Comments Add Comment

प्रतिबन्धमा परेपछि धेरै रोएँ : सन्तोष तामाङ

काठमाडौं । जब ७९औं मिनेटमा सन्तोष तामाङले थ्रीस्टार क्लबविरुद्ध फ्रिकिकबाट सिधै गोल गरे, तब दुवै कानमा औँलो छिराएर सेलेब्रेसन गरे ।

मैदानको बायाँ भागबाट उनले प्रहार गरेको बल दोस्रो बारमा गोल भयो । थ्री स्टारका गोलकिपर प्रिसोले रोक्ने प्रयास गरेपनि हातमा लागेर बल गोल भयो । त्यसपछि त्रिभुवन आर्मीका सन्तोषले सेलेब्रेसन गरे ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले थ्री स्टारलाई पराजित गर्दा दोस्रो गोल सन्तोषले गरेका थिए । थ्री स्टारका अशोक खवासले आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीलाई फाउल गरेपछि आर्मीले फ्रिकिक पायो र त्यसैमा सन्तोषले गोल गरेका हुन् ।

त्यसअघि नवयुग श्रेष्ठले एक्रोब्याटिक शैलीमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीको जितमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष तामाङ नै खेलको म्यान अफ दि म्याच घोषित भए । सिधा भएको यति नै भयो ।

तर यसमा अर्को कथा पनि जोडिएको छ ।

सन्तोषको सलेब्रेसन भिन्न यसकारण थियो कि उनी लामो पर्खाईपछि मैदान फर्किएका थिए । अनुशासन उल्लघंन गरेकोमा कारबाहीमा परेका थिए ।

भएको के थियो भने कात्तिक ३० गते विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेल खेल्न भुटान जानु अघिल्लो दिन सन्तोषसहित चार खेलाडी नाइट क्लबमा गएका तिए । त्यहीका कारण एन्फाले चार खेलाडीलाई टिमसँग भुटान पठाएन । सन्तोषसहित विमल घर्ती मगर, अन्जन विष्ट अनि दिशेन राजवंशीलाई एन्फाको अनुशासन समितिले कारवाही गर्‍यो ।

चारै खेलाडी राष्ट्रिय टिमका सदस्य थिए । सन्तोषबाहेक तीन खेलाडीले घरमै भएको १३औं साग समेत गुमाए । नेपालको यू २३ टिममा रहेपनि त्यही कारवाहीका कारण तीन खेलाडीले सागमा खेल्न पाएनन् ।

प्रतिवन्धबाट फुकुवा पाउने पहिलो खेलाडी सन्तोष बने । एन्फाको अनुशासन समितिले सन्तोष र अन्जनलाई ४५ तथा विमल र दिनेशलाई ९० दिनको प्रतिवन्ध सहित ५० हजार जरिवाना समेत सुनाएको थियो । नोभेम्बर १६ देखि शुरु भएको प्रतिबन्ध अवधी समाप्त भएपछि सन्तोषले शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारविरुद्ध खेलेका हुन् ।

कारबाहीपछि मैदान फर्केको भएर पनि होला सन्तोषमा छुट्टै जोश र उर्जा थियो । उनले त्यही अनुसारको प्रदर्शन गरे । अनी अवसर पाउँदा गोल समेत गरे ।

‘कखासमा फिलिप काउटिन्होले यस्तै सेलेब्रेसन गर्छन्, मैले त्यही मलाई मनपर्छ’ गोल सेलिब्रेसनबारे उनले भने, ‘कहिले खेलमा फर्किन पाउँला भनेर कुरिरहेको थिएँ । त्यसैले आई एम ब्याक भन्ने सन्देश पनि दिन चाहेको हुँ ।’

यो डेढ महिना पक्कै सन्तोषको लागि सजिलो दिन थिएन । फुटबल खेल्न नपाउने अनी प्रतिवन्धमा परेको भन्दा कसलाई दुःख लाग्दैन र ! उनलाई पनि त्यस्तै भएको थियो । ‘यो बेला नरोएको भन्ने दिन नै थिएन’ सन्तोषले भने ।

‘टिमसँग जान पनि पाइन । गिल्टी फिल गरेँ’ २०७२ सालदेखि आर्मीमा खेल्न थालेका सन्तोष भन्छन्, ‘लिगमा पनि शुरुमा खेल्न पाइनँ । मैले यसबाट धेरै पाठ सिकेँ ।’

नाइट क्लबमा जाने बेला आफूले यस्तो परिणाम आउला भनेर नसोचेको समेत बताए । सन्तोष भन्छन्, ‘कहिले ग्राउण्डमा पुगेर खेलम जस्तो भइरहेको थियो । सायद त्यही भएर होला उनले मौकाको राम्रैसँग सदुपयोग गरे । मैले गोलकिपरको पोजिसन हेरेरै सेकेण्ड बारमा हानेको थिएँ ।’

प्रतिबन्धमा परेका चार मध्ये अर्का खेलाडी अन्जन विष्टको पनि प्रतिवन्ध सकिएको छ । मनाङ मर्स्याङदी क्लबका उनले मछिन्द्र क्लबविरुद्ध आगामी शनिवार हुने खेलमार्फत फुटबलमा पुनरागमन गर्नेछन् । विमल अहिले कुनै क्लबमा आवद्ध छैनन् । डिफेण्डर दिनेश राजवंशी भने च्यासल युथ क्लबमा अनुबन्ध भएका छन्, तर लिग खेल्न अझै डेढ महिना कुर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment