Comments Add Comment

झारखण्डमा भाजपामाथि पोखियो आदिवासी आक्रोश

७ मंसिर, काठमाडौं । छ महिना पहिला भएको लोकसभामा निर्वाचनमा भारी बहुमतले विजयी भारतीय जनता पार्टी (भाजपा) झारखण्डको विधानसभामा पराजित भएको छ ।

झारखण्ड राज्य बनेयता पहिलो पटक पूरा अवधी सरकार चलाएको भाजपा क्षेत्रीय दल झारखण्ड मुक्ति मोर्चा (झामुमो) भन्दा सानो बन्ने निश्चित जस्तै देखिन्छ । पछिल्लो परिणामअनुसार झामुमोले ३० र भाजपा २५ स्थानमा सिट जित्ने देखिन्छ । २०१४ को निर्वाचनमा भाजपाले ३७ र झामुमोले १९ सिट जितेको थियो ।

८१ सदस्यीय विधानसभामा झामुमो–कांग्रेस–राष्ट्रिय जनता दल (आरजेडी) गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिन्छ । गत निर्वाचनमा ६ सिटमा खुम्चिएको काँग्रेसलाई क्षेत्रीय दलसँगको गठबन्धनको लाभ मिल्ने देखिन्छ । उसले दोब्बरभन्दा बढी सिट जित्ने देखिन्छ ।

मुख्यमन्त्री पराजित !

२००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भएयता पहिलो पटक पाँच वर्षे कार्यकाल पूरा गरेकाका निवर्तमान मुख्यमन्त्री रघुबर दास आफैं पराजय निकट छन् । जम्सेदपुर (पूर्व) निर्वाचन क्षेत्रबाट चुनाव लडेका उनी १५ हजार भन्दा बढी मतले पछि परेका छन् ।

रघुबर दासलाई भाजपाकै पूर्वनेता सरयु रोयले पछाडि पारेका हुन् । रोयले ६८ हजार मत पाउँदा दासले ५२ हजार मत कटाएका छन् ।

जयप्रकाश नारायणनले विहारमा चलाएको सम्पूर्ण क्रान्ति (जेपी मुभमेन्ट) मा सहभागी भएर राजनीतिक जीवन सुरु गरेका ६५ वर्षीय रघुबर दासलाई झारखण्डमा भाजपा पराजयको प्रमुख कारकको रुपमा समेत हेरिएको छ ।

झारखण्डमा भाजपा हार्नुमा दासको स्वाभाव र चरित्रलाई प्रमुख कारणको रुपमा हेरिएको छ । भाजपा छाड्नुअघि सरयु रोयले पार्टीभित्र दासको विषयमा पटक पटक कुरा उठाएका थिए । रोयले जति नै विरोध गरे पनि नरेन्द्र मोदी र अमित शाहले भने दासलाई साथ दिँदै आएका थिए । दासकै व्यवहारका कारण भाजपाभित्र देखिएको असन्तुष्टिलाई यो निर्वाचनको परिणामसँग जोडेर हेर्ने गरेका छन् ।

रुष्ट आदिवासी

तर भाजपा पराजयको प्रमुख कारण भने त्यहाँका आदिवासी, दलित र अल्पसंख्यक मतदाताको असन्तुष्टि हो । भूमिसम्बन्धी कानून संशोधनका कारण आदिवासीहरू भाजपा सरकारसँग बेखुस थिए ।

किनभने विपक्षीको बहिस्कारका बाबजुद विधानसभाबाट छोटानागपुर काश्तकारी अधिनियम (सीएनटी) र सन्थाल परगना काश्तकारी अधिनियम (एसपीटी) संशोधन पारित गरिएको थियो । कानून संशोधनले अंग्रेजसँग लडेर लिएको अधिकार खोसिएको आदिवासीहरूको बुझाइ छ । त्यही संशोधनका कारण भाजपालाई आदिवासीले भोट नदिएको विश्लेषण गरिएको छ ।

त्यतिमात्रै होइन भाजपा सरकारले निजी पावर प्लान्ट कम्पनीलाई जग्गा उपलब्ध गराउन भूमि अधिग्रहण कानून संशोधन गर्न खोजेको थियो । भाजपाले दलित र आदिवासीको जमिन नक्कली ग्रामसभाबाट जबरजस्ती अधिग्रहण गराएको थियो । अधिग्रहणका क्रममा दलित र आदिवासीमाथि गोलीसमेत चलाएको आरोप भाजपा सरकारमाथि छ ।

झारखण्डका आदिवासीहरूमा पत्थलगडी नामको परम्परा छ । यो परम्परा अनुसार गाउँको सीमा छुट्याउने वा गाउँमा बाहिरी मान्छेलाई गाउँसभाले नै प्रतिबन्ध लगाउन सक्दछ । खुँटी, गुमला, सिमडेगा र पश्चिम सिंहभूम लगायतका जिल्लामा यो परम्परा प्रख्यात छ । पञ्चायत (अनुसूचित क्षेत्रों का विस्तार) अधिनियम १९९६ संशोधन गरेर आफनो परम्परामा दखल दिएको उनीहरूको बुझाइ छ ।

रघुबर दासको कार्यकालमा झारखण्डमा १८ जनालाई सार्वजनिक स्थलमा ल्याएर कुटीकुटी मारिए । त्यसरी मारिनेमध्ये ११ जना मुस्लिम थिए । २०११ को जनगणनाअनुसार त्यहाँ मुस्लिम साढे १४ प्रतिशत छन् । यस्ता घट्नाले अल्पसंख्यक मतदाताले भाजपाबाट असुरक्षित महसुस गरे ।

झारखण्डमा कांग्रेस गठबन्धनले यस्तै स्थानीय मुद्धालाई चुनावी नारा बनाएको थियो । रघुबर दास स्वयंले पनि निर्वाचनअघि नै धारा ३७० संशोधन, अयोध्या, नागरिकता कानून जस्ता विषयले झारखण्डको निर्वाचन प्रभावित नहुने बताएका थिए ।

नयाँ जनादेश पुरानै मुख्यमन्त्री

कांग्रेस–झामुमो–आरजेडी गठबन्धनले निर्वाचन अगावै झामुमोका हेमन्त सोरेनलाई मुख्य मन्त्री बनाउने घोषणा गरिसकेको छ । हेमन्त झारखण्डमा ‘टेस्टेड’ मुख्यमन्त्री हुन् ।

४४ वर्षीय हेमन्त २०१३ मै कांग्रेस र आरजेडीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसअघि २०१० मा उनी अर्जुन मुण्डा नेतृत्वको सरकार उपमुख्यमन्त्री थिए । हेमन्त झामुमोका अध्यक्ष शिवु सोरेनका छोरा हुन् । आफ्ना दाइ दुर्गा सोरेनको मृत्युपछि हेमन्त राजनीतिमा आएका हुन् ।

मुख्यमन्त्री भएका बेलामा हेमन्तले महिलाका लागि नोकरीमा महिलाका लागि ५० प्रतिशत र पिछडिएका जातिका लागि २७ प्रतिशत आरक्षण लागु गरेका थिए ।

१९ सिट सहित प्रतिपक्षमा हुँदा उनले रघुबर सरकारको भूमि अधिग्रहण, जल–जंगल–जमीनमा आदिवासीको अधिकार स्थापीत गर्ने मुद्धाको पक्षमा लडेका थिए । त्यही भूमिकाले उनलाई पुनः मुख्यमन्त्रीको कुर्सीनजिक पु¥याएको विश्लेषण गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment