११ पुस, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २-० ले पराजित गरेको हो ।
पहिलो हाफमा शेर्पाले आर्मीलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा आर्मीले दुई गोल गरेको हो ।
आर्मीका लागि कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गरे ।
यस सिजनमा दोस्रो जितपछि ३ खेलबाट ६ अंक जोडदै आर्मी तेस्रो स्थानमा उक्लेको छ । पहिलो खेलमा फ्रेण्ड्सलाई पराजित गरेको आर्मी दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।
हिमालयन शेर्पाको भने यो पहिलो हार हो । यसअघि शेर्पाले दुई विभागीय क्लब नेपाल पुलिस र एपिएफसँग बराबरी खेलेको थियो । ३ खेलबाट शेर्पाको २ अंक मात्र छ ।
प्रतिक्रिया 4