Comments Add Comment

अलपत्र पर्‍यो पक्की घर निर्माण, झुपडीमा शीतलहर झेल्दै ७५ घर मुसहर

७ पुस, जनकपुरधाम । ६५ बर्षीया पानोदेवी सदालाई यो बर्षको शितलहर काट्न निकै समस्या भएको छ । च्यातिएका ओढ्ने ओढेर ओत लाग्ने गतिलो ठाउँसमेत छैन ।
उनी तीन छोरा, दुई बुहारी र ६ नातिनातिनासँग एउटा झुपडीमा बस्छिन् । बाख्रा पनि यहीँ राख्नुपर्ने बाध्यता छ ।

‘एउटा सानो झुपडी छ, त्यहींभित्र पुरै परिवार रात गुजार्न बाध्य छौं’ उनले भनिन् ‘बाढीलाई पनि यही झुपडीमा खेपें, शितलहरी पनि खेप्दैछु ।’

पानोदेवीकी छिमेकी सवितादेवी सदाको हाल पनि उस्तै छ । सवितासहित उनका श्रीमान् दिनेश, २ छोरी र १ छोरा सानो झुपडीमा सात महिनादेखि बस्दै आएका छन् । खाना झुपडीबाहिर आगो फुकेर पकाए पनि रात काट्न झुपडी साँघुरो छ ।

नरेश सदा तीन दाजुभाइ, आफ्ना पत्नी, छोराछोरी र आमाबाबुसहित झुपडीमा बस्छन् । उनले भने, ‘हामी सडकमा बस्ने मान्छे जस्तै भएका छौं ।’

जनकपुरधाम उप–महानगरपालिका २४ बसहियाका झण्डै ७५ मुसहर परिवार यस्तै कष्टपूर्ण जीवन जिउन बाध्य छन् । एउटा झुपडीमै ५ देखि १० जनासम्मको परिवार बस्दै आएको छ ।

पक्की घरको आसमा फूस पनि भत्कियो

यहाँका मुसहर समुदायको आफ्नै फुसको घर थियो । एक जनालाई कम्तीमा दुईदेखि तीन वटा फुसको कोठा भएको घर छँदा शितलहर काट्न समस्या हुन्नथ्यो । तर गत असार महिनामा उनीहरुले भएको फुसको घर पनि भत्काए । पक्की घर पाउने आशमा उनीहरुले फुसको घर खुशी–खुशी भत्काए ।

जनता आवास कार्यक्रम अन्तर्गत यी मुसहर समुदायलाई पक्की घर बनाइदिने प्रदेश २ सरकारले योजना ल्याएको थियो । तर पक्की घर निर्माण दुई महिनायता ठप्प छ ।
‘जसोतसो गर्मी र बर्षा खेप्यौं, शितलहरी पक्की घरमा बित्ने आश थियो’ ६२ बर्षीय सुबोध सदाले भने, ‘तर, त्यो आशा निराशामा परिणत भएको छ ।’

एकै झुपडीमा छोरा बुहारीसँगै सुत्नुपरेपछि पर्नसम्मको पिर परेको सुनाए उनले । ‘हात, खुट्टा पनि नहलाइकन सुत्नुपरेको छ’ उनले गुनासो गरे ।

गुठी संस्थानले मुद्दा हालेपछि समस्या

अधुरा घर निर्माण तत्कालै अघि बढ्ने सम्भावना छैन । यहाँका मुसहर समुदाय गुठी संस्थान अन्तर्गतको जग्गामा बस्दै आएका थिए । करिब एक दशकअघि एक परिवारले २० हजार रुपैयाँ गुठी संस्थानलाई बुझाएपछि प्रतिपरिवार ५ धुरका दरले जग्गा उपलब्ध गराएपछि उनीहरु आफ्ना घर बनाएका थिए ।

गुठी संस्थानले आफ्नो जग्गा भएको भन्दै अदालतमा मुद्दा दिएपछि जनता आवास अन्तर्गत मुसहर समुदायको घरको निर्माण आधा पनि नहुँदै रोक्का गरिएको छ । जसका कारण स्थानीय मुसहर समुदाय झुपडीमा पुगेका हुन् ।

जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण सुरु गर्दा गुठी संस्थानल घर बनाउँदा फरक नपर्ने बताए पनि पछि मुद्दा हालेको छ ।

शहरी विकास डिभिजन कार्यालय प्रदेश २ अन्तर्गत जनता आवास कार्यक्रम हेर्ने इन्जिनियर नरेन्द्रकुमार झाले काम शुरु गरिएको केही समयमा गुठी संस्थानले मुद्दा हालेपछि निर्माण कार्य रोक्न आएको आदेश बमोजिम रोकिएको बताए ।

‘त्यसबेला गुठी संस्थानले पत्र नै लेखेर घर बनाउँदा फरक नपर्ने बताएको थियो’ झाले भने, ‘तर जनता आवास परियोजना अन्तर्गत घर निर्माण भइरहेको थाहा पाएपछि मुद्दा हालेका रहेछन् ।’

जिल्ला अदालतमा गुठी संस्थानले मुद्दा हालेको केहीदिनमै काम रोक्का गर्न अदालतले अन्तरिम आदेश दिएको थियो । दुई महिना अगाडि जिल्ला अदालतले यस विषयमा पूर्ण फैसलासमेत सनाइसकेको छ ।

जनता आवास कार्यक्रमको धनुषा संयोजक परमेश्वर साह अदालतको आदेश आइसकेकाले अब केही गर्न नसक्ने बताउँछन् । ‘हामीले गरिबी हेरेरै मुसहर समुदायको घर बनाइदिने निधो गरेका थियौं, तर अदालतले आदेश दिएपछि के गर्ने ?’

मुसहर समुदायसँग जग्गा नभएके र जनता आवास कार्यक्रमको कार्यविधिमा जग्गा उपलब्ध गराउने व्यवस्था नभएकाले तत्काल घर बनाउन नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment