Comments Add Comment

संसदीय समितिमा सांसदको भाषा : मूला सामन्ती पुँजीपति !

सार्वजनिक लेखा समितिको सोमबारको बैठक । तस्वीर : रासस

७ पुस, काठमाडौं । ओपिसी सिमेन्टको गुणस्तर मापदण्ड फेरिएकोबारे बुझ्न संसदको सार्वजनिक लेखा समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र गुणस्तर तथा नापतौल विभागका महानिर्देशकलाई सोमबार छलफलमा बोलाएको थियो ।

छलफलको सुरुवातमै सभापति भरत शाहले मन्त्रालय र मातहतको गुणस्तर विभागले सार्वभौम संसदको समितिलाई ढाँटेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

व्यवसायीलाई सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन गर्न पत्र पठाएको तर समितिलाई मापदण्ड कार्यान्वयनमा नआएको भनेर ढाँटेको भन्दै सभापति शाहले उद्योग सचिव यमकुमारी खतिवडा र विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीसँग कड्किए ।

सभापति शाहले एकाएक मापदण्ड परिवर्तन गर्नुपर्ने कारण बुँदागत रुपमा सुनाउन सचिव र महानिर्देशकलाई निर्देशन दिए ।

‘विभागले ओपिसी सिमेन्टको गुणस्तर घटाउँदा संरचना कमजोर बन्ने कुरामा किन यत्रो खेलाँची गरियो र हामीलाई किन ढाँटियो ?’ शाहले प्रश्न गरे ।

२०५५ जेठ ५ गते बनेको सिमेन्टको मापदण्डमा म्याग्नेसियम अक्साइडको मात्रा बढीमा ५ र इन्सुलेवल रेसिड्यूको मात्रामा बढीमा २ हुनुपर्ने भनिएको अहिले त्यसलाई बढाइएको उनको भनाइ थियो ।

‘के–कति कारणले यो मात्रा बढाउनु परेको हो जनता र मिडियालाई जवाफ दिनुस्,’ शाहले भने ।

आफ्नो असन्तुष्टिपछि सभापति शाहले सिमेन्टको गुणस्तरबारे जवाफ माग्न समितिका सांसदलाई फ्लोर खुल्ला गरे । सांसद धर्मशिला चापागाँईले सिमेन्टको गुणस्तरका विषयमा गुणस्तर विभागका महानिर्देशकले अध्ययन नगरी बोलेको आरोप लगाइन् । नेपालका कुन ठाउँका ढुंगाखानीमा एमजीओ मात्रा कति छ भन्ने विभागको भनाइ र समितिको अध्ययन बाझिएको उनले बताइन् । सिमेन्टमा एमजीओको मात्रा ६ पुर्याउँदा निर्माणजगत नै जोखिममा पर्ने उनको धारणा थियो ।

नेपाली कांग्रेसका सांसद राजन केसीले पुरानो मापदण्ड फेर्नुपर्ने कारणबारे प्रस्ट्याउन उद्योग सचिव र गुणस्तर विभागका महानिर्देशकलाई आग्रह गरे । परिमार्जित मापदण्ड कार्यान्वयन गर्न उद्योगीलाई पत्र लेख्नु तर संसदको समितिलाई नयाँ गुणस्तर कार्यान्वयनमा नआएको पत्र पठाउनु बेइमानी भएको उनले बताए ।

सांसद अमनलाल मोदीले उद्योग सचिव र महानिर्देशक तरबारको धारमा परेको भन्दै ब्यङ्ग्य गरे ।

‘उद्योगीसँगको मिलोमतोमा पहिले गुणस्तर फेरियो,’ उनले भने, ‘यसलाई कार्यान्वयन नगरे उद्योगीले मार्छन्, कार्यान्वयन गरे समितिले रोक्छ, अप्ठ्यारोमा परेको जस्तो लाग्यो,’ सांसद मोदीले भने । ओपीसी सिमेन्टको गुणस्तर फेर्ने कुरामा उद्योगका अधिकारी र उद्योगीबीच मिलोमतो भएको र समितिमा झुट बोलेको भन्दै उनले सार्वभौम सांसदको गरिमा बिर्सिएको आरोप लगाए ।

सांसद सूर्य पाठकले गुणस्तर फेर्ने निर्णयको स्वमित्व लिन उद्योगका अधिकारीले नचाहेको आरोप लगाए । भूकम्पको उच्च जोखिमयुक्त मुलुकमा ५ वर्षमै चर्कने सिमेन्टको मापदण्ड लागू गर्ने निर्णय गर्नु हानिकारक भएको सांसद पाठकको भनाइ थियो ।

उद्योगका अधिकारीहरु बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका सांसद प्रेम आलेले सचिव खतिवडा र महानिर्देशक पुडासैनीलाई एमजीओ र आईआरको मात्रा १० र १२ तोकिदिए झनै उत्तम हुने भन्दै घोचपेच गरे ।

‘तीन करोड जनताको हकहित भन्दा पनि दुई चार–जना ‘मुला सामन्ती पूँजीपति’को लागि राष्ट्रसेवकले काम गर्ने गरेका छन्,’ उनले दावी गरे । जीवनमा एकपटक बनाउने पूर्वाधारमा प्रयोग गरिने सिमेन्टको गुणस्तरबारे जनताका लागि नभई उद्योगीको पक्षमा बोलेको भन्दै सांसद आलेले विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको सातो खाए ।

विश्वमा भारतबाहेक सबै मुलुकमा एमजीओको मात्रा ५ प्रतिशतभन्दा कम रहेको भन्दै उनले भारतीय गुणस्तरहीन सिमेन्टसँग दाँजेर आफ्नो गल्ति ढाकछोप गर्न उद्योगका अधिकारी लागेको आरोप लगाए । गुणस्तर जस्तो संवेदनशिल ठाउँमा बस्ने राष्ट्र सेवकहरु जनता र उपभोक्ताप्रति कत्ति पनि उत्तरदायी नभएको सांसद आलेको आक्रोश थियो ।

‘तपाईंहरुले जे गरे पनि हुन्छ भन्ने लाग्छ भने हान्नुस् चौका, छक्का, धुलो सुलो जे–जे मिसाइदिए पनि हुन्छ,’ सांसद आलेले भने ।

सांसद विरोध खतिवडाले सिमेन्टको गुणस्तरबारे मन्त्रालयको निर्णय विश्वका सबै देशको अभ्यासभन्दा कमजोर देखिएको बताए । नयाँ मापदण्डले विगतको मापदण्डको खण्डन गरेको भन्दै उनले के ५५ सालको मापदण्डअनुसार बनेका सबै संरचना कमजोर र खत्तम थिए त ? भनी प्रश्न गरेका थिए ।

पुरानो र नयाँ मापदण्डको आधार र कारण प्रष्ट पार्न आग्रह गर्दै सांसद खतिवडाले सरकारी उपेक्षाकै कारण सरकारी स्वमित्वको सिमेन्ट बिक्न छोडेको बताए ।
‘गुणस्तरयुक्त सिमेन्ट नबिक्ने तर कम गुणस्तरको सिमेन्ट जनताले प्रयोग गर्ने यो किन भइरहेको छ ?’ खतिवडाले प्रश्न गरे ।

गुणस्तर हेरफेरबारे संमितिलाई ढाँटियो

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओपीसी ३३ ग्रेडको सिमेन्टको नयाँ गुणस्तर गत असार १८ गतेको निर्णयबाट परिवर्तन गरेको थियो । नेपालका पश्चिम भेगका चुन ढुंगाखानीमा म्याग्नेसियमको मात्रा अधिक रहेको र यसले उद्योगीको लागत बढेको जस्ता गुनासोको आधारमा ६ प्रतिशत म्याग्नेसियम र ४ प्रतिशत इन्सुलेवल रेसिड्यू भए पनि सिमेन्ट प्रयोगयोग्य हुने निर्णय मन्त्रालयले गरेको थियो ।

जबकी २०५५ जेठ ५ को मापदण्डअनुसार सिमेन्टमा म्याग्नेसियमको मात्रा बढीमा ५ र इन्सुलेवल रेसिड्यूको मात्रा बढीमा २ प्रतिशत मात्रै हुनुपर्ने व्यवस्था छ ।

गुणस्तर विभागले हेरफेर गरेको नयाँ मापदण्ड कार्यान्वयनमा आए त्यस्ता सिमेन्टको प्रयोगबाट बनाइएका संरचना ५ वर्षमै चर्कन थाल्ने लेखासमितिले गरेको छलफलमा त्रिविका रसायनशास्त्रीहरुले बताएका थिए ।

समितिले उद्योग मन्त्रालयसंग मागेको लिखित जवाफमा तीन वर्ष लगाएर गरिएको अध्ययनबाट सिमेन्टका गुणस्तरको १२ सूचकमा हेरफेर गरिएको बताइए पनि यो राजपत्रमा उक्त सूचना प्रकाशित नभएको र हाल कार्यान्वयनमा नआएको जवाफ समितिमा प्राप्त भएको थियो । तर साउन २७ गते कात्तिक मसान्तभित्र नयाँ मापदण्ड कार्यान्वयन गर्न गुणस्तर विभागले सिमेन्ट उद्योगहरुलाई पत्र काटेको सूचना समितिमा आएको छ ।

समितिको निर्देशन मान्छौं

समितिमा सांसदहरुको आक्रोश सुनेपछि उद्योग सचिव यमकुमारी खतिवडाले आफूहरु सम्मानित समितिले दिने निर्देशन मान्न तयार रहेको बताइन् । समितिलाई झुक्याउने कुनै नियत नभएको भन्दै उनले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड कार्यान्वयनका लागि पठाइएको पत्रबारे छानबिन गर्ने बताइन् ।

सिमेन्टको गुणस्तरबारे मन्त्रालयले कसैको प्रलोभनमा परेर निर्णय नगरेको सचिव खतिवडाको स्पष्टोक्ति थियो । नयाँ गुणस्तर कार्यन्वयन नगराउन तत्काल मन्त्रालयले परिपत्र गर्ने भन्दै उनले गुणस्तरहीन सिमेन्ट उत्पादनको पक्षमा मन्त्रालय नरहेको बताइन् ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कुनै उद्योगीको पैसा खाएर निर्णय गरेको पुष्टि गर्न सासंदहरुलाई चुनौती थिए ।

‘एक रुपैयाँ खाएर मैले निर्णय गरेको प्रमाणित भए कारबाही भोग्न तयार छु,’ उनले भने । समितिको निर्णय मान्न आफूहरु तयार रहेको भन्दै पुडासैनीले समितिलाई गुमराहमा नराखेको दाबी गरे ।

छलफलपछि समितिले सिमेन्टको नयाँ मापदण्ड तत्काल कार्यान्वयन नर्गन उद्योग मन्त्रालय र गुणस्तर विभागलाई निर्देशन दिएको छ । समितिले उद्योगमन्त्री लेखराज भट्टसंग थप छलफल गर्ने पनि समितिका समापति भरत शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment