Comments Add Comment

ब्याटिङ र बलिङ दुवैमा आक्रामक चितवनसामू बुटवल निरिह

३ पुस, पोखरा । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको चितवन राइनोजले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । उसले बिहीबार बुटवल ब्लास्टरलाई ११९ रनको फराकिलो अन्तरले हराएको छ ।

मुस्तफा र पारसको शानदार पारी

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनको सुरुवात निकै राम्रो रह्यो । उसका ओपनरद्धय रोहन मुस्तफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे । कप्तान खड्का ६३ रनमा आउट भए । ४० बलेका सामना गरेका उनले ६ चौका र दुई छक्का हानेका थिए ।

बाबर हायात मात्र १ रनमा आउट भए । तर चौथो नम्बरमा आएका आरिफ शेखले मुस्तफासँग ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई विशाल योगफलतिर डोहो¥याए । आक्रामक पारी खेलेका शेखले १९ बलमा ४० रन बनाए ।

मुस्तफा ७० र सन्नी पटेल ४ रनमा अविजित रहे । र चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०३ रन बनायो । यो पीपीएलकै सबैभन्दा ठूलो स्कोर हो ।

बलरहरु चम्किए

२०४ रनको लक्ष्य पछ्याएको बुटवलका ब्याट्सम्यानहरुलाई चितवनका बलरहरु करण केसीसँगै रोहन मुस्तफा र सन्नी पटेले खुलेरै खेल्न दिएनन् । र, १८.४ ओभरमा मात्र ८४ रन जोड्दा अलआउट भयो । केसीले ३.४ ओभरमा मात्र ११ रन दिएर ४ विकेट लिए भने तीन ओभर बलिङ गरेका रोहनले मात्र ५ रन खर्चिएर २ विकेट लिए । पटेलले ३ ओेभरमा एक मेडन राख्दै ८ रन दिएर एक विकेट लिएका छन् ।

भुवन कार्की, विक्रम शोव र विक्रम भुसालले पनि एकएक विकेट लिएका छन् । चितवनका बलरहरु मध्ये भुसाल मात्र महंगा देखिए । तीन ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment