ने चाहिँ होइन । यसले गर्दा पनि जुनसुकै संस्थाहरुले प्रकाशित गरेको स्वास्थ्य रिपोर्टलाई ढुक्क भएर विश्वास गर्नसक्ने अवस्था छैन । यो नै विकृतिको मूल कारण हो ।
विभिन्न अन्तराष्ट्रिय संस्थाहरु र नेपाली संस्थाहरुले समेत अनावश्यक स्वास्थ्य उपचारका कारण धेरै मानिस गरिबीको भूमरीमा फसेको देखाएका छन् । जबकी विश्वका विकसित देशहरुमा स्वास्थ्य रिपोर्टको एउटै मापदण्ड रहेको र त्यही मापदण्डलाई सबैले स्वीकार गर्ने परिपाटी हुँदा समेत खरबौंको अनावश्यक उपचार खर्च हुने गरेको छ ।
यसको अर्थ सिस्टमले मात्रै पनि यस्ता कुरा रोक्न सकिँदैन । यसको लागि पेशागत मर्यादा र इमान्दारिताको आवश्यकता समेत पर्ने गर्छ ।
रिपोर्ट दिने संस्था र व्यक्तिको मापदण्डको खाँचो
छिमेकी मुलुक भारतमै पनि एउटा मापदण्ड र बिरामीको रेकर्ड चिकित्सकहरुले आधिकारिक रुपमा राख्नुपर्ने प्रावधान छ । बिरामीसँग कुनैपनि रिपोर्टको प्रतिलिपी मात्रै हुन्छ ।
चिकित्सकले अन्त रिफर गर्ने बेलामा त्यो आधिकारिक रिपोर्ट दिने वा त्यसको विवरण पनि सबै दिने गर्छन् । त्यसैगरी नेपालमा पनि स्वास्थ्य परीक्षण रिपोर्ट दिने संस्था र व्यक्तिको मापदण्ड तोकेर निश्चित मापदण्ड पूरा गरेका व्यक्ति एवं संस्थाहरुले दिएको स्वास्थ्य रिपोर्ट सबैतिर लागू हुनै पर्ने प्रावधान राखियो भने अहिलेको समस्या समाधान हुने देखिन्छ । कुनैपनि विषयको स्पष्ट मापदण्ड तयार पारियो भने त्यसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ ।
सार्वजनिक खरिद ऐनमा समेत समस्या
दोहोरो परीक्षण सम्बन्धी समस्याहरुको प्रत्यक्ष कारण अस्पताल र डाक्टरहरु हुन् । तर, यसको अप्रत्यक्ष कारण भनेको सरकारी विभिन्न नीति नियमहरु समेत हुने गर्छन ।
जस्तो, सार्वजनिक खरिद ऐनले कुनैपनि सामान खरिद गर्दा त्यसको न्यूनतम मूल्यमा खरिद गर्नुपर्ने नीति लिन्छ । सरकारी अस्पतालहरुले सामान खरिद गर्दा सस्तो सामान किन्दा गुणस्तर कम हुने र महंगो सामान किन्दा झण्झटमा फस्नुपर्ने अवस्था आउँछ ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत गुणस्तरीय भन्दा पनि सस्तो सामान खरिद गर्दा त्यसको असर स्वास्थ्य रिपोर्टमा पर्ने गर्छन । त्यसैले पनि कुनै न कुनै हकमा यो ऐनको कारणले पनि बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन समस्या भइरहेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक शर्मासँगको कुराकानीमा आधारित
प्रतिक्रिया 4