Comments Add Comment

हारपछि संकटाका प्रशिक्षकले भने : पुलिससंगको खेल सबैभन्दा खराब

१६ पुस, काठमाडौं । गत सिजन ए डिभिजन लिगको उपविजेता बनेको संकटा क्लबले यो सिजनमा चारमध्ये दुई खेलमा हार ब्यहोरिसकेको छ । बुधबार संकटा विभागीय टोली नेपाल पुलिससंग २-१ ले पराजित भयो ।

पुलिससंग हारेपछि संकटाका प्रशिक्षक विजय महर्जनले यो खेललाई सबैभन्दा खराब भनेका छन् । ‘आज अनएक्सपेक्टेड खेल भयो । यस्तो खेल्छ भनेर सोचेको पनि थिइनँ’ महर्जनले खेलपछि पत्रकारसँग भने ‘अहिलेसम्म खेलेको चार खेलमध्ये यो खराब खेल रह्यो ।’

प्रशिक्षक महर्जनले जित्नैपर्ने दबावले खेलाडीलाई दबाव बढेको बताए । ‘खेलाडीले पनि आज मेन्टल्ली प्रेसर लियो जस्तो लाग्यो । किनकी हामीलाई जसरी पनि नतिजा चाहिएको थियो’ उनले भने ।

महर्जनले पुलिसले आज राम्रो खेलेको बताए । संकटाले गोलको अवसर पाए पनि सदुपयोग गर्न नसकेको उनको भनाइ छ । उनले आजको नतिजापछि टिममा अझै प्रेसर बढेको बताए । ‘अबका खेलहरु जित्नैपर्ने प्रेसर टिममा परेको छ ।’

संकटाले पुलिस विरुद्ध भारतीय खेलाडी प्रल्हाद रोयलाई खेलाएको थियो । जारी लिगमा उनको यो पहिलो खेल हो । रोयको पहिलो खेल भएकोले उनको खेल ठिकै भएको प्रशिक्षक महर्जनले सुनाए । उनलाई संकटाले विदेशी खेलाडी अन्तर्गत दक्षिण एसियाली कोटामा खेलाएको हो ।

संकटाले रोयसंगै विदेशी खेलाडी एर्नेस्ट थम्पी, पिएरे जिन मारी र अजय मार्टिन्न कोयोडेलाई खेलाएको थियो । तर जिन मारीको प्रदर्शनबाट भने प्रशिक्षक विजय महर्जन सन्तुष्ट हुन सकेनन् । दोस्रो हाफको नवौँ मिनेटमा प्रशिक्षकले जिन मारीलाई दिपेश आले मगरबाट रिप्लेस गराएका थिए ।

उनको प्रदर्शनबाट सन्तुष्ट हुन नसकेको र आगामी दिनमा अब उनले कम अवसर पाउने प्रशिक्षक महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment