
‘रारा कि अप्सरा !’ त्यो विशाल जलाशयको सामुन्ने पुग्दा यही पङ्क्ति दोहोर्याउन मन लाग्छ । आकाशको प्रतिछायाँलाई आफ्नो कायमा समेटेर लमतन्न फैलिएको रारा ताल असाध्यै सुन्दर छ ।
असोज अन्तिम साता रारा तालको फन्को लगाउने मेसो जुर्यो । हुन त यो मेरो छैठौं यात्रा थियो । तर, रारा तालको सौन्दर्य जति पटक हेरेपनि धित मर्दैन । हरेकपटक त्यसमा नयाँपन देख्न सकिन्छ ।
पहिलो पटक सन् २०११ मा रारा पुगेको थिएँ । त्यसको मेलोमेसो मिलाएका थिए, अमर शाहीले । उनी पश्चिम नेपालका पर्यटन क्षेत्रका सारथिभन्दा फरक पर्दैन । पश्चिम नेपालको पर्यटन प्रबर्द्धनमा लागिपरेका उनले १० जना राजदूतसहित पर्यटन विज्ञहरुलाई त्यसबेला राराको निम्तो गरेका थिए ।

तर, त्यसबेला देखेको रारा र यसपाली देखेको रारा भिन्न लाग्यो । पहिलो पटक रारा पुग्दा त्यसको डिलमै रहेको होटलमा बास बसिएको थियो, चार दिनसम्म । त्यसबेला बसोबासको खास व्यवस्था थिएन । त्यसैले आवश्यक सरसामन नेपालगञ्जबाट लानुपर्ने अवस्था थियो । पर्यटक फाट्ट-फुट्ट पनि देखिँदैनथे । सुनसान जस्तै थियो ।
तर, अहिले त्यस्तो छैन । गुल्जार छ, रारा । पर्यटक भरिभराउ छन् । जब सडक सञ्जालले रारा राष्ट्रिय निकुन्जलाई छोयो, रारा पुग्ने लस्कर बढ्यो ।
नन्दसिंह बुढा, पर्यटनमन्त्री, कर्णाली प्रदेश
राराको सौन्दर्यपान गर्न अहिले आन्तरिक पर्यटककै घुइँचो लाग्छ । तर, रारा पुग्नुअघि त्यहाँसम्म कसरी जाने भन्ने कुरामा पूर्व तयारी आवश्यक छ । पूर्वतयारी गरेर गएमा राराको यात्रामा भरपुर आनन्द लिन सकिन्छ ।
हामीले रारालगायत कर्णालीका पर्यटकीय क्षेत्रहरुका बारे जानकारी होस् भनेर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्यटन मन्त्रालयको सहयोगमा सूचना केन्द्रसमेत स्थापना गरेका छौं ।
हाल रारामा जम्मा दुईवटा होटल रहेका छन् भने तालबाट २० मिनेटको दुरीमा केही होमस्टे सञ्चालनमा छन् । यी होटलका रुमहरु बाहेक टेण्टमा बसेर पनि रात काट्न सकिन्छ ।
रारा पुग्नका लागि हवाईजहाजको टिकट पाइँदैन भन्ने गुनासो आउने गरेको छ । तर, अहिले हामी त्यसको व्यवस्थापनमा लागिरहेका छौं । रारा जानुअघि त्यहाँ होटल बुकिङ वा यातायातको व्यवस्था गरेर पुग्नु राम्रो हो ।
राराको आसपासमा साइकल लेन वा पैदल यात्रीका लागि बाटोको व्यवस्था गरिँदैछ । साथै होमस्टे र लज व्यवस्थापनको लागि पनि पहल भइरहेको छ । यदि कुनै कम्पनीले रारा क्षेत्रमा होटल संचालन गर्न चाहेमा बाटो, बत्ती र पानीको सहयोग गर्ने योजना बनाएका छौं ।
कसरी पुग्ने रारा

पश्चिम नेपालको प्रवेशद्वार नेपालगन्जको विमानस्थल राझाबाट सोझै मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा पुग्ने । त्यसपछि रारा तालको किनारमा पुग्न तीन घण्टाको पैदल यात्रा तय गर्नुपर्छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीसम्म सार्वजनिक बस जान्छ । त्यसपछि दुई घण्टाको यात्रामा रारा पुग्न सकिन्छ ।







रारा ताल

मुगुको ताल्चा विमानस्थल नजिकै स्याउ बिक्रेता


प्रतिक्रिया 4