
१० मंसिर, काठमाडौं । ‘प्लस टु सकेर के खाली बस्छौं ? कन्सल्टेन्सीतिर जागिर खानु नि !’ जुम्लाकी निर्मला शर्माले दाङकी १८ वर्षीया अस्मिता (नाम परिवर्तन) लाई सुझाइन् ।
कोठा भाडा तिर्न कतिञ्जेल घरमा पैसा माग्नु ? साथीभाइ भेट्न जाँदा पनि दिदीलाई कति पकेट खर्च माग्नु ? अस्मितालाई पनि पनि अफ्ठ्यारो थियो । फेरि स्नातक तहको कक्षा सुरु भइनसकेकाले उनी फुसर्दिली पनि थिइन् । त्यसैले गफैगफमा साथीहरुलाई जागिर खोजिरहेको सुनाउँथिन् ।
त्यहीवेला निर्मलाको प्रस्तावले उनलाई लोभ्यायो । उनले जागिरबारे चासो राखिन् । निर्मलाले कैलालीकी साथी मिना रिमालका दाइ रोहित ढुंगाना कन्सल्टेन्सी सञ्चालक भएकाले जागिर मिल्नसक्ने बताइन् ।
साथीसँग कुरा गरेर खबर गर्ने बचन दिइन् ।
अन्तर्वार्ताका लागि बोलाएर रिसार्टतिर…
‘एउटा जब पाइएको छ, बानेश्वर आइज’, ५ मंसिरको दिन बिहानै अस्मितालाई निर्मलाको फोन आयो ।
अन्तर्वार्ता हुने भनेपछि अस्मिता १० नबज्दै बानेश्वर पुगिन् । निर्मला र मिना एक खाजा घरमा कुरिरहेका थिए । ‘दाइ, खाजा खाँदैछौं आउनुस् न’, अस्मिता पुग्नेवित्तिकै मिनाले फोनमा भनिन् ।
जवाफमा जागिर लगाइदिने कन्सल्ट्यान्सी सञ्चालक ढुंगानाले आफू अफिसको काममा व्यस्त भएकाले अलि समय लाग्ने बताएको उनले सुनाइन् । चिया, खाजा खाँदै गफिएर तीनै जना बसे ।
त्यहाँबाट कोटेश्वरमा रहेको निर्मलाको कोठामा पनि उनीहरु पुगे । ‘मैले पटकपटक दाइ कति बेला आउनुहुन्छ भनेर सोधेँ, आउँदै हुनुहुन्छ भनेर अल्मल्याइयो’, अस्मिताले प्रहरीसमक्ष भनेकी छन् ।
करिब दुई बजेतिर ढुंगानासँग उनको भेट भयो । उनले फेरि खाजाको अफर गरे । गफ गर्दागर्दै ५ बज्यो ।
निर्मलाले साँझ परिसकेको भन्दै उनलाई आफूसँगै बस्न आग्रह गरिन् । ‘मैले दिदी रुममा एक्लै हुनुहुन्छ, जान्छु भनेको थिएँ’, पीडित अस्मिताले भनिन्, ‘तर बस्नलाई जिद्दी गरिरहे । निर्मलाले दिदीलाई पनि फोन गरिन् ।’
तर अस्मिता मानिनन् । निर्मलाले अर्को प्रस्ताव राखिन्, ‘जाने नै भए ट्याक्सीमा दाइसँगै जानू । छिटो पुगिन्छ ।’
उनी ट्याक्सी चढ्न तयार भइन् । तर गल्लीको बाटोबाट लगेपछि कहाँ पुर्याइयो भन्ने भेउ नै पाइनन् । उनले कहाँ ल्याएको भनेर प्रश्न पनि गरिन् । तर, ढुंगानाले सहजै जवाफ दिए, ‘निर्मला पनि यतै आउँदैछे, त्यसैले आएको ।’
उनी बेलाबेला मोबाइलमा निर्मलासँगै बोलिरहेझैँ पनि गर्थे ।
ट्याक्सी रोकेपछि अस्मिताले थाहा पाइन्, उनलाई गोदावरीको एक रिसोर्टमा पुर्याइएको रहेछ ।
ढुंगानाले निर्मला आउँदैछ भन्दै होटलको एउटा कोठामा राखे । ‘मैले पनि होला त नि भनेर चुप लागेर बसिराखेँ, तर ८ बजिसक्दा पनि निर्मला आइन’ उनी भन्छिन् । त्यसपछि उनी कोठाबाट निस्कन खोजिन् ।
ढुंगानाले बाटो छेके । चिच्याउन खोज्दा कुटपिट पनि गरे । जबरजस्ती करणी गर्ने प्रयास पनि गरे । ढुंगानाले बिहे गर्ने प्रस्ताव राखे । अस्मितासँग अब केही उपाय लागेन र करिब १० बजेतिर विहे गर्छु भनिन् ।
त्यसपछि उनले कुटपिट गर्न त छाडे तर, गलत हर्कत गर्न भने छाडेनन् । त्यसपछि बाथरुम जाने बाहना बनाएर रिसेप्सनमा फोन गरेर सहयोग मागिन् । ‘मैले भनेको कुरामा के विश्वास गर्लान् भन्ने लाग्यो र सुरुमा ट्याक्सी पाइन्छ कि पाइँदैन भनेर सोधेको थिएँ’, उनी भन्छिन्, ‘पाइन्न भनेपछि आँट गरेर समस्यामा परेको सुनाएँ ।’
त्यसपछि रिसोर्टका कर्मचारी आएर उनलाई उद्दार गरे । छतमा लगेर लुकाए । अस्मिताकी दिदीलाई खबर गरे ।
ढुंगानाले भने युवतीको खोजी गरिरहे । आफूसँग भएको पैसा लिएर युवतीले फसाउन खोजेको उनको तर्क थियो ।
तीनै जना जेल चलान
गोदाबरीको एक रिसोर्टबाट उद्दार गरिएको भोलिपल्ट ललितपुर प्रहरी परिसर, जाउलाखेलमा ढुंगानाविरुद्ध किटानी जाहेरी पर्यो । लगत्तै प्रहरीले ढुंगानासहित निर्मला र मिनालाई पनि पक्राउ गर्यो ।
ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार प्रहरीले तीनै जनाविरुद्ध जबरजस्ती करणी उद्योगमा प्रतिवादी बनाएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
अनुसन्धानका क्रममा मिना र रोहितबीच सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएको र, नियतवश अस्मितालाई जागिरको प्रलोभन देखाएको निष्कर्ष प्रहरीको थियो । ढुंगाना पनि कन्सल्टेन्सीका सञ्चालक नभई पब्लिक रिलेसन अफिसर (पीआरओ) मात्र भएको खुल्यो । उनी विवाहितसमेत रहेछन् ।
श्रीमती र छोराछोरीसहित सिनामंगलमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार पाटन अस्पतालमा गरिएको घाउ चेकजाँच लगायतले पनि अस्मितामाथि बलात्कार प्रयास भएको पुष्टि भएको छ । तत्काल प्राप्त प्रमाण र सबुतका आधारमा जिल्ला अदालत, ललितपुरले पनि मंगलबार ढुंगानालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
साथै ढुंगानाको अपराधमा साथ दिने दुई महिलालाई पनि एक/एक लाख रुपैयाँ धरौटी माग गरेको छ । तर धरौटी बराबरको रकम तिर्न नसेकेपछि हाल तीनै नख्खु कारागार, ललितपुरमा छन् ।
प्रतिक्रिया 4