Comments Add Comment

छानबिन प्रतिवेदनको निश्कर्ष : चालकको हतारले नरपानी दुर्घटना

८ पुस, बुटवल । अर्घाखाँचीको नरपानीमा गत मंसिर ११ गते १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण तीब्र गति र चालकको हतारो भएको छानबिन समितिले निश्कर्ष निकालेको छ ।

दुर्घटनाको छानबिन गर्न अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा समिति गठन गरिएको थियो । दुर्घटनास्थलको अवलोकन र अन्य सम्बन्धित पक्षसंगको अध्ययन गर्दा घुम्ती मोडमा तीब्र गतिको कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको छानबिन समितिका सदस्य पत्रकार गणेश खनालले जानकारी दिए ।

अगाडिका यात्रु चढाउने लोभमा ट्रकलाई ओभरटेक गर्दा बस दुर्घटना भएको बयान प्रत्यक्षदर्शीले छानबिन समितिलाई दिएका छन् ।

चालकले बोनटमा बसेकी महिलासंग कुराकानी गर्दै आएका र दुई घण्टा जति बाटोमा बस रोकेका कारण बुटवल पुग्न हतारो गर्दै गाडी तिव्र गतिमा गुडाएको प्रतिवेदनमा उल्लेख छ ।

अर्को दिनको बस चलाउने पालोका लागि नम्बर लिन बुटवल छिटो पुग्नुपर्ने हतारो चालकलाई भएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटना हुनुअघि घुम्ती भन्ने स्थानमा चालकसमेत परिवर्तन भएको छानविन समितिले पत्ता लगाएको छ ।

चालकले बोनटमा बसेकी महिलासंग कुराकानी गर्दै आएका र दुई घण्टा जति बाटोमा बस रोकेका कारण बुटवल पुग्न हतारो गर्दै गाडी तिव्र गतिमा गुडाएको प्रतिवेदनमा उल्लेख छ ।

सडकको जियोमेट्रिक्स मिलेको देखिएकोले दुर्घटना सडकका कारण नभएको प्रतिवेदनमा छ । गाडीको टाइरड, टायर र पट्टाको भाग दुरुस्त रहेको हुंदा यान्त्रिक गडबडीका कारण नभई चालककै कारण दुर्घटना हुन पुगेको प्रतिवेदनले ठहर गरेको छ ।

छानबिन समितिले दुर्घटनाका घाइते, स्थानीय प्रत्यक्षदर्शी, स्थानीय जनप्रतिनिधि, प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवालासँग दुर्घटनाबारे २१ दिन समय लगाएर छानबिन गरेको थियो ।

सन्धिखर्कबाट बुटबल आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका ६ नरपानीनजिकै सल्लेरी रातामाटामा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । तीब्र गतिको कारण बस सडकको देव्रे साइडको नालीतिर गएको र पुनः दायाँ साइड काट्दा रोक्न नसकी सिधै भीरबाट खसेको दुर्घटनाका घाइतेले जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटना हुने क्रममा चालकले बचाउन हदैसम्म प्रयास गरेका र आत्तिएर पूरा स्टेरिङ दाँया काट्दा बाँया नकाट्दै सडकमुनि हुत्तिएको थियो । दुर्घटनामा परेको बस दुई वर्षअघिमात्र किनिएको थियो ।

दुर्घटना रोक्न सुझाव

छानबिन समितिले नो ओभरस्पीड, नो ओभरटेक, नो ओभरलोड र नो ड्रिङ्क एण्ड ड्राइभ सिद्धान्त कडाइका साथ पालना गर्न सुझाव दिएको छ । यस्तै सडकको भौतिक अवस्थामा तत्काल सुधार गर्न, साँघुरो सडकको छेउमा बार तथा पर्खाल लगाउन, दुर्घटनाग्रस्त सडक खण्डमा ट्राफिक संकेत राख्न, सडकको दुबै साइडमा कार्टस् आई बत्ती राख्न सुझाव दिएको छ ।

त्यस्तै प्रत्येक जिल्लाको सदरमुकाममा कम्तीमा एउटा गाडीको मेकानिकल चेकजाँच गर्ने कार्यालय राख्न, लामो रुटमा जानुपूर्व अनिवार्य रुपमा सो कार्यालयबाट सवारीको मेकानिकल जाँच हुने व्यवस्था गर्न, चालकको शारीरिक र मानसिक चेकजाँच प्रणालीलाई कानुन बनाई नियमित र प्रभावकारी रुपमा लागु गर्न पनि सुझाव दिएको छ ।

दुर्घटनामा १३ जना घाइते भएका थिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला थिए । उक्त सडक खण्डमा सात वर्षको अवधिमा ८६ जनाको ज्यान गएकाले आउँदा दिनमा दुर्घटना रोक्न छानबिन समितिको सुझावलाई सम्बन्धित पक्षले यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment