Comments Add Comment

रुपन्देहीको अमुवामा माछा महोत्सव

१५ पुस, बुटवल । माछाको व्यावसायिक प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले रूपन्देहीमा पहिलोपटक वृहतस्तरको मत्स्य, कृषि तथा माघी महोत्सव हुने भएको छ ।

रुपन्देही माछाका लागि उर्वर ठाउँ रहेको, यहाँका चारवटा गाउँपालिकामा माछा सुपरजोन कार्यक्रम लागू भएकाले यसको बजार बिस्तार गर्न र कृषि क्षेत्रकै विकासमा योगदान पुर्‍याउन महोत्सव आयोजना गरिएको हो ।

नेपाल मत्स्य व्यवसायी संघ रुपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देही, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैंडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा अमुवामा पुस २६ देखि माघ १ गतेसम्म महोत्सव हुन लागेको हो ।

मत्स्य महोत्सव रुपन्देहीमा मात्र नभई राष्ट्रियस्तरमै पहिलोपटक हुन लागेको नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए ।

महोत्सवमा मत्स्य तथा कृषिका कम्तीमा पनि ३६ वटा स्टल रहने भुसालले बताए । माछाले उचित बजार पाउन नसकेको अवस्थामा महोत्सवमार्फत माछाको बजार बिस्तारका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउन गाउंमै महोत्सव आयोजना गरिएको भुसालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका सञ्चालक समिति संयोजक गणेश शाहीका अनुसार महोत्सवमा माछामा अधारित स्टलहरु रहने र सर्वसाधारणका लागि प्रवेश निःशुल्क हुनेछ ।

रुपन्देहीको उत्पादनले माछामा मुलुकलाई नै आत्मनिर्भर बनाउन सकिने र भारतमा समेत माछा निर्यात गर्न सकिने संभावना रहेकाले किसानलाई यसतर्फ प्रोत्साहन गर्नका लागि पनि माछा महोत्सव आयोजना गरिएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका प्रमुख मकबुल अलिले माछा महोत्सवले किसानलाई उत्साह जगाउने र नीति निर्मातालाई पनि राम्रो सन्देश दिने भन्दै उत्पादन वृद्धि गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैसवालले महोत्सवमा माछाका अतिरिक्त कृषि उपकरणहरुलाई समेत प्राथमिकता दिइएको जानकारी दिए । सियारी, मायादेवी, शुद्धोधन र गैडहवा गरी चारवटा गाउँपालिकामा सञ्चालित माछा सुपरजोनमा वार्षिक एक अर्व रुपियाँ बराबरको माछा उत्पादन हुने गरेको छ । जिल्लामा रहेका ५० वटा ज्यूँदो माछा पसल मध्ये सुपरजोनमा मात्रै १६ वटा रहेका छन् ।

जिल्लामा कुल ११ सय ७५ हेक्टर क्षेत्रफलमा माछा पालन हुने गरेको छ भने पाँचहजार आठसय ६० मेट्रिकटन वार्षिक माछा उत्पादन हुने गरेको छ ।

प्रदेशसभा सदस्य तुलसी चौधरीले माछाको सुपरजोन भविष्यमा राम्रो संभावना बोकेको क्षेत्र भएकाले गुणस्तर वृद्धि गर्न र उत्पादन बढाउनतर्फ किसानहरुलाई प्रेरित गर्नुपर्ने बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले माछा महोत्सव नेपाल पर्यटन वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सार्थक हुने भन्दै लुम्बिनी आएका बाह्य पर्यटकले सियारीमा हुने माछा महोत्सवको अवलोकन गरेर माछाका परिकारको स्वाद लिनुका साथै विभिन्न जातजातीका संस्कृतिको अवलोकन गर्न सक्ने बताए ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले जिल्लामा सञ्चालित माछा सुपरजोन क्षेत्रभित्र माछाका परिकार पाइने ठूलाठूला रिसोर्ट रहेकाले लुम्बिनी आउने पर्यटकलाई माछा महोत्सवमा पनि ल्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment