Comments Add Comment

लेखापरीक्षकलाई अर्थमन्त्रीको आग्रह : नक्कली कम्पनीलाई मान्यता नदिनू

६ पुस, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिको दुरुपयोग गरी वित्तीय तथा आर्थिक अनियमितता बढेको बताएका छन् । यसमा लेखापरीक्षकहरुले ध्यान दिनुपर्ने उनको जोड छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा काठमाडौंमा आयोजित ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तीय अपराध नियन्त्रण चुनौतिपूर्ण रहेको उल्लेख गरे । कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको उनले आरोप लगाए ।

पछिल्लो समय नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको भन्दै अर्थमन्त्री खतिवडाले त्यस्ता कम्पनीहरुलाई सुधार गर्न चुनौती थपिएको बताए । उनले गलत कामका लागि कतिपय कम्पनीहरु नक्कली नागरिकता र नक्कली सेयरधनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने गरेको पाइएको पनि बताए ।

‘फ्रड फर्म दर्ता हुने, त्यसको ब्यालेन्ससिट बन्ने, त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्योलता देखिएको छ । एकाउन्ट हेर्दा सबै ठिकै छ । अडिटर जानुहुन्छ, मैले जाने बुझे अनुसार सबै विवरण ठिक छ भन्नुहुन्छ, सही गर्नुहुन्छ, त्यसको फ्रड जरैबाट हुने गरेको छ’ उनले भने ।

त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकबाट हुन नहुने अर्थमन्त्री खतिवडाले बताए ।

प्रविधिको उपलब्धता, नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको उनको भनाइ छ । ‘नयाँ वित्तीय उपकरणबारे लेखापरीक्षकहरु पनि जानकार हुनुपर्ने मन्त्री खतिवडाले सुझाव दिए ।

हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायत व्यक्तिले व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने उनले उल्लेख गरे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । महालेखापरीक्षक टंकमणि शर्माले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसेमात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment