Comments Add Comment

प्रधानमन्त्रीमा टिक्न होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु : ओली

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको बताएका छन् ।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए ।

त्यसबेला आफूले भेटेको मानिसमध्ये गुरुहरु नै ठूलो र जानकार मान्छे भएकाले आफूले गुरुजस्तै पढेलेको मास्टर बन्न लक्ष्य प्रधानमन्त्री ओलीले सुनाए । उनले भने, ‘हुँदै जाँदा मैले समाजमा अनुचित कुराहरु देखेँ । त्यसलाई ठीक बनाउन संघर्ष गर्नु पर्नेरहेछ, परिर्वतनका लागि आन्दोलनमा लाग्नु पर्नेरहेछ भन्ने बुझेँ ।’

पञ्चायती तानाशाहविरुद्ध लड्दा मर्न परे मर्छु, जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको उनले सुनाए । ‘उद्देश्यहरु वैयक्तिक हुँदैनथे त्यसबेला । मेरा पनि थिएन । मेरा उद्देश्य निरंकुशतन्त्र ढाल्ने, देशमा लोकतन्त्र ल्याउने भन्ने थियो । प्रधानमन्त्री भन्ने कल्पना पनि थिएन’ उनले भने ।

जेलमा अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भने विपरीत सपना देख्नु मुर्खतापूर्ण हुने उनले बताए । व्यवस्था परिर्वतन भएपछि पनि आफ्नो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्नेमा रहेको उनले सुनाए ।

तर आफू सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment