Comments Add Comment

खाद्यले किन्यो सवा लाख क्विन्टल धान

९ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारसम्म एक लाख १८ हजार क्विन्टलभन्दा धेरै धान किसानसँग खरिद गरेको छ । कात्तिक २८ गतेबाट थालिएको धान खरिद कार्य जारी रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

सरकारले धानको सर्मथन मूल्य तोकेपछि कम्पनीले उपत्यका बाहिरका ८ कार्यालयबाट धान खरिद गर्न थालेको थियो । धनगढी, राजापुर, नेपालगञ्ज, महेन्द्रनगर, बिर्तामोड, लाहान जनकपुर र वीरगञ्जबाट धान खरिद भइरहेको कम्पनीले जनाएको छ ।

‘सोमबार बेलुकासम्म १ लाख १८ हजार २४५ क्विन्टल धान खरिद भइसकेको छ, यो क्रम अझै जारी छ,’ सूचना अधिकारी सुवेदीले भनिन् ।

सरकारले यस वर्ष मोटा धानको २५ सय ३२ रुपैयाँ ८० पैसा, मध्यम धानको २६ सय ७३ रुपैयाँ १० पैसा र जिरा मसिनो धान ३ हजार २० रुपैयाँ प्रतिक्विन्टल सर्मथन मूल्य तोकेको थियो । कृषहरुसँग कम्पनीले किनेकोमध्ये वीरगन्जमा खेती गरिने ३२ क्विन्टल जिरा मसिनो धान पनि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीले यस वर्ष ३ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । उक्त परिमाणको धान खरिदका लागि कम्पनीले ७३ करोड १० लाखभन्दा बढी रकम छुट्याएको छ ।

‘सरकारले तोकेको सर्मथन मूल्यभन्दा बढी रकम पाए कृषकले व्यवसायीलाई धान बिक्रि गर्न सक्नेछन्, तर मूल्य नपाए कम्पनीले नै किसानको धान किन्ने छ,’ सूचना अधिकारी सुवेदीले भनिन् ।

समर्थन मूल्य भन्दा कममा कृषकले धान बेच्न नपरोस् भनेर कम्पनी सचेत रहेको उनले बताइन् । यस वर्ष छुट्याइएको रकमले धान किन्न नपुगे थप रकम सरकारसँग माग गर्ने पनि सुवेदीले जानकारी दिईन् । संस्थानले गत वर्ष २ लाख १८ हजार क्विन्टल धान खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment