Comments Add Comment

नेपाली फिल्ममा स्टार नायिकाः निरुता र रेखापछि को ?

चलचित्र ‘हिरो’बाट रजतपटमा प्रवेश गर्दै गर्दा नायिका रेखा थापाले जर्बजस्त स्टारडम बनाउँछिन् भन्ने कमैले मात्र सोचेका थिए । तर, नायिका थापाको स्टारडम चलचित्र क्षेत्रमा लोभलाग्दो तरिकाले अगाडि बढ्यो । नेपाली चलचित्रमा नायिकाहरुको स्टारपावर निकै कमजोर छ । विशेषगरि, नायिकाहरु चर्चामा रहेपनि चलचित्र चलाउनमै उनीहरुको हात भने निकै कम देखिन्छ । तर, रेखाले भने यो कुरा तोडेकी थिइन् ।

रेखा थापाका अधिकांश चलचित्रले बक्स अफिसमा तहल्का मच्चाए । निर्माता छविराज ओझाको ब्यानरका चलचित्र हुन् या रेखा आफैले निर्माण गरेका चलचित्र नै किन नहुन्, बक्स अफिसमा चम्किए । रेखाको नाममा नै चलचित्र विक्यो ।

रेखाको चलचित्रमा काम गरेका आर्यन सिग्देल, जीवन लुइटेल हुन् या विराज भट्ट नै किन नहुन्, सबै रेखाको अघि ओझेलमा नै परे । चलचित्र क्षेत्रमा रेखा खेलेको चलचित्रमा नायकको काम हुँदैन पनि भनिन्थ्यो । यसैले, पनि रेखा थापाको लफडा त्यो बेलामा नाम चलेका नायक निखिल उप्रेती, विराज भट्टदेखि आर्यन सिग्देलसम्म पर्यो ।

रेखा थापाले नायिका निरुता सिंहको दबदबा तोडेकी थिइन् । निरुता सिंहको रोनाधोनामै दर्शक रमाएका थिए । निरुताकै नाममा पनि चलचित्रले लोभलाग्दो व्यापार गर्थे । निरुता सिंहले अभिनय गरेका थुप्रै चलचित्रले सय दिनको व्यापार गरेका छन् । निरुताले आफ्नो समयमा त्यो बेलामा चलेका नायकहरु बराबरको पारिश्रमिक लिने गर्थिन् ।

हुनत, निरुता रेखाअघि पनि थुप्रै नायिकाहरुले चलचित्र क्षेत्रमा क्रेज नबनाएका होइनन् । तर, चलचित्र आफ्नै नाममा चलाउने हकमा भने धेरै नायिकाहरु सफल भएनन् । विपना थापा, जल शाह, कृष्टी मैनाली, पूजा चन्द, झरना थापा लगायतका नायिकाको क्रेज पनि चलचित्र क्षेत्रमा नभएको भने होइन ।

रेखा थापापछि उदाएका नायिकामा प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, स्वस्तिमा खड्का लगायतका नायिका पर्छन् । तर, अधिकांश नायिकाले आफ्नै नाममा चलचित्र चलाउने क्षमता भने राख्न सकेका छैनन् ।

प्रियंका कार्कीले करिब आधा दशक चलचित्र क्षेत्रमा नम्बर १ को स्थान जमाइन् । तर, प्रियंकाको चर्चा जती चलचित्रको पर्दा बाहिर भयो, चलचित्रमा भएन । न त उनको कामको नै भयो, न त उनको स्टारडमको नै । प्रियंका चलचित्र क्षेत्रमा गसिप क्विन मात्र बनिन् । यसैले, उनको चर्चा जसरी चुलियो त्यसरी नै सेलाउँदै पनि छ ।

यसपछि, जन्मिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि स्टारडम धान्न मुश्किल परिरहेको छ । ‘ड्रिम्स र ए मेरो हजुर २’ चलेपछि चम्किएकी साम्राज्ञी यसपछि भने निरन्तर ओरालो लागिरहेकी छिन् ।

नेपालमा यसैपनि नायिका केन्द्रित चलचित्र कम बन्छन् । यसमाथि, नायिकाहरु सामाजिक संजालमा हिट चलचित्रमा असफल हुँदा दर्शकको नजरमा पनि पर्न सकेका छैनन् । प्लस टू जेनेरेशनबाट अहिलेको यूवापुस्ता बाहिर जान सकेको छैन । निरुता सिंह, रेखा थापाको नाम गाउँका कुना–कुनामा अहिले पनि सुनिन्छन् । तर, यसपछि उदाएका नायिकाहरु केही शहरका कुनामा मात्र सिमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment