Comments Add Comment

‘म नायिका बन्दिनँ, हामीले अब हेर्ने चश्मा फेर्नुपर्छ’: अनुष्का श्रेष्ठ

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’मा सहभागी भएर फर्किएपछि आम मानिसले उनलाई हेर्ने दृष्टिकोण फेरिएको छ । ‘मिस नेपाल’ जित्दा उनलाई धेरैले सामान्य रुपमा नै सोचेका थिए । तर, ‘मिस वर्ल्ड’मा बलियो प्रस्तुति दिएसँगै उनले जनताको साथ राम्रै पाइन् । अनुष्का अब आफ्नो प्रोजेक्ट नै अगाडि बढाउने तयारीमा छिन् । उनै, अनुष्कासँग ‘मिस वर्ल्ड’बाट फर्किएपछि अनलाइनखबरका लागि ‘विजय आवाज’ले गरेका कुराकानी यहाँ प्रस्तुत गरिएको छः

१. जब, फाइनलका लागि उत्कृष्ट ५ को नाम घोषणा हुँदै थियो । तपाइको मनमा के कुरा खेल्दै थियो ?
म एकदमै शान्त थिएँ । म फाइनल हुनुभन्दा २ दिन अगाडि निकै नै आत्तिएकी थिएँ । पछि सोचेँ कि, आत्तिएको खण्डमा त्यो अनुहारमा देखिन्छ । मैले, म किन यो मञ्चमा आएँ भनेर सोचेँ । मैले उत्कृष्ट ४० बाट अगाडि नबढेको अवस्थामा पनि म उत्तीकै खुशी हुनुपर्छ भनेर आत्मबल बलियो बनाइसकेको थिएँ । उत्कृष्ट ५ मा पर्छु भन्ने आशा त थियो, तर नपर्दा दुःख भने लागेन ।

२. स्टेज पछाडि गएपछि के सोच्नुभयो ?
मैले फाइनल सुरु हुनु अगाडि नै साथीहरुसँग छलफल गरेकी थिएँ । हामीले उत्कृष्ट ४० भन्दा अगाडि जान नसकेपनि खुशी हुनुपर्छ भन्ने सल्लाहा गरिसकेका थियौं । मैले काम गरिरहेको ‘सोल्सिङ गाउँ’ संझिएँ । अहिलेको समयमा मेरो खुशीको स्थान नै यही बनेको छ । उत्कृष्ट १२ बाट बाहिरिएर स्टेज पछाडि गएपछि मलाई कुन दिन गाउँ जाने भन्ने सोच आएको थियो । म निराश भइनँ, किनकी मलाई थाहा थियो कि मबाट कुनै पनि कुरामा कमजोरी भएको छैन ।

हामीले इमान्दारिताका साथ काम गरेका थियौं । मैले नदेखेको मेरो कमजोरी अरु कसैले देख्नुभयो कि भन्ने लागेको थियो । तर, पछि आएर प्रतिक्रियाहरु हेर्दा कसैले पनि नेपालको कमजोरी देख्नुभएको रहनेछ । बोर त लाग्यो, तर दुःख भने लागेन ।

३. ‘मिस वर्ल्ड’मा नगएको भए, तपाइले के मिस गर्नुहुन्थ्यो ?
सबैभन्दा ठूलो कुरा, एउटा सिंगो देशलाई नै प्रतिनिधित्व गर्न पाउने अवसर मैले गुमाउथ्यँ । अहिले जुन स्थान मैले पाएको छु, त्यो पाउने थिइनँ ।

४. के रहेछ त ‘मिस वर्ल्ड’ ?
‘मिस वर्ल्ड त एउटा खुल्लामञ्च जस्तै रहेछ, जहाँ आफूले चाहेको जे पनि गर्न सकिने रहेछ । राष्ट्रको लागि एक जना व्यक्तिले पनि धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने पनि लाग्यो । क्राउन जित्ने कुरा त छदैछ । तर, एक सय भन्दा बढी देशमा आफ्नो देशलाई चिनाउन पाउनु, सबैभन्दा सौभाग्यको कुरा हो ।

५. ‘मिस वर्ल्ड’मा नेपाल के रहेछ ? आयोजकले नेपाललाई कसरी वुझ्दा रहेछन् त ?
केही देशका प्रतिनिधीलाई मैले नेपाल भनेर पक्कै पनि चिनाउनु पर्यो । तर, आयोजकलाई मैले केही पनि वुझाउनु नै परेन । विशेषगरि, आयोजकले नेपाललाई ‘ब्यूटी विथ पर्पस’को लागि आउने देश भनेर चिन्दा रहेछन् ।

६. नेपालले किन ‘ब्यूटी विथ पर्पस’ जित्ने रहेछ ?
सबै देशका प्रतिस्पर्धीले आफ्नो तर्फबाट राम्रो गरेका हुन्छन् नै । हामीले, ‘ब्यूटी विथ पर्पस’ विधाका लागि उत्कृष्ट २० मा पर्न सफल भिडियो हेर्न पाएका थियौ । मलाई सबैको मिहिनेत गज्जब लागेको थियो । तर, मलाई के लाग्यो भने हामीले कुनै पनि कुराको सुरुवात मात्र होइन, अन्त्य पनि सोचेका हुन्छौं । हामीले यही कुरा देखाउन सकेका छौ । हाम्रो मिहिनेत, धैर्यता पनि भिडियोमा देखिएको छ ।

७. तपाइले बेलायत उड्नु अघि निर्णायकलाई नेपाल किन मिस वल्र्ड जित्न सक्दैन भनेर सोच्न नदिने बताउनुभएको थियो ? कहाँ चुक्नु भयो ?
मैले आफ्नो शैलीलाई यसरी नै अगाडि बढाएकी थिएँ । मैले, निर्णायकलाई सोच्नु पर्ने कुनै कारण दिए जस्तो नै लाग्दैनँ । हामीले प्रस्तुति कमजोर भएर नजितेको हुँदै होइन । मैले आयोजकलाई यो प्रश्न सोधेको पनि थिएँ । हाम्रो सत प्रतिशत भन्दा अरुको सत प्रतिशत बढी भएर पो हो कि ?

८. तपाइले बेलायत उड्नुअघि प्रधानमन्त्रीलाई पनि भेट्नु भएको थियो, राष्ट्रबाट केही सहयोग पाउनु भयो कि भएन ?
मलाई प्रधानमन्त्रीज्यूले भन्नुभएको कुराले, धेरै काम गर्यो । उहाँले मलाई भन्नुभएको थियो–‘मेरो हाइट सबैभन्दा राम्रो छ, मेरो रंग सबैभन्दा सुन्दर छ, मेरो आत्मविश्वास अरुको भन्दा बलियो छ’ भनेर सोच्नु भन्नुभएको थियो । मैले यो कुरा धेरै पटक संझिए पनि ।

मलाई राजदुतावासबाट भेट्न बोलाइएको थियो । अरुलाई त राजदुतावास गएपछि कुनै न कुनै समस्या छ भन्ने लाग्दोरहेछ । तर, मैले अरु प्रतिस्पर्धीलाई राजदुतावासबाट भेट्न बोलाउनुभएको थियो भन्दा सबै अचम्ममा परे । यो मेरा लागि गर्वको बिषय थियो ।

९. ‘मिस वर्ल्ड’मा सहभागी हुँदै गर्दा, आम मानिसले अनुष्का श्रेष्ठलाई हेर्ने दृष्टिकोणमा कत्ती फरक आयो भन्ने लाग्छ ?
आएको रहेछ भन्ने मैले थाहा पाएँ । धेरैले, सक्दैन जस्तो लाग्थ्यो, तर सकिन् भनेर प्रतिक्रिया दिनुभएको रहेछ । मैले, पहिले नै भनेकी थिएँ कि काम देखाएपछि नै हो माया पाउने । मलाई जनताले मिस नेपाल भनेर माया दिनुभएको भए म जती खुशी हुन्थेँ, त्यो भन्दा बढी खुशी मलाई नै चिनेर दिनुभयो, यसमा लागेको छ ।

१०. तपाई ‘मिस नेपाल वर्ल्ड’ हुँदा नै यस्तो साथ र हाइप पाइदिएको भए ‘मिस वल्र्ड’लाई अझै सजिलो हुन्थ्यो भन्ने लाग्दैन ?
मैले के नोटिस गरेँ भने, सामाजिक संजालमा एकदमै विभाजन देखियो । नकारात्मक कुरामा हाम्रो ध्यान बढी रहेछ । ‘मिस नेपाल राम्री भएन, यो जातको किन भयो, जिउडाल पनि भएन’ भन्ने जस्ता कमेन्ट मलाई मात्र होइन, अरु बेलामा पनि आउदो रहेछ । हामीले धेरै नकारात्मक चश्माले हेर्ने गरेका रहेछौ । तर, जब म ‘मिस वर्ल्ड’मा गएर नेपालको प्रतिनिधित्व गरेँ, सबैको हेर्ने दृष्टिकोण नै बदलियो ।

सबै, पोजेटिभ हुनुभयो । अब, यो चश्मा फेर्न आवश्यक छ । सकारात्मक चश्माले मलाई सुरुवातदेखि नै हेर्न सकेको भए, मलाई अझै फाइदा हुन्थ्यो । ‘मिस नेपाल’ हुँदै गर्दा नै यस्तो सोच आउन आवश्यक छ । ‘मिस वर्ल्ड’ले सकारात्मक सोचको विकास गरिदिन्छ, सबैलाई एकतामा बाध्छ भने त बर्षमा २ पटक त्यहाँ जान पाएँ हुन्थ्यो भन्ने लाग्यो । नेपालीलाई एकसाथमा ल्याउन यो प्रतिस्पर्धाले सहयोग गर्छ भने त ‘मिस वर्ल्ड’ उत्कृष्ट ठाउँ हो ।

११. के हुन्छ त अनुष्काको अबको बाटो ?
अब, म यो टाइटलको इज्जत राख्न सक्दो कोशिश गर्नेछु । यसपछि, केही प्रोजेक्टमा जोडिन पनि आवश्यक छ । म क्राउन लिएर घरमा राख्न आएकी नै होइन । मेरो आफ्नै प्रोजेक्ट पनि छ । आर्थिक सहयोग पनि जुटाउनुपर्नेछ । यी सबै काममा म व्यस्त हुनेछु ।

१२. अन्त्यमा एउटा स्थायी प्रश्न, धेरै मिस नेपाललाई ग्ल्यामर लाइनमा नै देख्न पाइन्छ, तपाइको सोच यता छ कि छैन ?
धेरै जना ग्ल्यामर लाइनमा हुनुहुन्छ, यो खराब होइन । आफूले जुनसुकै पेशा छान्नुहुन्छ भने त्यो ठिक छ । तर, अभिनय गर्ने, नायिका बन्ने, पर्दामा आउने सोच मेरो विल्कुलै छैन । तपाइहरुले मलाई नायिका बनेको देख्नुहुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment