Comments Add Comment

जन्मदिनमा रविनको कमब्याक, लिगमा पुलिसको पहिलो जित

११ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रवार सरस्वती युथ क्लबविरुद्ध कप्तानी गर्ने नेपाल पुलिस क्लबका खेलाडी यसअघिका दुई खेल भन्दा फरक थिए ।

अघिल्लो दुई खेलमा नखेलेका खेलाडीले तेस्रो खेलमा पुलिसको लागि आर्मब्याण्ड लगाएका थिए ।

तर उनी फरक र नौलो खेलाडी भने थिएनन् । उनै दुब्लो ख्याउटे शरीर भएका डिफेण्डर रविन श्रेष्ठ थिए । हो रविन जसले सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिप अन्तर्गतत समह चरणमा भारतविरुद्ध जुमनु राईले गोल गर्दा उत्कृष्ट पास मिलाएका थिए । त्यतिबेला उनी नेपाली टोलीको उत्कृष्ट खेलाडीसमेत चुनिएका थिए ।

पछिल्लो एक वर्ष चोटका कारण रविन मैदान उत्रिएका थिएनन् । तर खेल्ने हुटहुटी भने हटेको थिएन । त्यसैले त लिग मार्फत पुनरागमन गरे । पुलिसको कप्तानी सम्हाले । अनि यो सिजन लिगमा पुलिसलाई पहिलो जित दिलाए । पुलिसको लागि यो महत्वपूर्ण थियो नै स्वयं रविनको लागि पनि शुक्रबार विशेष दिन बन्यो ।

आज उनको जन्मदिन समेत हो । जन्मदिनको दिन लिग मार्फत फुटबलमा पुनरागमन अनि क्लबको कप्तान त्यसपछि पुलिसको जीत र पूरा ९० मिनेट मैदानमा आफ्नो टिमको नेतृत्व गर्दै खेल्नु सायद यो भन्दा खुशी एउटा खेलाडीको लागि अरु केही हुँदैन होला ।

‘धेरैपछि टिममा कमब्याक गर्न पाउँदा एकदमै खुशी छु   क्लब खेलाडी प्रशिक्षक सबैलाई धन्यवाद । प्रशिक्षकले मलाई विश्वास गर्नुभयो ।’  पोष्ट म्याच कन्फ्रेन्समा रविनले भने ‘ओभरअल खेल राम्रो भयो । हामीलाई ३ अंक चाहिएको थियो । त्यसमा सफल भयौं । खुशी छौं ।’

पुलिसका प्रशिक्षक अनन्त थापाले पनि रविनले पुनरागमनका लागि कडा मिहिनेत गरेको र उनको प्रदर्शनबाट खुशी रहेको बताए ।

‘उसले ट्रेनिङमा महिनते गरेको थियो । यसअघि २ खेलमा हामीले रिस्क लिन चाहेनौं । विस्तारै सुधार भइरहेको छ । आज उको प्रदर्शन पनि राम्रो भयो’ थापाले भने ।

गत वर्ष बुटवलमा नकआउट टुर्नामेन्ट खेलेयता रविनले पहिलो पटक फुटबल खेलेका हुन् । त्यसपछि २०१८ कै सेप्टेम्बरमा बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिपको तयारीको क्रममा रविनलाई चोट लागेको थियो ।

‘थाइल्याण्डको यू २३ टिमविरुद्धको मैत्रीपूर्ण खेलमा २०औं मिनेटमा मेरो एसिएल लिगामेन्ट च्यातिएको थियो ।’ रविनले पुरानो दिन सम्झिए ।

त्यसपछि उनलाई एन्फा लगायत सबैले सहयोग गरेको थियो । ‘मेरो कतारमा सर्जरी भयो । त्यसमा मलाई एन्फाले पनि सहयोग गरेको थियो’ रविनले भने ।

शुरुवाती दुई खेलमा जित निकाल्न नसकेको पुलिसले तेस्रो खेलमा आएर जित हात पारेको छ । पहिलो खेलमा हिमालयन शेर्पासंग गोलरहित बराबरी खेलेको पुलिस दोस्रो खेलमा थ्री स्टारसंग १-० ले पराजित भएको थियो । साथै पुलिसले यस लिगमा २२५ मिनेटपछि पहिलो गोल गरेको हो ।

सरस्वती युथ क्लब विरुद्ध पुलिसले दश खेलाडीमा झरेर पनि दोस्रो हाफमा दुई गोल गरेको हो । पहिलो हाफको इन्जुरी टाइममा अन्जन राई रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पुलिसले दोस्रो हाफभरि एक खेलाडी कम रहेर खेलेको थियो । तर त्यसको फाइदा सरस्वतीले उठाउन सकेन ।

पुलिसका प्रशिक्षक अनन्त थापाले पनि त्यसैले फाइदा पुगेको बताए । ‘रेड कार्डले हामी १० खेलाडीमा झर्‍यौं । वान डाउन हुँदा सरस्वतीले दोस्रो हाफमा ३ अंकका लागि खेल्दा हामीलाई फाइदा भयो’ थापाले भने ‘हामीले त्यसपछि काउन्टर अट्याकमा गोल गर्‍यौं । त्यही टर्निङ प्वाइन्ट भयो ।’ उनले आगामी गेम अब राम्रो हुँदै जाने बताए ।

पुलिसका लागि दुवै गोलमा भूमिका रहेको सुमन लामाले पनि आज ३ अंककै लागि खेलेको र त्यसको हकदार रहेको सुनाए ।

सुमनले ४६ औं मिनेटमा रवि पासवानको पासमा पहिलो गोल गरेका थिए भने सुमनकै क्रसमा भोला सिलवालले ७९ औं मिनेटमा पुलिसको दोस्रो गोल गरेका थिए ।

उता सरस्वती युथ क्लबका प्रशिक्षक प्रदीप नेपालले जित्नकै लागि खेले पनि डिफेन्सको गल्तीका कारण गोल खान पुगेको बताए  । ‘खेल राम्रो खेलेको हो । पहिलो हाफमा हाम्रो फ्रिकिक पोलमा लाग्नु दुर्भाग्य भयो’ नेपालले भने ‘पुलिस र हाम्रो अवस्था ५०-५० थियो । हामी जितकै लागि भनेर आएका थियौँ । तर अनी डिफेन्सको गल्तीले गोल खायौं । त्यही नै हारको टर्निङ प्वाइन्ट भयो ।’

प्रशिक्षक नेपालले लिगमा भर्खर ३ खेल सकिएकोले आफ्नो लक्ष्य सुरक्षित भएर आठौं-नवौं स्थानतर लिग टुङ्ग्याउने लक्ष्य रहेको बताए ।

सरस्वतीलाई हराएपछि पुलिसले ३ खेलबाट ४ अंक जोडेको छ र अंक तालिकामा फड्को मार्दै सातौ स्थानमा उक्लेको छ । समान ४ अंक भए पनि पुलिस गोल अन्तरमा थ्री स्टार र एनआरटी भन्दा पछाडि छ भने च्यासल युथ क्लब र संकटा क्लबभन्दा माथि छ ।

उता लगातार तीन खेल हार्दै गोल र अंकविहीन रहेको सरस्वती अन्तिम १४ औं स्थानमा छ । सरस्वतीसंगै फ्रेण्ड्स क्लबले पनि यस सिजन लगातार तीन खेल हारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment