Comments Add Comment

डोल्पामा ‘एक घर एक व्यवसाय’ सञ्चालन

९ पुस, जाजरकोट । ‘एक घर, एक रोजगार’ कार्यक्रम लागू भएपछि डोल्पाका दुई स्थानीय तहका बासिन्दा खुशी भएका छन् । जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा ‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी भएका हुन् ।

पचास प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागू गरिएको शे-फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

स्थानीयवासीले आफूले रोजेको व्यवसाय गर्नका लागि स्थानीय सरकारले व्यवसाय गर्ने व्यक्तिको बैंक खातामा आधार रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताए ।

यो कार्यक्रमअन्तर्गत आठ सय पाँच घरधुरीलाई ‘एक घर एक रोजगारी’ उपलब्ध गराएको उनले बताए । व्यापार, सीपमूलक कार्यक्रम, पशुपालन र ढुवानी सेवा जस्ता व्यवसाय स्थानीयवासीले सञ्चालन गरेको उनको भनाइ छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा डेढ करोड बजेट विनियोजन गरी काम सुरु गरिएको छ ।

त्यस्तै जगदुल्ला गाउँपालिकाले ‘एक घर एक व्यवसाय’ कार्यक्रमको थालनी गरेको छ । आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन गाउँपालिकाले यो कार्यक्रम लागू गरेको हो ।

पहिलो चरणमा जगदुल्ला गाउँपालिका-४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले बताए । गाउँपालिकाका १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने गरी कूल पाँच करोड ६० लाख बराबरको रकम योजनाका लागि विनियोजन गरी स्थानीयवासीलाई रोजगारी उपलब्ध गराएको रोकायले बताए ।

पहिलो चरणमा वडा नं ४ का प्रत्येक घरधुरीलाई दुई वटा चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ वटा स्थानीय सरकारले नै अनुदानस्वरुप प्रदान गरेको हो । दुई चौँरीगाई अनुदानमा लिनेले एक अनिवार्य किन्नुपर्नेछ भने १२ वटा बाख्रा अनुदानमा लिइनेले आठ वटा कृषकले अनिवार्य किन्ने व्यवस्था मिलाएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहनाअनुसार नै अनुदान दिएकाले सरकारको अनुदान कुनै पनि हालतमा खेर नजाने स्थानीयवासी भीमबहादुर बस्नेतले बताए ।

उनने भने , ‘यो हाम्रा लागि सुनौलो अवसर हो स्थानीय सरकारले हाम्रै लागि लगानी गरेको हो, हामीले सो गाउँपालिकाको सपना जसरी नी परिणाम ल्याउने गरी काम गर्छौं ।’

दुर्गम गाउँमा अर्थ अभावकै कारण रोजगारी नपाएका तथा बेरोजगार बसेका युवा तथा स्थानीयलाई सहयोग पुगेको छ । अहिले गाउँपालिकाको रकमबाट स्थानीयवासी व्यवसाय गरेर आम्दानीको बाटो कुरेर बसेको स्थानीयवासी कर्णबहादुर रोकायाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment