Comments Add Comment

विश्व उत्कृष्टको सूचीमा परेका शिक्षक नवलपरासीमा स्कूल रङ्ग्याउँदै

भन्छन्- मानार्थ नेपाली नागरिक बन्न चाहन्छु

सिड्नी । अस्ट्रेलियाको चर्चित द डेली टेलिग्राफ दैनिकको अनलाइन संस्करणमा डिसेम्बर दोस्रो साता विश्वका १० प्रभावकारी प्राथमिक शिक्षकमध्ये एक अस्ट्रेलियाका ग्याबिन मकमार्क हुन् भन्ने समाचार प्रकाशित भैरहँदा उनी आफ्नो स्कूल बिदाको घन्टी पर्खिदै थिए । अनलाइनखबरले उनी आराम गर्न स्कूल बिदाको घन्टी पर्खदैनन् भन्ने कथा यसअघि नै लेखि सकेको छ ।

उनी त स्कूल बिदाको घन्टी बजेलगत्तै झोला कसेर नेपालतर्फ हुइँकिन्छन् र दोस्रो दिनदेखि कुनै नेपाली स्कूलका भित्ताहरु रंग्याउन, फर्निचर र पाठ्य सामग्रीको व्यवस्थापन गर्न, पुस्तकालय स्थापना गरेर स्कूललाई हस्तान्तरण गर्न लागिपर्छन् । यस पटक भने उनको डिसेम्बर १४ मा नेपाल पुग्ने इच्छा उनको जहाजले हङकङ्गमा एक रात ढिलो गरिदिएकाले पुरा हुन सकेन । तर उनी डिसेम्बर १५ मा नेपाल पुगेर अरु आधा दर्जन स्वयंसेवकसँगै डिसेम्बर १६ मा झन्डै दुई हजार किलो शैक्षिक सामग्री बोकेको गाडीमा लोड भएर नवलपरासीको बर्दघाट ओर्लिए ।

उनले आफ्ना साथीहरुले चन्दा स्वरुप दिएका झन्डै तीन हजार बाल पुस्तकहरु र अन्य शैक्षिक सामग्री अघिल्लो महिना नोभेम्बरमै नेपाल पठाइसकेका थिए । उनले जम्मा गरेको पाठ्यसामग्री मात्रै नेपाल पुग्न झण्डै चार लाख नेपाली खर्च भयो । त्यो रकम पनि उनका साथीहरुले तिरिदिए । उनले आफू नेपालमा जीर्ण अवस्थाको स्कूलमा रंग भरेर पाँच सय नेपाली विद्यार्थीको अहिलेलाई अनुहार र पछिलाई भविष्य उज्यालो गर्नेछु भनेपछि केही अस्ट्रेलियन युवा पनि यसपटक साथ लागे ।

यो पनि पढ्नुहोस नेपाली मनमा रंग भर्ने एक अस्ट्रेलियन शिक्षक

सामाजिक सन्जाल लिंक्देनबाट सम्पर्कमा आएका केही उनका साथीहरु सिंगापुर र भारतबाट पनि काठमाडौं आइपुगे र अहिले नवलपरासीको जयन्ति आधारभूत विद्यालय धनेवाको भवन मर्मत सम्भार तथा रंगरोगनमा लागेका छन् ।

सिंगापुरबाट कस्तुरी गुणसेगर्न र डि जिन, अस्ट्रेलियाबाट ग्याबिन लगाएत अमाण्डा सिङ्कोटा, निक क्रोट, थोमस क्रिन्जर, भारतबाट बधुली राठ, उनका छोरा स्मुर्तम सिवा भर्पनडा, बुटबलबाट अम्बिका देवकोटा र आनन्द देवकोटा तथा बूढानीलकण्ठ स्कूलकी शिक्षिका निर्जला पौडेलसहित ६० जना स्वयंसेवक बिगत छ दिनदेखि खटेका छन् ।

स्थानीय मिलिजुली युथ क्लब, बरपीपल आमा समूह, कालिका आमा समूह र उदय युवा क्लबले स्वयंसेवक परिचालन गरेका छन् । नाच्दैगाउँदै स्कूल रंग्याउने र मर्मत गर्ने, फर्निचर जोड्ने काम जारी छ । ‘सोमबारसम्म फर्निचरहरु कक्षा कोठाभित्र राख्ने र भुइँमा कार्पेट बिछ्याउने काम गरिने छ,’ धनेवाबाट सम्पर्कमा आएका शिक्षक आनन्द देवकोटाले अनलाइनखबर अस्ट्रेलिया संस्करणसँग भने । आनन्द ग्याबिनका नेपाल सम्पर्क शिक्षक हुन् ।

जयन्ति स्कूलका ११ वटा कक्षा कोठाको रंग मात्रै फेरिएको हुनेछैन बरु भित्तामा बिभिन्न चित्रहरु कोरेर कक्षा कोठालाई बाल मनोविज्ञानमैत्री बनाइँदै छ ।

कक्षा कोठामा प्रत्येक विद्यार्थीका लागि आफ्नै पाठ्यसामग्री राख्ने स्थान सुरक्षित गरिने छ । आगामी कयौं हप्ता कापी, कलम र रंगको अभाव हुने छैन र आगामी कैयौं दशक यो स्कूललाई बाल पुस्तकको अभाव पनि हुने छैन ।

छुट्टै बृहत पुस्तकालय पनि स्थापना हुनेछ ।

यो पनि पढ्नुहोस अस्ट्रेलियन शिक्षकले खोले नेपाली स्कूलमा भव्य पुस्तकालय

स्थानीय बरपीपल आमा समूहका सदस्यहरु आफ्ना नानीहरुको स्कूल आधुनिक बनाउन आउने पाउनाहरुसँगै काम गरिरहेका छन् र उनीहरुलाई खानाको व्यवस्था गरिरहेका छन् । दिनभरको कामको थकाइपछि साँझ नाचगान पनि हुने गरेको छ, जसले थकाइ मेट्ने र भोलिपल्ट कामको लागि ऊर्जा बटुल्ने गर्दछ ।

ग्याबिनले यही क्रिसमसको दिन सो स्कूलको रुप फेरेर हस्तान्तरण गर्ने प्रतिज्ञा गरेका छन् जुन उनले अघिल्लो वर्ष कार्भ्रे र नुवाकोटमा गरेर देखाइसके । उनको नेपालमा मन्टेश्वरी शिक्षालाइै स्थापित गर्ने अठोट छ । हालसम्म झण्डै दुई हजार मन्टेश्वरी शिक्षकलाई तालिम पनि दिइसकेका छन् । काठमाडौं र बुटवलमा उनका मन्टेश्वरी शिक्षक तालिम केन्द्र पनि छन् ।

आइतबार स्थानीय सृजनशील महिला अपाङ्गता सहयोग केन्द्रले स्कूल पुनर्निर्माण टोलीलाई स्वागत तथा सम्मान गरेको छ । स्कूल निर्माण स्थलबाट सम्पर्कमा आएका ग्याबिनले अनलाइनखबर अस्ट्रेलिया संस्करणलाई भने, ‘सबै कुरा यहाँ दिनरात भैरहेको छ, हामी खुशी छौं ।’ उनले नेपालप्रतिको आफ्नो माया जारी रहने बताए ।

नेपालबाट अस्ट्रेलियालगायत विकसित देशमा गएर त्यहाँको स्थायी बासिन्दा र नागरिक बन्ने सपना धेरै नेपालीको भए पनि ग्याबिनको भने अन्तिम सपना अर्कै छ । उनी भन्छन्- नेपालसँग मेरो गहिरो लगाव भैसक्यो, म भविष्यमा यदि यहाँको कानून अनुसार मेरो योग्यता पुगेमा म नेपाली मानार्थ नागरिक बन्न चाहन्छु । र, नेपालमा बाल शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्न चाहन्छु ।

उनी बाल पुस्तक लेखक पनि हुन् । आफ्ना पुस्तक लेखन र बिक्रीबाट कमाएको रकम पनि उनी शिक्षक तालिम तथा विद्यालय निर्माणमा खर्च गर्छन् । बेलायत र अस्ट्रेलिया दुवै देशका नागरिक उनी केही महिनापछि न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्ल्यडि बेजेरेक्लिनसँगै अस्ट्रेलियाको शिक्षा क्षेत्रको सुधारबारे महंगा वक्ताका रुपमा सहभागी हुँदै छन् ।

यो पनि पढ्नुहोस ग्याबिनलाई नेपालमा स्कूल बनाइदिने नशा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment