Comments Add Comment

पोखरामा च्यु ल्होसारको खुसियाली (फोटो फिचर)

१५ पुस, पोखरा । पोखरेली गुरुङ समुदायले आफ्नो ठूलो पर्व ‘तमु ल्होसार/ल्होछार’ मंगलबार भव्य तरिकाले मनाएका छन् । गुरुङ समुदाय अन्तर्गतको मृग वर्गलाई बिदाइ र मुसा वर्गलाई स्वागत गर्दै उनीहरुले ल्होछार मनाएका हुन् ।

गुरुङ परम्पराअनुसार ‘ल्हो’को अर्थ वर्ष र ‘छार/सार’को अर्थ फेरिनु भन्ने हुन्छ । त्यसै अनुसार ल्होछार/ल्होसार भनिएको हो । मुसा वर्ग सुरु भएकाले गुरुङ समुदायले मुसा अर्थात च्युल्हो समेत भन्ने गरिन्छ । च्युको अर्थ मुसा हुन्छ ।

गुरुङ समुदायले आफ्ना वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गर्दै आएका छन् । सोही परम्पराअनुसार जन्मिने व्यक्तिको समेत वर्ग निर्धारण हुने र नामाकरण हुने परम्परा छ । गुरुङ समुदायको १२ वर्ष/वर्गमा बाघ, बिरालो, मुसा, सुगा, सर्प, कुकुर, घोडा, मृग लगायत १२ जनावरको नामबाट नामाकरण गरिएको छ ।

पोखरामा बसोबास गर्ने विभिन्न ठाउँका गुरुङले समेत आआफ्नो परम्पराअनुसार ल्होसार/छार मनाएका छन् । कुनै समुदायले गुम्बामा गएर पूजाआजा गरी मनाए भने कुनै समुदायले आआफ्ना समाजघरमा हर्षोल्लासका साथ मनाए ।

पोखराको तमु प्ये ल्हु संघमा विविध साँस्कृतिक कार्यक्रम गरी तमु ल्होछार मनाइएको छ । बुधबारसम्म चल्ने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले गरिन् ।

कार्यक्रममा मन्त्री मगरले प्रदेशमा २ भाषालाई कामकाजी भाषा बनाउने निर्णय भइसकेको बताइन् । उनले गण्डकी प्रदेश जनजातिको पहिचानका विषयमा गम्भीर रहेको र त्यहीअनुसार योजना अघि सारेको सुनाइन् ।

उनले भनिन्, ‘प्रदेश सरकारले मातृभाषा पढाउने स्कुललाई अनुदान दिने निर्णय पनि गरिसकेको छ । अब चाँडै भाषा स्कुल पनि स्थापना होस् ।’ बुधबार पोखरा आसपासका सम्पूर्ण गुरुङ जाति एकै ठाउँमा जम्मा भएर ल्होछार मनाउनेछन् ।

गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशलेमात्रै ल्होछारमा विदा दिएको छ । सरकारले अन्य ठाउँमा विदा नदिएका कारण गुरुङ समुदायले केही दिनअघि प्रदर्शन गरेका थिए । ल्होछारलाई पनि राष्ट्रिय पर्व घोषणा गर्न उनीहरुले माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment