Comments Add Comment

तीव्र गतिका कारण नरपानी बस दुर्घटना : छानविन समिति

८ पुस, बुटवल । अर्घाखाँचीको नरपानीमा गत मंसिर ११ गते १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको हतारो भएको छानविन समितिले निश्कर्ष निकालेको छ । दुर्घटनापश्चात अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा गठित छानविन समितिले यस्तो निश्कर्ष निकालेको हो ।

दुर्घघटना स्थलको अवलोकन र अन्य सम्बन्धित पक्षसँगको अध्ययन गर्दा मोडमा तीव्र गतिको कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको छानविन समितिका सदस्य गणेश खनालले जानकारी दिए । अगाडिका यात्रुलाई भेट्ने हतारोमा बस भन्दा अगाडि रहेको ट्रकलाई ओभरटेक गर्दा बस दुर्घटना भएको बयान प्रत्यक्षदर्शीले छानविन समितिलाई दिएका छन् ।

चालकले बोनटमा बसेकी महिलासँग कुराकानी गर्दै आएका र दुई घण्टा जति बाटोमा बस रोकेका कारण बुटवल पुग्न हतारो गर्दै गाडी तीव्र गतिमा गुडाइएको प्रतिवेदनमा उल्लेख छ । अर्को दिनको बस चलाउने पालोका लागि नम्बर लिन बुटवल छिटो पुग्नुपर्ने हतारो चालकलाई भएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटना हुनुअघि घुम्ती भन्ने स्थानमा चालक समेत परिवर्तन भएको छानविन समितिले पत्ता लगाएको छ । सडकको जियोमेट्रिक्स मिलेको देखिएकोले दुर्घटना सडकका कारण नभएको प्रतिवेदनमा छ । गाडीको टाइरड, टायर र पट्टाको भाग दुरुस्त रहेको हुँदा यान्त्रिक गडबडीका कारण नभइ चालककै लापरबाहीका कारण दुर्घटना हुन पुगेको प्रतिवेदनले ठहर गरेको छ ।

छानविन समितिले दुर्घटनाका घाइते, स्थानीय प्रत्यक्षदर्शी, स्थानीय जनप्रतिनिधि, प्रहरी, यातायात व्यवसायी लगायत सरोकारवाला सबै पक्षसँग दुर्घटनाबारे २१ दिन समय लगाएर छानविन गरेको थियो ।

सन्धिखर्कबाट बुटबल आउंँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी नजिकै सल्लेरी रातामाटामा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । तीव्र गतिको कारण बस सडकको देव्रे साइडको नाली तिर गएको र पुनः दायाँ साइड काट्दा रोक्न नसकी सिधै भिरबाट खसेको दुर्घटनाका घाइतेले जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटना हुने क्रममा चालकले बचाउन हदैसम्म प्रयास गरेका चालक आत्तिएर पूरा स्टेरिङ्ग दाँया काट्दा बाँया नकाट्दै सडकमुनि हुत्तिएको थियो । दुर्घटनामा परेको बस किनेको दुइ वर्ष मात्र भएको थियो ।

दुर्घटना रोक्न यस्ता छन् सुझाव

छानविन समितिले नो ओभरस्पीड, नो ओभरटेक, नो ओभरलोड र नो ड्रिङक एण्ड ड्राइभ सिद्धान्त कडाइका साथ पालना गर्न सुझाव दिएको छ । यस्तै सडकको भौतिक अवस्थामा तत्काल सुधार गर्न, साँघुरो सडकको छेउमा बार तथा पर्खाल लगाउन, दुर्घटनाग्रस्त सडक खण्डमा ट्राफिक संकेतहरु राख्न, सडकको दुबै साइडमा कार्टस् आइ बत्तीहरु राख्न, सडकसँग सरोकार राख्ने सबै निकायहरुले दुर्घटना न्यूनिकरणको लागि आवश्यक पहल गर्न, प्रत्येक जिल्लाको सदरमुकाममा कम्तिमा एकवटा गाडीको मेकानिकल चेकजाँच गर्ने कार्यालय राख्न, लामो रुटमा जानु पूर्व अनिवार्य रुपमा सो कार्यालयवाट सवारीको मेकानिकल जाँच हुने व्यवस्था गर्न, चालकको शारीरिक र मानसिक चेकजाँच प्रणालीलाई कानून बनाइ नियमित र प्रभावकारी रुपमा लागू गर्न, एक पटक दुर्घटना गराएको चालकलाई दुर्घटनाको प्रकृति अनुसार निश्चित समयसम्म सवारी चलाउन कानूनी रुपमै प्रतिबन्ध लगाउन सुझाव दिएको छ । दुर्घटनामा १३ जना घाइते भएका थिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला थिए ।

उक्त सडक खण्डमा सात वर्षको अवधिमा ८६ जनाको ज्यान गएकाले आगामी दिनमा दुर्घटना रोक्न छानविन समितिको सुझावलाई सम्बन्धित पक्षले यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment