Comments Add Comment

ऋणमा डुबेका उखु किसानको गाउँ महिनाथपुर

१८ पुस, धनकौल (सर्लाही) । धनकौल गाउँपालिका वडा नम्बर ३ महिनाथपुरका रामदेवप्रसाद साहले दुई वर्षअघि १० लाख रुपैयाँ ऋण लिए । ७ लाख ‘द सहारा को–अपरेटिभबाट १८ प्रतिशत व्याजमा र ३ लाख गाउँकै साहूबाट ३६ प्रतिशत ब्याजमा । सहारा को–अपरेटिभमा जग्गा धितो राखेका उनले साहुसँग भने कागज गरेका थिए ।

ऋण लिएको रकममध्ये ८ लाख खर्च गरी छोरीको बिहे गरे । बाँकी रकममध्ये केही दिन घर खर्च चलाए र उखु खेती गरे । उखु चिनी उद्योगमा बेच्ने र ऋण तिर्ने उनको योजना थियो । उनले उखु पनि उब्जाए र अन्नपूर्ण चिनी उद्योगमा पु¥याए । एक पटक होइन, लगातार दुई वर्ष उनले आफूले उत्पादन गरेको उखु धनकौल गाउँपालिका ४ स्थित चिनी उद्योगमा पु¥याए ।

तर उनले रकम पाएका छैनन् । २०७४ र २०७५ सालमा बेचेको उखुको मूल्य नपाएका कारण उनले ऋण तिर्न सकेका छैनन् । ‘ऋणको व्याज नै दुई लाखभन्दा बढी भइसकेको छ,’ उनले भने, ‘गाउँका साहुले फिर्ता गर्न टर्चर गरिरहेका छन् ।’

परिवार पाल्न पनि समस्या छ उनलाई । ‘के खानु, छोराछोरीलाई कसरी पढाउनु ?’ उनले दुःख सुनाए ।

यो पनि पढ्नुहोस ‘सरकार हामीलाई चिनी ‘तितो’ भयो !’

महिनाथपुरकै नागेश्वर सहनीले २ वर्षअघि गाउँकै साहुबाट ऋण लिएका थिए, उखु खेती गर्न र घर खर्च चलाउन । रामदेवझैं उनले पनि उखु बेचेर आउने रकमले ऋण तिर्ने सोचेका रहेछन् । उनले पनि अन्नपूर्ण मिललाई उखु त बेचे तर भुक्तानी पाएनन् । ‘बेचेको उखुको भुक्तानी आएको छैन । लिएको ऋणकै व्याज एक लाखभन्दा बढी भइसकेको छ,’ उनले भने, ‘तीन प्रतिशत व्याजदरमा लिएको ऋण पनि अहिले टाउको दुःखाइ बनेको छ ।’

रामदेव र नागेश्वर मात्र होइन, महिनाथपुर गाउँका हरेक परिवार ऋणमा डुबेका छन् । रामसागर महतो, जयनारायण महतो, रामदेव महतो, सुजित कुमार कुसवाहा, शेख समीम, रामदेव साह, रामेश्वर रायसहित गाउँका हरेकजसो परिवार ऋणमा भएको सुनाउँछन् स्थानीय संजीव सिंह । कसैले साहुसँग त कसैले जग्गा धितो राखेर बैंक वा सहकारीबाट ऋण लिएका छन् । सिंह भन्छन्, ‘गाउँमा यस्तो कुनै व्यक्ति छैन, जसले ऋण नलिएको होस् ।’

चिनी मिलले समयमै उखुको भुक्तानी दिएको भए उनीहरुले ऋण तिरिसकेका हुन्थे । तर अन्नपूर्ण चिनी मिलले लगातार दुई वर्ष किनेको उखुको भुक्तानी नगर्दा उनीहरुमाथि ऋणमाथि व्याजको भार थपिँदै गएको छ ।

छोरीको बिहेदेखि घर खर्चसम्म ऋणबाटै

तराई मधेसमा दाइजो नदिई छोरीको बिहे गर्न गाह्रो छ । छोरीको विवाह गर्नकैलागि भए पनि अभिभावकहरु आफ्नो सम्पति सिध्याउँछन् । महिनाथपुरमा पनि यस्ता धेरै किसान छन्, जसले छोरीको बिहेकैलागि ऋण लिएका छन् ।

यो पनि पढ्नुहोस उखु : बाली नगदे, कारोबार उधारो !

महिनाथपुरका शेख समीमले आफ्नी छोरीको विवाहका लागि तीन वर्षअघि ७ लाख रुपैयाँ ऋण लिएका थिए । ‘दाइजो तिर्नेदेखि भोजभतेर त्यही ऋणको रकमले गरें,’ उनले भने ।

अर्का उखु किसान रामेश्वर रायले दुई वर्षअघि छोरीको विवाह गर्दा ३ लाख रुपैयाँ ऋण लिए । ‘१ लाख स्वाबलम्बन विकास बैंक र दुई लाख गाउँकै साहुबाट लिएर छोरीको विवाह गरें,’ उनले भने, “ऋणबाहेक अन्य विकल्प पनि छैन ।’

यसरी लिएको ऋण तिर्ने आय स्रोत भएको धेरैको उखु खेती नै हो । तर पछिल्ला वर्षहरुमा एक त पुरानै मूल्यमा उखु बेच्नु परेको छ, त्यस पनि पनि पैसा पाएका छैनन् ।

अब त उनीहरुलाई घर खर्च चलाउन पनि ऋण लिनुपर्ने अवस्था आएको छ । स्थानीय किसान रामसागर महतो ऋण काडेर पेट पालिरहेको बताउँछन् । ‘छोराछोरीलाई पढाउन र अन्य काम गर्न एकदमै समस्या भइरहेको अवस्था छ,’ उनले भने, ‘दिमागले काम गर्न छाडेको छ । के गर्ने ?’

सस्तोमै बेच्नुपर्ने बाध्यता

एकातिर दुई वर्षको बाँकी पैसा नदिई अन्नपूर्ण मिल बन्द भयो । अर्कोतिर सरकारले दुई वर्षअघिकै मूल्य तोकेको छ, प्रितिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा ।

तर किसानहरुले भने सरकारले तोकेको मूल्य पनि पाउँदैनन् । घर खर्च चलाउनै भएपनि सस्तोमा बेच्नुपर्ने बाध्यता छ । शीतलहर बढ्दै जाँदा ५९ वर्षीय नागेश्वर सहनीको हात, खुट्टा अत्यधिक दुख्न थालेपछि उपचार गर्न पैसा भएन । साढे तीन बिघा जग्गामा उखु खेती गरेका नागेश्वरले २ क्वीन्टल उखु सस्तोमा बेचेर भए पनि केही पैसा जोहो गरेर उपचार गरे ।

यो पनि पढ्नुहोस चिनी मिलमा वर्गसंघर्ष

‘तीन सय रुपैयाँ क्वीन्टलका हिसाबले ठेकेदारलाई दियौं,’ उनले अनलाइनखबरसँग भने, ‘नबेचेको भए औषधि किनेर खान पनि नसक्ने अवस्था आयो ।’
सहनीजस्तै धेरै किसानले चिनी उद्योगबाहेक घरघरमा आउने ठेकेदारलाई सस्तैमा उखु दिने गरेका छन् । नजिकैको अन्नपूर्ण चिनी उद्योग बन्द भएका कारण उखु सस्तोमै बेच्नुपर्ने बाध्यता आफूहरुलाई आउन लागेको उनीहरुको भनाइ छ ।

अग्रवालले डुबायो

धनकौल गाउँपालिकामै छ अन्नपूर्ण चिनी मिल । ६ वर्षअघि हरकठबामा यो उद्योग स्थापना भएको थियो ।

उद्योग स्थापना हुने बेला उद्योगी राकेश अग्रवाल गाउँमा आएर भनेका थिए, ‘अब यो गाउँ धनी हुने भयो ।’ त्यो क्षण सम्झिँदै किसान रामसागर महतो भन्छन्, ‘उनको कुरा सुनेर असाध्यै खुशी भयौं । निकै मेहनत गरेर उखु उब्जायौं ।’

तर किसानहरु धनी भएनन्, बरु ऋणको भारीले थिचिँदै गए । ‘ऋण लिएर अत्यधिक मेहनत गरी अग्रवाललाई उखु पु¥याउँदा त धनी हुनुको सट्टा हामी कंगाल भयौं,’ उनले भने, ‘हामीले दुई वर्ष बेचेको उखुको भुक्तानी पाउन सकेका छैनौं ।’

कसैको ५ लाख त कसैको १५ लाखसम्म लिन बाँकी छ । मिलले भुक्तानी गरेपनि लिएको ऋणको साँवा र व्याज तिर्नमै ठिक्क हुने अवस्था आइसकेको छ ।

अन्य खेती सम्भव छैन

यहाँका अधिकांश किसानको आफ्नै जग्गा छ । तर अन्य उखुबाहेक अरु बाली लगाउन सक्ने अवस्था छैन । ‘धान लगाउँदा प्रत्येक वर्ष मनुसमारा र वागमती नदीको बाढीले बगाउँछ,’ कृषक अजय यादवले भने, ‘गहुँलाई चाहिने सिँचाइ छैन ।’

यो पनि पढ्नुहोस चिनीमा राजनीति : राजपा ताला ठोक्ने, नेकपा फुटाउने !

तरकारी खेती गर्दा जंगली जनावरले अत्यधिक सताउने गरेको उनीहरुको भनाइ छ । ‘तरकारी लगायो कि नीलगाई र बँदेल तथा मुसाले सखाप पार्छन्,’ किसानले सामूहिक रुपमा भने, ‘त्यही भएर उखु खेती हाम्रो बाध्यता हो ।”

कसैले पहल नगरिदिएको गुनासो

ऋणमा डुबेका किसानले चिनी मिलबाट आफूहरुको भुक्तानी दिलाइदिन विभिन्न निकायलाई हार गुहार नगरेका होइनन् । प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रीसम्मलाई गुहारे । ‘सबैले आश्वासनबाहेक केही दिएनन्,’ किसान रामसागर महतोले भने, ‘सबै उद्योगीसँग टाँसिएका छन् । हाम्रो कसैलाई मतलव छैन ।’

किसानहरुका अनुसार एक वर्षअघि तत्कालीन उद्योगमन्त्री मातृका यादव अन्नपूर्ण चिनी उद्योगमा आएर १५ दिनभित्रै भुक्तानी गराइदिने आश्वासन दिएका थिए । ‘उहाँ मन्त्रीबाट हट्नुभयो, तर हामीले उखुको भुक्तानी पाउन सकेका छैनौं’, उनीहरुले भने ।

यो पनि पढ्नुहोस हामीसँग सरकार किन्ने पैसा छैन ! यो पनि पढ्नुहोस उखुबालीमा किसानको सकसः निल्नु न ओकल्नु यो पनि पढ्नुहोस ‘भारतको खाँदा नेपालको चिनी बिकेन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment