Comments Add Comment

नर्सको नालीबेली : फ्लोरेन्स नाइटिंगेल बन्ने कि विदेश ताक्ने ?

सपना विदेशको, आधा भन्दा धेरै असन्तुष्ट

नर्सिङ संघको चुनावी माहोल देशभरका नर्सहरुलाई लागिसकेको छ । नर्सहरुले भोगेका पीडालाई कम गर्नको लागि भनेर कैयौं बुँदाहरु घोषणापत्रमा समेटिइसकेका छन् । राजनीतिक रुपमा नेकपा र काँग्रेसको झण्डाभित्र बसेर उम्मेदवारी दिएका मनकुमारी राई र मुना राणाको दुई पक्षले चुनावमा उम्मेदवारी दिएको छ । यस अघि पनि कैयौं यस्ता घोषणापत्रहरु आए । तर, तिनीहरुले पनि नर्सको पीडालाई कम गर्न सकेको छैन ।

यही सन्दर्भमा यो चुनावमा पनि दुई प्यानलले मिलेर ४० वटा बुँदाहरु नर्सहरुको हकहितको लागि भनेर उठाइएका छन् । यी बुँदाहरुबाट पनि नर्सहरुले आफ्नो पेशागत सम्मान र सुरक्षाको अनुभूति गर्न सक्ने देखिँदैन ।

नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले आफ्नो कार्यकालमा धेरै कामहरु भएको भएपनि विविधकारणहरुले आफ्नो कार्यकालमा आँटेका जति काम गर्न नसकेको स्वीकार गरिन् । नर्सिङ तथा सामाजिक सुरक्षा ईकाईको अवधारणा, ‘विद्यालयमा नर्स’ भन्ने परियोजना मार्फत् विभिन्न ७ वटै प्रदेशहरुमा त्यसको कार्यान्वयन गराउने जस्तो काम आफूहरुकै कार्यकालमा भएको भन्दै केही भएन भन्ने आधार नरहेको बताइन्।

उनले आफूहरुको कार्यकालमा नै श्रम शोषणको अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरु गरेको, भोलेन्टेयर प्रथाको अन्त्य गर्न नसकेपनि न्यूनीकरण गरिरहेको उनले जानकारी दिइन् । सन् २०१५ मा भूकम्प जाँदा  पीडित भएकाहरुलाई सेवा गरेबापत अन्तराष्ट्रिय अवार्ड समेत पाएको उनले बताइन् ।

केही समयअघिको माथेमा आयोगले आफ्नो प्रतिवेदनमा निःशुल्क नर्सिङ सेवा दिनुपर्ने विषय उल्लेख गर्यो । यो विषयलाई कसैले पनि आफ्नो घोषणापत्रमा उठाएका छैनन् । कोरा राजनीतिक झण्डा लिएर चुनाव लड्नेहरुले नर्सहरुको हकहितको बारेमा कहिलै पनि गम्भीर भएर नसोचेको नर्सहरुको आरोप छ । सबैभन्दा पहिलो कुरा त लाखौं रुपैयाँ खर्च गरेर नर्स पढेकाहरुलाई उचित पारिश्रमिक छैन भने संघको चुनावमा राखिने अरु एजेण्डाहरुको कुनै औचित्य नरहेको नर्सहरु बताउँछन् ।

नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

महंगो शुल्कमा अध्ययन गरेर सकेसम्म निःशुल्क र नभएपनि अति न्यून शुल्कमा रात दिन नभनी काम गर्नुपर्ने पेशा हो नर्स । अझ कार्यक्षेत्रमा हुने जोखिम र त्यसको समस्यालाई त गौण मान्ने हो भने त्यो भन्दा ठूला पीडाहरु नर्सहरुले भोग्ने गरेका हुन्छन् । बिरामीको पीडा भुलाउने नर्सहरु अहिले आफैं पीडै पीडाको भारी बोकेर कार्य क्षेत्रमा पुग्ने गर्छन् ।

स्कूले जीवनमा नै अस्पतालमा पाइला टेकेकाहरुले सेतो पहिरनमा बिरामीको हेरचाह गर्न आउने नर्सहरु देखेपछि आफ्नो पनि त्यही ठाउँमा पुग्ने लक्ष्य लिन्छन् । अधिकांश त्यसमा महिलाहरु नै हुन्छन् । जब लाखौं पैसा खर्च गरेर निःशुल्क वा अति कम शुल्कमा अस्पतालमा काम गर्नुपर्ने हुन्छ । त्यसपछि एकाएक नर्सहरुको अनुहारमा बनावटी हाँसोको श्रृंखला सुरु हुन्छ ।

नर्सिङ पढ्नेहरुको वास्तविक पीडा पिसिएल सकेर अस्पतालमा भोलेन्टियरको रुपमा काम गर्ने ६ महिनामा नै देखिन्छ । आफ्ना छोराछोरीहरुको सपना पूरा गर्नको लागि ऋण काढेर नर्सिङ पढाएका आमाबुबाहरुले पिसिएल सकेलगत्तै छोराछोरीहरुले ऋण तिर्न सुरु गरुन् भन्ने सोचाई राख्छन् । तर, पिसिएल तहको अध्ययन गर्दासम्म एक व्यक्तिले कम्तीमा पनि ५ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्च गरिसकेका हुन्छन् ।

तर, त्यो तह पूरा गरेपछि उनीहरुको ६ महिनाकोलागि भोलेन्टियर बनेर काममा जानु पर्ने हुन्छ । कोटा थोरै र जनशक्ति धेरै भएका कारण काम पाउन मुस्किल छ । काम नपाउँदासम्म भोलेन्टियर बनेर काम गर्नेदेखि कामै पाए पनि ६ हजारदेखि २० हजार रुपैयाँ मासिक तलब बुझेर काम गर्नुपर्ने बाध्यतामा धेरै नर्सहरु रहेको नर्सिङ संघले जनाएको छ । अहिलेसम्म कतिले यो समस्या समाधान गर्छु भनेर आए । तर, उनीहरुले यसको समाधान रोक्न सकेनन् ।

नर्सिङ संघले अझैसम्म पनि न्यूनतम पारिश्रमिक १८ हजार तोक्नको लागि संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा त्यति महंगो शुल्क तिरेर गरेको अध्ययनको औचित्य के ? भन्ने प्रश्नले नै नर्सहरुमा बेचैन हुने गरेको अनुभव सुनाउँछन् ।

वर्षौं भइसक्यो सरकारी अस्पतालहरुमा नर्सको कोटा खुलाईएको छैन । झण्डै ७५ हजारको हाराहारीमा नर्सहरु कार्यरत रहेकोमा नर्सिङ संघको तथ्यांक अनुसार ८ हजारको हाराहारी नर्स मात्रै सरकारी अस्पतालहरुमा कार्यरत छन् । बाँकी ६७ हजारले भोग्नु पर्ने पीडाहरु भिन्दा भिन्दै छन् ।

सपना विदेशको, आधा भन्दा धेरै असन्तुष्ट

नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

नर्सिङ पेशा यति असुरक्षित हुँदा हुँदै पनि किन मरिहत्ते गरेर यही पेशा तिर आाकर्षण बढ्ने गरेको त ? हरेक वर्ष देशभरबाट ५ हजार नर्सहरुले आफ्नो अध्ययन पूरा गर्ने गरेका छन् । तर, केही समय अघि गरिएको एक अध्ययनका अनुसार ५५.२२ प्रतिशत नर्सहरु आफ्नो पेशाप्रति सन्तुष्ट नरहेको देखिएको थियो । यति हुँदा हुँदै पनि नर्सिङ क्षेत्रप्रतिको यो आकर्षण केवल विदेश जानको लागि मात्रै देखिएको हुनसक्ने नर्सिङ संघका अधिकारीहरु बताउँछन् ।

नर्सहरुका पीडाहरु

सबैभन्दा ठूलो त नर्स बनिसकेपछि जागिर पाउन र न्यून पारिश्रमिकको पीडा नै सबैभन्दा ठूलो हो । महंगो अध्ययन शुल्क र सबैभन्दा सस्तो जागिरमा समेत हुने श्रम शोषण अर्काे समस्याको पाटो हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन ।

त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । त्यस्तै, कार्यक्षेत्रमा रहँदा पुरुष कामदार र बिरामी कुरुवाहरुको गिद्दे दृष्टिको जोखिम पनि उनीहरुको अर्काे पीडा रहेको नर्सहरु बताउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment