+
+
Shares

बालबालिकासँग घर-व्यवहारको कुरा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १२:४४

हुन त अचेल अधिकांश बालबालिकाहरु विद्यालयबाट घर फर्किने बित्तिकै कि त मोबाइलमा कि त टेलिभिजनको अघिल्तिर बस्न रुचाउँछन् ।  त्यसको साटो हामीले उनीहरुलाई घरका स-साना काममा व्यस्त बनायौं भने उनीहरुको समग्र व्यक्तित्वमै परिवर्तन आउँछ । यसबाहेक घरका ती साना कामहरुले उनीहरुमा आत्म विश्वास समेत बढ्छ । बालबालिकाहरुलाई घरको काम गराउँदा उनीहरुको रुची अनुसारकै काम दिनु पर्छ । तपाईंले अह्राएको कामलाई उनीहरुले बोझको रुपमा लिनु हुँदैन भन्ने कुरामा सचेत हुनु पर्छ ।

एउटा अध्ययनले के देखाएको छ भने बालबालिकाहरुले घरको काम गर्न क्रममा व्यवहारिक ज्ञानसमेत हासिल गर्छन् । त्यसक्रममा उनीहरुले घर भित्रको तथा घरभन्दा बाहिरको भिन्नतालाई समेत महसुस गर्ने मौका पाउँछन् । त्यसक्रममा उनीहरुले विद्यालयमा नसिकेका कुराहरु समेत घरका स-साना काम गरेर सिक्न सक्छन् ।

विद्यालयमा दिइने गृहकार्य तथा विद्यालयकै पढाइका कारण बालबालिकाहरुलाई एक प्रकारको बोझको अनुभव भैरहेको हुन्छन् । त्यसक्रममा उनीहरु मानसिक रुपले समेत थकित हुन पुग्छन् । उनीहरुको त्यो थकान बढ्दै जाँदा कतिपय बालबालिकाहरु डिप्रेसनको शिकार समेत हुन पुग्छन् । यस्तो अवस्थामा बालबालिकाहरुलाई घरमा उनीहरुलाई नै मन पर्ने खानेकुरा बनाउन लगाएर, ओच्छ्यान मिलाउन लगाएर, कोठा सफा गर्न लगाएर उनीहरुको ध्यान पढाइबाट अन्यत्र मोड्न सकिन्छ । यसो गर्नाले उनीहरु उत्साहित हुनुका साथै उनीहरुमा स्फूर्ती समेत बढ्छ र पुनः अध्ययनका लागि तयार हुन्छन् । यसका साथै ती स-साना कामहरुले उनीहरुको तनाव समेत कम हुन्छ ।

घरका सानातिना काम गर्ने क्रममा बालबालिकाहरुले कुनै कुरा उचित, कुन कुरा अनुचित अथवा कुन कुरा सही, कुन कुरा गलत भन्ने कुराको अन्तर समेत थाहा पाउँछन् । यसका साथै उनीहरुमा तर्क गर्न सक्ने क्षमता पनि बढ्छ । बालबालिकाहरुको जिज्ञासा स्वभाव भएका कारणले उनीहरुले हरेक काम गर्ने क्रममा के, किन, कति, कसरी जस्ता कुरामा समेत ध्यान दिन थाल्छन् ।

बालबालिकाहरुलाई घरका कति कामहरुको जिम्मेवारी नै सुम्पिए पनि फरक पर्दैन । जस्तै साँझ परेपछि घरको झ्यालका सबै पर्दा लगाउने, राती सुत्ने बेलामा घरको ढोका लगाएको छ कि छैन भनेर परिक्षण गर्ने, टेलिभिजन, हिटर आदिको स्विच बन्द गरिएको छ कि छैन भनेर परिक्षण गर्ने जिम्मेवारी पनि बालबालिकाहरुलाई नै दिन सकिन्छ । यसरी उनीहरुलाई कुनै कामको जिम्मेवारी दिइयो भने त्यसलाई उनीहरुले योजना बनाएरै गर्दछन् । यसका साथै उनीहरुले आफ्नो अध्ययनको रुटिन र घरको कामको रुटिनलाई समानान्तर रुपले अघि बढाउन सक्षम हुन्छन् ।

घरका स-साना कामले बालबालिकाहरुलाई अनुशासित समेत बनाउँछ । अनुशासनले गर्दा उनीहरुले अध्ययन, खेलकुद, खानपिनदेखि घरका काम समेत सहजै सम्पन्न गर्न सक्छन् । अध्ययन, खेलकुद, खानपिन तथा घरको कामलाई अनुशासित भएर गरियो भने त्यसले उनीहरुलाई पछि सम्म पनि काम लाग्छ ।

घरको काम गराउने भन्ने बित्तिकै बालबालिकाहरुलाई जथाभावि कामहरु समेत गराउनु हुँदैन । बालबालिकाहरुलाई त्यसरी काममा व्यस्त गराउँदा एकातिर फाइदा त हुन्छ, अर्कोतिर वेफाइदा समेत भैरहेको हुन्छ । त्यसतर्फ अभिभावकले केही कुराहरुमा ध्यान समेत दिनु पर्छ । उनीहरुको रोजाई विपरितको कामलाई जबर्जस्ती लगाउने गल्ति कहिले पनि गर्नु हुँदैन । बालबालिकाको सोचाइलाई नकारात्मकता प्रदान गर्ने शैलीका कामहरु कहिले पनि लगाउनु हुँदैन । आफ्ना छोरा-छोरीलाई घरको काम लगाउँदा अभिभावकले ध्यान दिनु पर्ने केही कुराहरु :

-बालबालिकाहरुले गर्ने काम शत प्रतिशत सही हुन्छ भन्ने हुँदैन । त्यसैले उनीहरुबाट शत प्रतिशत उत्कृष्टताको अपेक्षा गर्नु हुँदैन । उनीहरुलाई उनीहरुकै उमेर अनुसारको, स्वभाव अनुसारको काम दिनु पर्छ, ताकि उनीहरुले ती कामहरु हाँसी-खुशी, कुनै खेल खेलेको जस्तो गरी गर्न सकून । केही गाह्रो काम गर्न उनीहरुलाई मन नलाग्न सक्छ । उनीहरुले एक पटक कुनै काम गर्ने क्रममा बिगारे पनि त्यसप्रति तत्काल आलोचना गर्नु हुँदैन ।

-बालबालिकाहरुले गरेका हरेक साना-ठूला कामको अभिभावकले प्रशंसा गरिदिनु पर्छ । यसो गर्दा उनीहरु खुशी हुन्छन् । स्याबास भन्नलाई ढिला गर्नु हुँदैन । उनीहरुले आफूलाई दिइएको काम पुरा गर्ने बित्तिकै प्रशंसा गरियोस् भन्ने चाहना राख्छन् । त्यसैले अभिभावकहरुले उनीहरुको चाहना बुझिदिनु पर्छ ।

-बालबालिकाहरुलाई प्रेमपूर्वक कुनै पनि काममा सहभागि गराउनु पर्छ । हामीलाई सहयोग गर भन्नुका साटो हामीलाई तिम्रो सहयोग चाहिएको छ भनियो भने उनीहरु सहजै काम गर्न तयार हुन्छन् । मायालु शैलीमा उनीहरुलाई काम गर्न लगाउनु भयो भने त्यो कामप्रति उनीहरुको रुची स्वतः बढ्नेछ ।

-बालबालिकाहरुलाई उनीहरुको उमेर, क्षमता तथा सामथ्र्य अनुसारकै काम अहृाउनु पर्छ ।

-हुन त कुनै पनि बालबालिकालाई एक-अर्कासंग तुलना गर्नु हुँदैन । अध्ययन तथा व्यक्तित्वका बारेमा त तुलना गर्नै हुँदैन । यसबाहेक उनीहरु काम गर्ने शैली, योग्ता तथा क्षमताको समेत तुलना गर्नु हुँदैन । हरेक बालबालिकाको आ-आफ्नै पृथक शैली, क्ष्ँमता तथा सामथ्र्य हुन्न भन्ने कुरा बिर्सनु हुँदैन ।

-सोझै कोठा सफा गर भन्नुको साटो पुस्तकहरुलाई र्‍याकमा मिलाएर राख, दराजको लुगा पट्याएर राख, खेलानाहरुलाई एउटा बासकमा राख भनेर प्रेमपूर्वक काम अहृाउनु भयो भने उनीहरुले त्यही क्रममा पुरै कोठा नै सफा गरिदिन्छन् ।

-कहिलेकाहिं अभिभावकले काम गरेको देखेर पनि बालबालिकाहरु काम गर्न अग्रसर हुन्छन् । त्यसैले उनीहरुलाई सिकाउने हिसाबले समेत काम गर्नु पर्छ । बिस्तार उनीहरुले एक्लै काम गर्न थाल्नेछन् ।

-कहिलेकाहिं राम्रो काम गरेकोमा पुरस्कृत समेत गरिदिनु पर्छ । उनीहरुलाई राम्रो कलमको आवश्यकता परेको हुनसक्छ, अथवा राम्रो डायरी नै चाहिएको हुन सक्छ । उनीहरुले गरेको कामबाट खुशी भएर त्यस्ता चिजहरु किनिदिनाले उनीहरु घरको काम समेत मन लगाएर गर्न थाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?