Comments Add Comment

१८ लाख घरमा अझै ट्युबवेलको पानी

५ पुस, काठमाडौं । करिव ८८ प्रतिशत जनता आधारभूत स्तरको खानेपानीको पहुँचमा रहेको सरकारी अध्ययनले देखाएको छ । तर करिब १२ प्रतिशत घरधुरी प्रदुषित तथा जोखिमयुक्त खानेपानीको स्रोतमा आश्रित हुनु परिरहेको छ ।

खानेपानी विभागले २०७४सम्मको तथ्यांकका आधारमा हालै प्रकाशित गरेको अध्ययन प्रतिवेदनले करिब ८७.८८ घरधुरी आधरभूत स्तरको खानेपानीको पहुँचमा रहेको देखाएको छ ।

सन २०१४ मा प्रकाशित रिपोर्टले ८३.५९ प्रतिशत नागरिक आधरभुत स्तरको खानेपानीको पहुँचमा रहेको देखाएको थियो । तर त्यसपछिका चार वर्षमा वाषिर्क रुपमा १ प्रतिशतका दरले मात्रै यस्तो सुविधा वृद्धि भएको देखिन्छ ।

खानेपानी विभागका महानिर्देशक सुनिल दासकाअनुसार सरकारले राखेको लक्ष्य र अन्य सुविधाहरुको तुलनामा खोनेपानी सेवाको पहुँचको वृद्धिदर  कमजोर हो ।

साथै जनता आधारभूत स्तरको खानेपानीको पहुँचमा रहेका सबैको घरमा पाइप प्रणालीबाट पानी पुगेमको छैन । पाइप प्रणालीको धाराहरुबाट पानी खाने, ट्युववेलबाट पानी खाने, सुरक्षित मुहान तथा इनारहरुबाट पानी खाने र वर्षातको पानी संकलन गरी पानी खाने घरधुरीलाई यसमा समावेश गरिएको छ ।

कुन मुहानका प्रयोगकर्ता कति ?

नेपालका करिव ५१.६९ प्रतिशत घरधुरीहरुले पाइप प्रणालीबाट वितरित खानेपानी सेवा उपभोग गर्छन् । पाइप प्रणालीको खानेपानी सेवा पाएकामध्ये करिव ३०.५५ प्रतिशत घरधुरीहरु आफ्नै घरमा जडान गरिएको निजी धाराबाट सेवा लिन्छन् । बाँकी ६९.४५ प्रतिशत घरधुरीहरु घरको नजिकको सार्वजनिक वा सामूदायिक धाराबाट पानी थापेर पानीको उपभोग गरिरहेको देखिएको छ ।

३३.३८ प्रतिशत घरधुरी अर्थात करिव १८ लाख जनता स्यालो तथा डिप ट्युबबेलबाट प्राप्त खानेपानीमा आश्रित छन् ।

न्यूनतम ३० फिटदेखि वढीमा १०० फिटसम्म गहिराइमा गाडिएका हाते चापाकल अर्थात स्यालो ट्युबबेलदेखि ३०० फिट सम्मगहिरो गाडिएका डिप ड्युववेलहरु यसै वर्गमा पर्छन् । स्यालो ट्युबबेलमा हाते पम्प जडान गरिएका छन् भने डिप ट्युबबेलमा सोहिअनुसारका हाते पम्प वा यान्त्रिक पम्पहरु ।

देशभर स्यालो ट्युबबेल प्रयोग गर्ने १८ लाख घरधुरी मध्ये साढे सत्र लाख हाराहारीमा तराई क्षेत्रमा मात्र छन् । करिव ९० हजार घरधुरी पहाडी भू-भागमा छन् भने हिमाली क्षेत्रमा नगन्य रुपमा मात्र ट्युबबेल प्रयोग भएका छन् ।

यस्तै करिव २.७५ प्रतिशत घरधुरीहरु केही नसुधार गरी सुरक्षित बनाइएका प्राकृतिक र परम्परागत मुहानहरुबाट प्राप्त खानेपानी प्रयोग गरिरहेका छन् । यस बाहेक सानो हिस्सा ०.११ प्रतिशत आकाशेपानी संकलन गरी खानेपानीको रुपमा पर्छन् ।

१२ प्रतिशत पहुँचबाहिर

नयाँ अध्ययनअनुसार अझै १२.१२ प्रतिशत घरधुरीमा आधारभूत स्तरको खानेपानीको पहुँचमा छैन ।

पछिल्लो वर्षमा यसमा केही सुधार भएको अपेक्षा गरिएको छ । ‘पानी विना छोटो समयको लागि पनि जीवन सम्भव नभएको हुनाले यी सेवा नपुगेका घरधुरीहरुले पनि पानी प्रयोग गरिरहेका हुन्छन, तर यिनिहरुले प्रयोग गर्ने खानेपानी सेवामा माथि न्युनतम् सूचकहरु पूरा भएका छैनन्,’ विभागको प्रतिवेदनमा भनिएको छ ।

प्रदुषणहुने जोखिम बढी भएका मूल, पँधेरा, कूवा, खोल्साखोल्सी, पोखरी लगायतको पानी प्रयोग गर्नेहरु पनि छन् । तुलनात्मक रुपमा सुरक्षित भएतापनि पानी लिन जान लाग्ने समय ३० मिनेटभन्दा वढी लाग्ने घर धुरीलाई पनि आधारभूत सेवा नपाएको वर्गमा राख्ने गरिएको महानिर्देशक दासले बताए ।

देशभर ४२ हजार योजना

खानेपानी विभागकाअनुसार साना ठूला गरी करिव ४२ हजार ३९ वटा पाइप प्रणालीमा आधारित खानेपानी आयोजना सञ्चालनमा छन् । यी आयोजनाले करिव २८ लाख ४२ हजार ७२१ घरधुरीहरुमा निजी तथा सार्वजनिक धाराहरुको माध्यम बाट खानेपानी सेवा प्रदान गरिरहेको देखिन्छ ।

प्रणालीहरुको आकार, उमेर, तथा वर्तमान अवस्थामा व्यापक अन्तर रहेको प्रतिवेदनमा उल्लेख छ । एक धारामात्र भएका ‘स्किम’हरु देखिलिएर १००० भन्दा वढी धारा भएका स्किमहरु पनि यसमा समावेश छन् । यस्तै भर्खरै निर्माण सम्पन्न भएका योजनादेखि ४० वर्ष अगाडि निर्माण भएका खानेपानी योजनाहरु अध्ययनमा समेटिएका छन् । अझ कति आयोजनाहरु तथ्यांकमा देखिएपनि सञ्चालनमा भने नरहेको विभागको रिपोर्टमा उल्लेख छ ।

‘नेपालको दक्षिणी भूभागमा रहेको समतल क्षेत्रमा भूमिगत जलश्रोतको राम्रो भण्डार छ । उचित व्यवस्थापनसहित जल भण्डारको सदुपयोग गरिएको अवस्थामा त्यस क्षेत्रको पानीको समस्या धेरै हदसम्म समाधान गर्न सकिने सम्भावना छ’ रिपोर्टमा भनिएको छ ।

नेपालका करिव डेढ लाख घरधुरीहरुले पिउने पानीको श्रोतको रुपमा प्राकृतिक रुपमा उपलव्ध मुहानहरु प्रयोग गरिरहेका छन् । यसलाई पनि आधारभूत खानेपानी सेवा पाउनेको सूचीमा राखिएको छ । छोपिएका इनार, संरक्षण गरिएका कुवा, पँधेराहरु, जस्ता परम्परागत पानीका मुहानहरु यस वर्गमा पर्छन् ।

‘आकाशे पानी अर्थात वषर्ातको पानी एक सुरक्षित र सर्व सुलभ पानीका श्रोत हो र वर्षातको पानी नै सवै पानीका मूहान हरुको मूख्य मुहान हो । उचित र व्यवस्थित संकलन गरिएको अवस्थामा वर्षातको पानीलाई एक सहज र सुरक्षित पानीका श्रोतको रुपमा विकास गर्न सकिने सम्भावना छ,’ प्रतिवेदन भन्छ, ‘हाल नेपालमा करिव ६ हजार घरधुरीले घरायसी स्तरमा वषर्ातको पानी संकलन गरी आवश्यकता पुरा गरेको देखिन्छ ।’

रुपन्देही पहिलो, कञ्चनपुर कमजोर

अध्ययनअनुसार नेपालका ७७ जिल्लामध्ये सबैभन्दा वढी आधारभुत स्तरको खानेपानी सेवा सुविधा पाएको जिल्लामा रुपन्देही हो । त्यहाँ ९८.६५ प्रतिशत जनताले सुविधा पाएका छन् ।

यसैगरी सवैभन्दा कम जनताले खानेपानी सुविधा भएको जिल्लामा कन्चनपुर हो । त्यहाँ करिब ७३.७ प्रतिशत जनताले मात्र आधारभुत स्तरको खानेपानी सेवा सुविधा पाएका छन् । यस्तै सवैभन्दा बढी पाइप प्रणालीको खानेपानी सुविधा रहेको जिल्ला मनाङ हो भने सप्तरी जिल्ला सबैभन्दा कम पाइप प्रणालीको खानेपानी सुविधा पाउने जिल्ला रहेको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment