Comments Add Comment

बुटवलमा ४६ दिनदेखि किशोर सम्पर्कविहीन

खोजी गरिदिन परिवारको अपिल

९ पुस, बुटवल । ४६ दिनदेखि हराइरहेका बुटवल कालिकानगरका एक किशोरको परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो गरेको छ ।

बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बुटवल ११ कालिकानगरका १६ वर्षका जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।

घरबाटै छोरा सम्पर्कविहीन भएपछि बुटवलको योगिकुटी र वडा प्रहरी कार्यालय रामनगरमा खोजी गरिदिन निवेदन गरे पनि प्रहरीले चासो नदिएको आमा मिना श्रेष्ठले गुनासो गरिन् ।

‘छोरा हराएकै दिन प्रहरीमा पुगेर निवेदन दिएका हौं’, श्रेष्ठले भनिन्–‘डेढ महिना बित्दासम्म नभेटिंदा साह्रै चिन्तामा छौं, प्रहरी प्रशासनले ठूलाबडा भए मात्रै चासो दिने तर गरीबलाई मतलब नगरेको अनुभूति भएको छ ।’

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले आफूहरुले पनि जनकको खोजीमा सक्दो प्रयास गरेको भए पनि प्रहरी प्रशासनको सहयोग विना सफल नहुने बताए । कात्तिक २२ गते विद्यालयमा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशित हुँदा जनक दुई विषयमा अनुतीर्ण भएका थिए ।

जनकले ६ हजार नगद, जन्मदर्ताको प्रमाणपत्र र झोलामा दुई जोर कपडा लिएर सम्पर्कविहीन भएको मिनाले बताइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले प्रहरीले हराएका किशोरको फोटो मातहतका निकायमा पठाएर खोजी गरिरहेको बताए ।

‘हामीले खोजी गरेका छौं, तर पत्ता लागेको छैन, बेवास्ता गरेका छैनौं,’ डीएसपी भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment