Comments Add Comment

उद्यमी बहस : आयोजना बनाउन २ वर्ष, कागजी प्रक्रियामा ५ वर्ष !

चन्द्रको योजना सातै प्रदेशमा केबलकार, कृषिमा हिमालय ब्रान्ड गोल्छाको सपना

११ पुस, बागलुङ । चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाल सातै प्रदेशमा केबलकार बनाउने योजनामा छन् । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा नेपालका गाउँ गाउँसम्म कृषिमा हिमालय ब्राण्ड स्थापित गर्न चाहन्छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई नेपालका प्रत्येक सहरमा भाटभटेनी सुपरमार्केट खोल्न मन छ ।

तर, यी तीनै बिजनेस टाइकुनको साझा चिन्ता छ, ‘नेपालमा लगानी बढाउन अनुकुल वातावरण नै छैन । सरकारले निजी क्षेत्रलाई विकास साझेदारका रूपमा हेर्दैन ।’

लगानी गर्ने सरकारी प्रक्रिया जटिल रहेकाले काम सम्पन्न गर्ने समयभन्दा प्रक्रिया पूरा गर्नै बढी समय उनीहरु गुनासो गर्छन् ।

त्यसो त नेपालमै उद्योग र व्यावसाय गरेर आ–आफ्नो ब्रान्ड बनाएका हुन् यी तीन व्यवसायीले । सानो लगानी र थोरै पुँजीबाट व्यावसायिक जीवन सुरु गरेका यी उद्यमीले तमाम चुनौती झेल्दै कसरी यत्रो सफलता हात पारे ? अहिले नेपालमा लगानीको अवसर र सम्भावना कस्तो छ ? कुन ठाउँमा लगानीको योजना बनाउँदै छन् उनीहरु ? यिनै विषयमा ३ उद्यमीले संवाद गरे ।

सन्दर्भ थियो, ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ ।’ बागलुङ महोत्सवको पूर्वसन्ध्यामा बागलुङ उद्योग वाणिज्य संघले उनीहरुलाई एउटै मञ्चमा राखेर संवाद गराएको हो । गण्डकी प्रदेशको आर्थिक तथा लगानी नीतिका विषयमा अर्का वक्ता थिए, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । सहजीकरणमा थिए, प्रभु बैंकका सिइओ अशोक शेरचन । बहसको जोड लगानीको वातावरण र प्रतिफलतिरै केन्द्रित भयो ।

गोल्छाले हजुरबुवाले दुख गरेर सुरु गरेको ब्यवसायको विरासत सम्झे । त्यसलाई विस्तार गर्दै थप ब्रान्ड स्थापित गरी नेपाल सरकारपछि धेरै रोजगारी दिने कम्पनी बनेको दाबी गरे ।

ढकालले चाहिँ बागलुङबाट ३ हजार ५ सय रूपैयाँ बोकेर काठमाडौं छिरेर अहिले यो ठाउँमा आइपुगेको सुनाए । खोटाङको किसान परिवारमा जन्मेका गुरूङले चाहिँ ३५ हजारमा व्यवसाय सुरू गरेको भन्दै भाटभटेनीमा ५० हजार जनालाई रोजगारी दिने सपना देखेको बताए ।

नेपालमा सरकारी जटिल नीति, जग्गा प्राप्तिको समस्या र लगानीको प्रतिफल आउने ग्यारेन्टी अझै हुन नसकेको उनीहरूको साझा भनाइ थियो ।

ढकालले बागलुङसँगै गण्डकी प्रदेशको सिग्लेस कोरी र नवलपुरको मौलाकालीमा पनि केबलकार बनाउने योजना सुनाए । तर, सरकारी प्रक्रिया जटिल भएकाले समस्या पारेको उनको भनाइ थियो ।

‘सरकारी प्रक्रिया सहज बनाइएमा १८ महिनाभित्र मौलाकालीमा केबलकार सञ्चालनमा ल्याउँछौं,’ ढकालले भने, ‘त्यति नै समयमा कास्की सिक्लेसको कोरीमा केबलकार बनाउँछौं ।’

चन्द्रागिरीमा केबलकार बनाउने काम २ वर्षमा सकिएको तर लगानीको प्रक्रिया पूरा गर्नै ५ वर्ष लागेको ढकालले बताए । नेपालमा लगानीका निम्ति पहिलेभन्दा वातावरण बनेको भए पनि उत्साहजनक अझै नरहेको उनको भनाइ थियो ।

गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाको भनाइ पनि उस्तै छ । सरकारी संयन्त्र सहज हुने हो भने १५ वर्षभित्रै देश कायापलट गर्न सकिने उनी बताउँछन् ।

‘हाम्रा नेताले भने झैं देश समृद्ध बनाउन सकिन्छ । तर हाम्रो सरकारी मेकानिज्म पुरानो भयो । लगानी बढाउन सरकारी नीति सहज हुनुपर्‍यो,’ गोल्छाले भने, ‘हामी बागलुङका गाउँठाउँमा पनि ब्राण्ड बिस्तार गर्न तयार छौं ।’

गुरुङ नेपालमा व्यवसाय गर्नु भनेको फलामको चिउरा चपाएसरह भएको बताउँछन् ।

‘बागलुङजस्ता ठाउँमात्रै होइन, संसारभर भाटभटेनी पुर्‍याउँछु भन्ने लक्ष्य लिएर हिँडेको छु,’ गुरुङको गुनासो छ, ‘नेपालमा व्यवसायीलाई लगानी गर्नै गाह्रो छ ।’

सहजकर्ता शेरचन र ग्लोबल आइएमी बैंकका अध्यक्षसमेत रहेका ढकाल बागलुङमै जन्मेका हुन् । त्यसैले सहजकर्ताले बागलुङमै लगानी भित्राउने कुरामै जोड दिए । ३ वर्षभित्र बागलुङमा लगानी भित्राउन सक्ने संभावनाबारे तीनैजनालाई शेरचनले जिज्ञासा राखे । ढकालले बागलुङमा केही न केही गर्न आतुर रहेको र प्रतिफलको ग्यारेन्टी भए छिट्टै लगानी भित्राउने बताए ।

गोल्छा समूहका शेखरले बागलुङमा ठूलो अर्गानिक उत्पादन हुन सक्छ भने आफ्नो ब्रान्ड ल्याउन तयार रहेको प्रतिवद्धता जनाए । सरकारले जग्गा मिलाइदिने हो भने १० महिनाभित्र बागलुङमा भाटभटेनी खोल्ने गुरुङले बताए ।

जुनसुकै लगानीकर्ता पनि प्रतिफलको ग्यारेन्टी हेरेर मात्र आउने ढकालको भनाइ थियो । लगानी भित्राउने सम्बन्धी सरकारको मेकानिजम साह्रै पुरानो र थोत्रो भइसकेको ढकालले बताए । सरकारी मेकानिजमले निजी क्षेत्रलाई समृद्धिको पार्टनर सम्झन नसकेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा लगानीको सम्भावना र चुनौति दुबै रहेको बताए । घाटा खानका लागि कुनै पनि लगानीकर्ता लगानी गर्न नआउने भन्दै उनले चुनौति चिरेर अवसर र सम्भावना लेखाउने काम सरकारको भएकोमा जोड दिए ।

आज नेपालमा उत्पादन गर्नुभन्दा आयात सस्तो पर्ने गोल्छाको भनाइ छ । उत्पादन गर्न लाग्ने खर्च र बेचिरहेको मूल्यले नेपाली किसान कहिल्यै धनी हुन नसक्ने उनले बताए ।

भाटभटेनीका मीनबहादुले पारदर्शिता, कडा परिश्रम र जिम्मेवार भएकै कारण यहाँसम्म आइपुगेको बताए । राज्यलाई पारदर्शी भएर कर तिर्दा पनि निकै झन्झट र अपमान हुने गरेको उनको गूनासो छ ।

‘व्यवसाय गर्न ठाउँ र मन सफा चाहिन्छ, उपभोक्ताप्रति जिम्मेवार हुनुर्पयो, कडा परिश्रम गर्नुपर्यो अनि पारदर्शी हुनुर्पयो,’ उनले भने, ’पत्रकारहरु भाटभटेनीको पैसा दायाँबायाँको हो कि भन्ने प्रश्न गर्छन् । भाटभटेनी पारदर्शिताले चलेको हो ।’

लगानी भित्राउनुस, गाँठो फुकाउँछौं : अर्थमन्त्री गुरूङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले देश नयाँ संरचनामा गए पनि अझैसम्म पुरानै नीतिअनुसार चलेको बताए । तीन तहको सरकार भनिए पनि सरकारहरू कानुन निर्माणको चरणमै रहेकाले कतिपय ठाउँमा नीतिगत समस्या परेको हुनसक्ने उनको भनाइ थियो ।

पर्यटन, कृषि, ऊर्जालाई आर्थिक समृद्धिको आधार मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश लगानीको बातावरण बनाउन तयार रहेको गुरूङले बताए ।

‘हामी कानुन निर्माणकै चरणमा छौं । एउटा विधि र नीति निर्माण भएपछि त्यसैअनुसार सबै चल्ने हो,’ उनले भने, ‘लगानी भित्राउन कहाँ कहाँ नीतिगत समस्या परेको हो । व्यवसायीको सल्लाहमै समस्या हटाएर गाठो फुकाउन तयार छौं ।’

सरकारले नीति बनाउने र त्यही नीतिअनुसार लगानी गर्ने काम व्यवसायीको भएको अर्थमन्त्री गुरूङले बताए । समृद्ध नेपाल निर्माणका निम्ति निजी क्षेत्र साझेदार भएको भन्दै उनले जग्गा प्राप्तिदेखि सबै जटिलता हटाउन प्रदेश सरकार तयार रहेको प्रतिवद्धता जनाए ।

‘समृद्ध नेपालका निम्ति समृद्ध अर्थतन्त्र चाहिन्छ । समृद्ध अर्थतन्त्रका निम्ति पुँजी निर्माण हुनुपर्छ । व्यवसाय र उद्यमबाट त्यो पुँजी निर्माण हुन्छ, उत्पादनसँग गाँसिएर मात्रै राष्ट्रिय पुँजी निर्माण गर्न सकिन्छ’ अर्थमन्त्री गुरूङले भने, ‘उद्यमीले लगानी गर्नुस, हामी सुरक्षाको ग्यारेन्टी गर्छाैं ।’

तस्वीर सौजन्य : राम थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment