Comments Add Comment

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद चौथोपटक थपिँदै

१५ पुस, बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि चौथो पटक थपिने भएको छ ।

तेस्रो पटक थपिएको अवधि ३१ डिसेम्बर २०१९ अर्थातः आजै सकिएको छ । तर निर्माण कार्य सकिएको छैन ।

निर्माण कम्पनीबाट धमाधम काम भइरहेको र काम अन्तिम चरणमा रहेकाले म्याद थप्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आयोजनाको अवधि थप्न एसियाली विकास बैंक पनि सहमत छ भने ‘साइट कार्यालय’ले पनि सिफारिस गरेको छ ।

अब तीन महिनामा आयोजनाको बाँकी काम पूरा हुने निर्माण कम्पनीले बताएको छ ।

आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार अहिलेसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ८५ प्रतिशत भइसकेको छ । खासगरी भौतिक संरचना निर्माणको काम सम्पन्न गरेर सञ्चार उपकरणसहित इन्टेरियरको काम भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गौतमबुद्ध विमानस्थलको सञ्चालनका लागि प्राधिकरणबाट गर्नुपर्ने कामको प्राथमिकीकरण गरी कार्यायोजनासहित अगाडि बढाउन अहिले कार्यदल गठन गरिएको छ । सो कार्यदलले निर्माण सम्पन्न हुनासाथ सञ्चालनको वातावरण बनाउनेछ ।

अर्को तीन महिनाभित्र पूर्ण सञ्चालन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि तीन महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढाएको बताएका छन्  । अनलाइनखबरसँगको कुराकानीका क्रममा मन्त्री भट्टराईले यो आयोजना सरकारको तयारी भन्दा तीन महिना पछि धकेलिएको स्वीकार गरे ।

उनका अनुसार तीन महिनाभित्र भौतिक निर्माणको काम सकिने छ । त्यसको तीन महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना सरकारले बनाएको छ ।

चीनको निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले यो विमानस्थल गरिरहेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार अहिले निर्माण सामग्री, आर्थिक समस्याजस्ता कारणबाट आयोजनाको काम प्रभावित हुने अवस्था छैन ।

यो आयोजना डिसेम्बर २०१७ मै सकिनुपर्ने थियो । तर मुख्य निर्माण कम्पनी र स्थानीय निर्माण कम्पनीका बीचमा उत्पन्न विवादले लामो समय निर्माणको काम प्रभावित भएको थियो । त्यसपछि आयोजनामा ऋण लगानी गरेको एसियाली विकास बैंकले आयोजनाबाट हात झिक्ने चेतावनी समेत दिएको थियो ।

तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहलमा एसियाली विकास बैंक, मुख्य निर्माण कम्पनी र स्थानीय स्तरमा रहेका समस्या समाधान गरी पुनः आयोजनालाई गति दिइएको थियो ।

यो आयोजनाका निर्माण अवधि पहिलो पटक २०१८ जनवरी १८ देखि १५ जुन १५ सम्म थपिएको थियो । त्यसपछि दोस्रो पटक २०१८ जुन १५ देखि जुन २८(२०१९) सम्म थपियो । तेस्रो पटक २८ जुन २०१९ देखि ३१ डिसेम्बर सम्मको लागि म्याद लम्ब्याइएको थियो ।

अब के छ बाँकी ?

अहिले टर्मिनल भवन अगाडि ट्याक्सी पार्किङ, प्रवेशद्वार फिनिसिङ काम भइरहेको छ । विद्युतीय र सूचनाका उपकरण जडान गर्न बाँकी छ । उपकरण जडानको काम पुरा भएपछि एकैपटक शतप्रतिशत प्रगति हुने आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

परियोजनाको सञ्चार विद्युत उपकरणतर्फका प्रोजेक्ट म्यानेजर प्रवीण न्यौपानेका अनुसार विद्युतीय, सूचना एवं मौसमसम्बन्धी उपकरण केही काठमाडौं विमानस्थलको भन्सारमा आइसकेका छन् । कतिपय सामान कोलकाता बन्दरगाहमा छन् ।

‘लिफ्ट’लगायत उपकरण मद्रासबाट आउने क्रममा छ । अबको एक महिनाभित्र सबै उपकरण भैरहवा आइसक्नेछन् । दुई महिनाभित्र उपकरण जडानको काम सकिने भएको छ ।

अप्रिल २०२० सम्म कम्तीमा परीक्षण उडान गर्न सकिने सम्भावना रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म टर्मिनल भवन (आगमन र प्रस्थान) तयार भइसकेको छ । प्रशासनिक भवन, टावर ट्याक्सी वे, एप्रोन निर्माणको काम पनि सकिएको छ ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनिया कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले पहिलो चरणमा ६ अर्ब ८२ करोड र दोस्रो चरणको काम पूरा गर्न ५० करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

पहिलो चरणमा भौतिक संरचना निर्माण र दोस्रो चरणमा विद्युतीय तथा संचार उपकरण जडानको काम रहेको हो । यो विमानस्थल निर्माणको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment