Comments Add Comment

‘चल्ला होलिडे’ सकियो, कति नष्ट भए चल्ला र अन्डा ?

७ पुस, काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ चल्ला होलिडेका नाममा जिउँदा चल्ला मार्ने र अन्डा नष्ट गर्ने अभियान चलाएको हो ।

यस अभियानका क्रममा ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको निशेचित अण्डा नष्ट गरिएको छ । आफूहरूको अभियान पूर्ण रूपमा सफल भएको संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम पौड्यालले अनलाइनखबरलाई बताए । मंसिर २८ गतेबाट अभियान सुरु भएको थियो ।

अभियानमा जिउँदा चल्ला मारिएको भने उनले स्वीकारेनन् । ‘चल्ला बन्ने अण्डा नष्ट गरेका हौं, टुकुरटुकुर हिँड्ने चल्ला होइन’, उनले भने ।

तरकारी र दूध किसानले आफ्नो उत्पादनले बजार नपाएर आफ्नै उत्पादन सडकमा पोख्ने प्रचलन विगतमा देखिएको भए पनि कुखुराको व्यवसायमा पहिलोपटक यस्तो प्रयोग गरिएको हो ।

लागत र बिक्रीमा भारी अन्तरको दाबी

नेपाल ह्याचरी उद्योग संघको दाबीअनुसार एउटा चल्ला उत्पादन गर्न उद्योगको ५० रुपैयाँ, अण्डाको लागि १३ रुपैयाँ र २२ सय ग्रामको कुखुरा उत्पादन गर्न १७५ रुपैयाँ खर्च गर्नुपर्छ । लागत अनुसार उद्योगीले बजार नपाएको उनीहरू बताउँछन् ।

‘बजार नपाएका कारण कृषकको खोरमा ४ किलोसम्मका कुखुरा नबिकेर थन्किएका छन्’, वरिष्ठ उपाध्यक्ष पौड्यालले भने ।

पौड्यालका अनुसार, अहिले ८ रुपैयाँमा अण्डा, १५/२० रुपैयाँमा चल्ला र २२ सय ग्रामको कुखुरा १२० रुपैयाँमा बेच्नु परेको छ ।

‘हामी यो व्यवसायबाटै हात धुनुपर्ने अवस्थामा आइपुग्यौं, लागत मूल्य पनि नपाए किन उद्यम गर्ने ?’ उनले भने । उपभोक्तालाई मूल्यको चाप थोपर्न नभई सरकारलाई सचेत गराउन आफ्नै उत्पादन नष्ट गरेको उनी बताउँछन् ।

बजार भाउ के छ ?

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको दाबी अनुसार काठमाडौं उपत्यकामा किसान र मासु व्यवसायीबीच मूल्यमा अन्तर छैन । तर तराईका जिल्लाहरूमा कुखुरा उत्पादकहरूले मूल्य नपाएको हुनसक्ने संघका अध्यक्ष जगंबहादुर बीसीले बताए ।

काठमाडौं उपत्यकामा असोजमा प्रतिकिलो तयारी मासुको मूल्य ३ सय, कार्तिकमा २ सय ७० तथा दुई साताअघि २ सय ५० र अहिले २ सय ७० तोकिएको संघले जनाएको छ । उपत्यका वरपरका किसानबाट किनेको कुखुरामा ५ देखि ७ प्रतिशतमात्रै नाफा राखेर उपभोक्तालाई बिक्री गरिएको संघका अध्यक्ष बीसी बताउँछन् ।
यो पनि पढ्नुहोस मासुको मुल्य बढाउन जिउँदा चल्ला मार्ने अभियान 

‘उपत्यकाको तुलनामा बाहिर तयारी मासुको मूल्य झनै सस्तो छ’, उनले भने ।

उपभोक्ता अधिकारकर्मीको गुनासो

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ह्याचरी उद्योगीको आन्दोलनको असर अण्डा र मासुमा पर्ने बताए ।

‘यो मूल्य बढाउने सिन्डिकेटपूर्ण आन्दोलन हो’, उनले भने । मूल्यवृद्धिका लागि विभिन्न आन्दोलन भए पनि सरकार मौन बस्ने गरेको उनको आरोप छ । बजारको माग र व्यवसायीको उत्पादनबारे सरकारले कुनै गृहकार्य नगर्दा यस्तो समस्या देखिएको महर्जन बताउँछन् ।

‘तत्कालका लागि सिण्डिकेट गरेको आरोपमा व्यवसायीहरू विरुद्ध कारबाही चलाउनु पर्छ’, उनले भने ।

बजारमा कृत्रिम अभाव सृजना गरेर उपभोक्ता हितविपरीत काम गरेकाले ह्याचरी उद्योगीविरुद्ध कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । बजारमा आफै मूल्य तोक्न छुट भएका व्यवसायीले सरकारी कमजोरीको फाइदा उठाएर दादागिरी देखाएको उनले आरोप लगाए ।

कारबाहीको लागि वाणिज्य विभागमा उजुरी दर्ता गराए पनि सुनुवाइ नभएको गुनासो तिमल्सिनाले गरेका छन् ।

‘व्यापारीले मनपरी गर्दा पनि सरकारको उपस्थिति देखिएन, ४० लाख चल्ला नष्ट गरिएको विषय छानबिन गर्नुपर्छ,’ उनले भने । केही अण्डा नष्ट गरेजस्तो गरेको मात्रै पनि हुनसक्ने उपभोक्ता अधिकारकर्मीहरूको आशंका छ ।

माग र आपूर्तिबारे सरकारले तत्काल नियमन गर्नुपर्ने अधिकारकर्मीको भनाइ छ ।

लिखित माग्दै छौं : विभाग

वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागले चल्ला नष्ट गर्ने अभियानमा संलग्नहरूसँग लिखित जवाफ माग्ने तयारी गरेको छ । बजारमा असर परे/नपरेबारे अध्ययन गर्दै उद्योगीहरूसँग लिखित जवाफ माग्ने विभागको तयारी रहेको महानिर्देशक सुवेदीले बताए ।

कृषि मन्त्रालयले भने बजार नियमन गर्ने संयन्त्र नहुँदा मन्त्रालयले केही गर्न नसक्ने जनाएको छ । कारबाही गर्न तत्काल कुनै अधिकार मन्त्रालयलाई नभएको भन्दै सह–प्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले वाणिज्य विभागसँग समन्वय गरिने बताए । व्यवसायीको हर्कत उपभोक्ता हित संरक्षण ऐनले निषेध गरेको विषय भएको उनले बताए ।
‘आज नष्ट गरेको चल्लाले आजै मासुको मूल्य बढ्दैन, असर हेरेर सरकार अगाडि बढ्छ’, सह–प्रवक्ता डा. भट्टराई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment