Comments Add Comment

सातौं राष्ट्रिय कृषि गणनाका लागि सुझाव संकलन

१० पुस, बुटवल । हरेक १० वर्षमा गरिंदै आएको राष्ट्रिय कृषि गणना अन्तर्गत २०७८ सालमा गरिने सातौं राष्ट्रिय कृषि गणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले प्रदेशगत रुपमा सुझाव संकलन थालेको छ ।

तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार बुटवलमा छलफल र अन्तरक्रिया भएको छ ।

अन्तरक्रियामा बोल्दै प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कूल ग्रार्हस्थ उत्पादनमा करिब एक तिहाइ योगदान रहेको कृषि क्षेत्रको गुणस्तरीय तथ्याङ्क संकलन हुन सके मात्रै सही योजना तर्जुमा र कार्यान्वयन हुने भएकाले कृषि गणना कार्यक्रममा सरोकारवाला पक्ष छुट्न नहुने बताइन् ।

कृषकले र सरोकारवाला पक्षले यथार्थ तथ्याङ्क र कृषि क्षेत्रका समस्या गणकहरुलाई जानकारी दिएर सहयोग गर्न उनले आग्रह गरिन् । कृषि गणनामा किसानहरुले बुझ्ने गरी सरल भाषामा प्रश्नावली तयार गर्न सुझाव दिंदै प्रदेश सरकारले विभागलाई सहयोग गर्ने बताइन् ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक डा. महेशकुमार सुवेदीले कृषि गणना नमूना संकलन पद्धतीबाट गरिने जानकारी दिदै देशभरबाट कुल २ लाख ५० हजार कृषकहरु यो गणनामा सहभागी हुने जानकारी दिए ।

कुल ८ धुर भन्दा बढी क्षेत्रमा खेतीपाती गरेका २५ लाख किसानबाट नमूनाको रुपमा छनौट गरी कुल २ लाख ५० हजार किसानहरुलाई गणनामा समेटिने उनले बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले सही तथ्याङ्कका आधारमा बनाइने योजना मात्रै सफल कार्यान्यवयन हुने भएकाले तीनै तहका सरकारले तथ्याङ्क संकलनलाई प्राथमिकतामा राख्नुपर्ने आग्रह गरे ।

कृषि गणनाका लागि विभागले २५ वटा प्रश्नावलीसहिको फारम तयार गरेको र त्यसमा सुझाव संकलनका लागि सातै प्रदेशमा छलफल र अन्तरक्रिया थालेको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment