Comments Add Comment

क्रान्तिकारी पत्रकार संगठनले मिडिया हाउसको अनुगमन गर्ने

३ पुस, काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकारले न्युनतम पारिश्रमिक पाएको वा नपाएको विषयमा मिडिया हाउसमा अनुगमन गर्ने निर्णय गरेको छ ।

सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, श्रमजीवी पत्रकारको हकहितको बिषयमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने, देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय पनि गरेको छ ।

त्यस्तै राष्ट्रियता र जनजीविकाका विषयमा छलफल, अन्तर्क्रिया, प्रदर्शन जस्‍ता कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष डिल्लीराज रावतले जनाएका छन्  ।

बैठकले चौथो राष्ट्रिय सम्मेलनको तयारीका लागि एसोसिएट, प्रतिष्ठान, प्रदेश र जिल्ला भेला आगामी चैत मसान्तसम्म गर्ने, देशव्यापी रुपमा ‘दुई महिने संगठन सुदृढ तथा शुद्धिकरण अभियान’ संचालन गर्ने र ७ प्रदेश र उपत्यका व्यूरो संयोजक र सदस्यहरुको जिम्मेवारी ठोस गर्ने निर्णयसमेत गरेको छ ।

सीमा अतिक्रमण, राष्ट्रियता,  जनजीविका, प्रेस तथा नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र श्रमजीवी पत्रकार, मजदुरका हकहितलगायतका बिषयमा सातै प्रदेशका शहरहरुमा छलफल, अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा हुने आगामी निर्वाचनमा भाग लिने र त्यसको तयारीका लागि अन्य संघ/संगठनहरुसँग मोर्चाबन्दीका लागि छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment