Comments Add Comment

कतार जाने भिसासहित हराएको झोला !

सुन्दर भविश्य निर्माण गर्ने उद्देश्यका साथ हजारौं युवाहरु अहिले पनि विदेशिन बाध्य छन् । चाहे त्यो धन कमाउन होस्, चाहे रोजीरोटीको मेलोमेसो गर्न होस्, चाहे छोराछोरीको भविष्य निर्माण गर्ने सोचका साथ होस् । वा, आमाबाबु र परिवारको सुखका लागि नै किन नहोस् ।

यस्तै सुन्दर भविष्यको कल्पना बोकेर विदेशिन काठमाडौं आएका छन्– नाटक ‘झोला हराएको मान्छे’ का मुख्य पात्र २० वर्षे युवा रुद्रप्रसाद पोखरेल ।

जनयुद्धका बेला बुवा गुमाएका रुद्र आमाको मुहारमा खुसी ल्याउन भन्दै साहुबाट ८५ हजार ऋण लिएर भोजपुर गाउँबाट काठमाडौं शहर आइपुग्छन् । उनैको काठमाडौं संघर्षको सरोफेरोमा नाटक केन्द्रित छ ।

नाटकमा रुद्रका बुबाले कम्युनिस्ट आन्दोलनमा धेरै समय योगदान गरेका छन् र उनी जनयुद्धकै क्रममा सहिद भएका छन् ।

गरिब, दुःखीहरुको व्यवस्था ल्याउन भन्दै जनयुद्धका क्रममा रुद्रका बुबाजस्तै हजारौं सहिदहरुले दिएको बलिदानले आएको हो गणतन्त्र । गणतन्त्र आएपछि जनयुद्धमा नेतृत्व गरेकै व्यक्तिहरुले कैयौं पटक सरकारको नेतृत्व र सरकारमा सहभागिता जनाउँदा पनि फेरिएन रुद्र जस्ता सहिद परिवारका दुःख, पीर र व्यथाहरु ।

हिजो जुन वर्गको लागि लडाइ लडेका थिए, आज त्यति वर्गसँग नै बेखर छन् हिजोका जनयुद्धका नायकहरु । हिजोकै समस्या आज पनि जस्ताको त्यस्तै नै छ । र त बाध्य छन् रुद्रजस्ता युवाहरु विदेशिने लाइनमा बस्न ।

हरेक युवाले जस्तै सपनाको सुन्दर भविष्य बोकेर भोजपुर गाउँबाट काठमाडौं शहर आइपुग्छन् रुद्र । कतार जानका लागि भोलिको भिसा रहेको झोला र पैसा राखेकै ठाउँबाट चोरी हुन्छ ।

त्यही झोलाको खोजीमा नै काठमाडौंका विभिन्न ठाउँमा भौतारिन्छन् । झोला भेटिने झिनो आसमा काठमाडौंमा भेटेजतिका मान्छेलाई रुद्रले सोध्छन् ‘तपाईंले मेरो झोला देख्नुभयो ?’ ।

तर, यो स्वार्थी शहरमा कसलाई पो फुर्सद होस् रुद्रको झोलाका बारेमा सोधखोज गर्न । सबैले आ–आफ्नो सपना हराएका छन् यो शहरमा । कोहीले होस हराएका छन्, कोहीले समय । कोहीले श्रीमती हराएका छन्, कोहीले जवानी त कोहीले रोजगार ।

त्यही हराएको भिडको बीचमा रुद्रले पनि झोला हराएका छन् ।

फणीन्द्र कार्कीको मःमलयमा पुगेर काम गर्दै झोलाको खोजी गर्छन् रुद्र । कहिले मःमः पसल त कहिले कपडा पसलमा काम गर्ने रुद्र, कहीँ झोला भेटिन्छ कि भनेर यताउता आँखा पनि डुलाउँछन् । तर, झोला भेटिँदैन । सपनीमा पनि झोलाकै यादले सताउँछ उनलाई ।

उता झोला भने सडकमै बास भएका युवाले चोरेर आफ्नो समूहमा राख्छन् । झोलामा भएका सामानहरुको भाग लगाउँछन् र ८५ हजार पैसाले विभिन्न काम गर्ने भन्दै योजना बनाउँछन् ।

त्यही समूहकी एकजना महिलाले यो झोला जसको हो, उसैलाई दिने निर्णय गर्छिन् । र, रुद्रले देख्ने ठाउँमा लगेर झोला राखिदिन्छिन् । तर, रुद्रले आफ्नो झोला सपना जस्तो देखेर नटिपी त्यतिकै छोडिदिन्छन् ।

झोला हराएको धेरै समय भएपछि अन्ततः रुद्र गाउँमै फर्किने निधो गरेर फणीन्द्र कार्कीसँग बिदा माग्दै गाउँ जान्छन् । गाउँमा पुग्दा रुद्रकी आमाको निधन भएको कुरा गाउँले भाउजूबाट थाहा पाएपछि पागल जस्तै बन्छन् र नाटक सकिन्छ ।

क्याप मोसन पिक्चर्स र एम्प्टी स्ट‍म्याक क्रिएसनको संयुक्त प्रस्तुति रहेको नाटकलाई स्लिम जीवनले लेखेका हुन् भने दीपेन्द्र शाहीले निर्देशन गरेका हुन् । नाटक ‘झोला हराएको मान्छे’ले नेपालको वर्तमान समयलाई चित्रण गर्न खोजेको छ ।

राष्ट्रिय युवा नीति, ०७२ ले नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४०.३ प्रतिशत रहेको उल्लेख गरेको छ । वर्तमान समयमा यो उमेर समूहको जनसंख्या अझै बढेको अनुमान गर्न सकिन्छ । तर, यो उमेर समूह देशमा भन्दा बढी विदेशमा क्रियाशील हुँदा देश विकासमा असर परेको छ ।

सुन्दर सपना बोकेर विदेशिने कैयौं युवा नाटकमा रुद्रको दाइ योगेन्द्रप्रसाद पोखरेल जस्तो काठको बाकसमा स्वदेश फर्किएका छन् । कोहीले दाजुभाइ गुमाएका छन् । कोहीले बुबा गुमाएका छन् । कोहीले श्रीमान गुमाएका छन् त कोहीले बुढेसकालको सहारा गुमाएका छन् । देशले आफ्नो मुहार परिवर्तन गर्न सक्ने युवा जोश र जाँगर गुमाएको छ ।

यस्तो अवस्थामा अझै पनि वैदेशिक रोजगार प्रमुख गन्तव्य बन्नु नेपालीका लागि दुर्भाग्यको कुरा हो । गाउँ नै रित्तिने गरी हजारौंका संख्यामा युवाहरु आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य छन् । बचेका युवाहरु पनि शिक्षा हासिल गर्न वा विभिन्न बाहनामा शहरमै केन्द्रित रहेका छन् । यस्तो अवस्थामा गाउँ नै युवाविहीन जस्तो बनेको छ हिजोआज । यो अवस्थाको अन्त्यका लागि सरकारले आवश्यक पहल अगाडि बढाउन जरुरी छ । स्वदेशमै युवाहरुलाई योग्यता, क्षमता र सीप अनुसारको रोजगारको अवसर प्रदान गर्न सरकार अग्रसर रहनुपर्छ ।

आफ्नै उद्यम, व्यवसाय गरेका युवाहरुलाई उत्प्रेरणा जगाउन सरकारले विभिन्न किसिमका भेदभाव रहित ऋण, राहत तथा अनुदानहरुको पनि व्यवस्था गर्नुपर्छ । युवाले उत्पादन गरेका उपजहरुको सहज बजारीकरण गर्दै स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावनालाई सरकारले आत्मवल दिनुपर्छ । अनि मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय चाहनापूरा गर्न सकिनेछ ।

‘झोला हराएको मान्छे’ नाटकको सन्देश पनि यही नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment