Comments Add Comment

साहित्यिक अनुवादको सिलसिला : सुमेरियन उपन्यासमा एशियाली स्वाद

१९ पुस, काठमाडौं । कुनैबेला एउटा चक्रवर्ती शासकको महत्वाकांक्षाले जन्माएको अनुवाद संस्कृति यतिबेला दस्तावेज राख्नका लागि र साहित्यप्रेमीको साहित्यिक भोक मेटाउनको लागि प्रयोग हुने गरेको छ । सायद अनुवाद संस्कृति थिएन भने होमरको इलियट र ओडिसी केवल ग्रीकको एउटा सानो चौघेरामा सीमित हुन्थ्यो । वाल्मीकिको रामायण र व्यासको महाभारतको कथा केवल संस्कृत जानेका पण्डितहरुको साहित्यका रुपमा मात्र विकसित हुन्थ्यो होला ।

बौद्ध धर्मको प्रचारका लागि गौतम बुद्धले आफ्नो सन्देश सबै भाषामा अनुवाद गरेर प्रचार गर्न नसिकाएको भए यतिबेला बौद्ध धर्म यति चर्चित पनि हुने थिएन होला । जसरी अहिले वेदलाईभन्दा रामायण, महाभारत र श्रीमद्भागवत गीतालाई ठूलो साहित्य मान्ने गर्छ । त्यसैगरी अनुवाद संस्कृतिको विकास भएको थिएन भने पश्चिमा साहित्यमा इलियट र ओडिसी एवं वार एण्ड पिस जस्ता साहित्यहरु केवल सम्बन्धित भाषाको पण्डितहरुमा मात्रै सीमित हुन्थे होला । विश्वको महान् साहित्यको रुपमा आफ्नै भाषाका साहित्यहरु हुन्थेहोला ।

समग्रमा हरेक भाषाको साहित्य खल्लो हुन्थ्यो । रित्तो हुन्थ्यो र सहाराविहीन हुन पुग्थ्यो ।

विश्वमा साहित्य यतिबेला जुन ठाउँमा छ । यो केवल एउटा मात्रै साहित्यको प्रभावले नभएर एउटा साहित्यमा अर्काे साहित्यको मिश्रित रुप जोडिएर भएको हो भन्दा अत्युक्ति नहोला । यही साहित्यिक अनुवाद शैलीका कारण नै यतिबेला हरेक साहित्य ओझिला बनेका छन् । अनुवाद संस्कृति कै कारण देवकोटा देवकोटा बने, संस्कृत साहित्यका महाहस्ती लेखनाथको सर्वाेच्चता यसैले कायम गर्‍यो ।

अनुवाद संस्कृति

अनुवाद संस्कृतिको कुरा गर्दा साहित्यिक अनुवाद र सामान्य विषयको अनुवाद गरी दुई किसिमको अनुवादलाई लिन सकिन्छ । गैरसाहित्यिक अनुवाद संस्कृतिको विकास ईसापूर्व २३ औं शताब्दीतिरबाट सुरु भएको देखिन्छ । साहित्यिक अनुवाद सामान्य अनुवादभन्दा कठिन र जटिल पनि छ । त्यसैले साहित्यिक अनुवाद सधैंभरि विवाद र चर्चामा पनि छ ।

दुई वर्षअघि चर्चित साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित ‘आज रमिता छ’ नामक पुस्तकलाई १६ वर्षसम्म लगाएर गरेको अनुवादमा धेरै त्रुटी वा कमजोरीहरु रहेको भन्दै आलोचना भयो । अंग्रेजीमा सो पुस्तकलाई ‘देयर्स अ कर्निभल टुडे’ नाम दिएर मञ्जुश्री थापाले प्रकाशन गरेकी छन् । साहित्यिक अनुवादमा केवल शाब्दिक अनुवादले मात्रै ओझपूर्ण बनाउन सक्दैनन् । त्यसैले यो भाषा जानेकाहरुले मात्रै अनुवाद गर्न सक्ने विषय होइन । त्यसैले कुनैपनि साहित्यको भाव नमर्ने गरी अर्काे भाषामा त्यसका अवतरण गर्नु नै साहित्यिक अनुवाद हो ।

सम्राटको महत्वाकांक्षासँगै सुरु भएको अनुवाद

अनुवादको इतिहासलाई कोट्याउँदा पश्चिमा मुलुकका साहित्यिक इतिहासबेत्ताहरु ईसापूर्व ३ हजार वर्षसम्म पुग्ने विश्वास गर्छन् । अक्कडियन सम्राट ‘सर्गन द ग्रेट’को महत्वाकांक्षाले जन्मिएको मानिन्छ अनुवादको संस्कृति । उनी आफ्नो साम्राज्य र वीरताको घोषणा विश्वका सम्पूर्ण भाषामा लेख्न चाहन्थे ता कि सबैले आफूलाई आफ्नै जीवनकालमा चिन्न सकून् । यो घोषणा मूलतः त्यहाँको राजभाषा असिरियनमा लेख्ने गरिन्थ्यो । उनको महत्वाकांक्षा अनुसार विभिन्न भाषामा उनले आफ्नो आदेश लेखाएका थिए । अहिलेसम्म प्राप्त भएको अनुवादको संस्कृतिसम्बन्धी तथ्य यही नै हो । यद्यपि यो साहित्यिक स्रोतबाट प्राप्त जानकारी भएकोले यसमा केही प्रशस्ती पनि हुनसक्ने मानिन्छ ।
लिपि विकासको सिलसिलालाई हेर्दा यो समयमा विश्वका सात ठाउँमा छुट्टा छुट्टै लिपीको विकास भएको थियो । त्यसैले इसापूर्व ३ हजार वर्षदेखि सुरुभएको लिपीको विकासलाई इसापूर्व २३ औं शताब्दीमा सुरु भएको मान्न सकिने आधार रहेको इतिहासकारहरुको मत छ ।

सुमेरियन उपन्यासमा एशियाली स्वाद

साहित्यिक अनुवादको अवस्थालाई हेर्दा अहिलेसम्म प्राप्त प्रमाणले सुमेरियन उपन्यासमा पहिलोपटक एशियाली स्वादसँगै यसको सुरुवात भएको मानिन्छ । बेबिलोनबाट सुरु भएको संस्कृतिले धेरैलाई साहित्यको भोक मेट्यो । धेरैको महत्वाकांक्षा पूरा भयो ।

जतिबेलादेखि मानिसहरुलाई साहित्यको भोकले चेप्दै गयो । आफ्नो साहित्यबाट मानिसहरु अरुको लेखन संस्कृतिलाई पनि चिन्ने जमर्काे गर्न थाले । त्यही बेलादेखि सुरु भयो साहित्यिक अनुवादको संस्कृति । साहित्यिक अनुवादको चर्चा गर्दा सबैभन्दा पहिले ईसापूर्व दोस्रो शताब्दीमा विभिन्न साहित्यहरु अनुवाद भएको पुरातात्विक प्रमाणहरु समेत भेटिन्छ ।

मान्छेहरु आफ्नो मौलिक भाषाको साहित्यसँग मात्रै सन्तुष्ट हुन सकेनन् । विश्व एउटै आगन बन्नु पहिले नै विभिन्न मानिसहरु यात्राको क्रममा अर्काे भाषा र संस्कृति भएको ठाउँमा पुग्दा सिकेको विषयलाई आफ्नो भाषामा उल्था गरेर धेरैले ‘बोधिसत्व’को मार्ग समाते । त्यसैले यो संस्कृतिको विकासलाई केलाउँदा यसको इतिहास वर्षाैंदेखि चल्ने गरेको पाइन्छ ।

साहित्यको कुरा गर्दा पुरानो सुमेरियाको गिलगिमेश उपन्यासको आंशिक अनुवाद चार या पाँच एशियाली भाषाहरुमा ईसापूर्व दोस्रो शताब्दीमा भेटिएको छ । विश्वको प्राचीनतम अनुवादको पुरातात्विक प्रमाण ईसापूर्व दोस्रो शताब्दीको थियो । जुन रोजेटा प्रस्तरमा रहेको ईसापूर्व दोस्रो शताब्दीको अभिलेखमा उल्लेख गरिएको छ । यसमा हिरोफाफिक तथा देमातिक (मिश्रका दुई प्राचीन लिपी)हरुमा मिश्रको इतिहास तथा संस्कृति सम्बन्धी मूल सामग्री रहेका छन् । साथमा उसको पुरानो भाषामा अनुवाद समेत भएको छ ।

रोम पूर्वप्राचीनकालमा पश्चिमी क्षेत्र अनुवादको केन्द्र थियो । रोममा ईसापूर्व २४० लिवियस एन्द्रोनिकसले होमरको ओडिसीको ल्याटिन छन्दमा अनुवाद गरे । अहिले विश्वमा सर्वाधिक भाषामा अनुवाद भएको बाइबल पहिले हिब्रु भाषामा थियो । हिब्रु नजान्ने यहुदीहरुले ईसापूर्व दोस्रो शताब्दीमा युनानी भाषा(ग्रीक)मा अनुवाद गरिएको थियो ।

यो अनुवादको औचित्य धार्मिक अधिक र साहित्यिक कम थियो । यद्यपि यसलाई पनि एउटा साहित्यिक अनुवाद हो भन्न भने सकिने अवस्था थियो । शैली पनि त्यो प्राकृत युनानीको ठाउँमा सेमिटिक थियो । ग्रीक र रोमपछि अरबले अनुवादलाई धेरै प्राथमिकता दियो । प्राचीन कालमा अरबमा अनुवादको समृद्ध परम्परा पाइन्छ । बस्तुतः प्राचीन अरबबासीहरु ज्ञान विज्ञानका क्षेत्रहरुमा एकदमै धेरै रुचि लिने गर्थे ।

अहिलेको शून्यदेखि ९ सम्मको अंक गणित पनि भारतमा उत्पत्ति भएको भएपनि अरबमा नै विकास भएको थियो । अरबबाट युरोप र युरोपबाट फेरि दक्षिण एशियाली मुलुकहरुमा १२ औं शताब्दीमा आएको हो ।

आठौं, नवौं र दशौं शताब्दीमा अरबका मानिसहरुले संस्कृतको अंकगणित रेखा गणित र ज्योतिष चिकित्सा संगीत तर्कशास्त्र जस्ता विभिन्न ग्रन्थहरु सहित पञ्चतन्त्र जस्ता कहानीका पुस्तकहरु समेत अनुवाद गरेका थिए । त्यतिबेला यसको राजधानी बग्दादमा थियो ।

१२ शताब्दीतिर आइपुग्दा बिस्तारै बिस्तारै युरोपमा शिक्षा संस्कृतिको विकास हुन थाल्यो भने अरब देशहरुमा शिक्षा संस्कृतिको लोप हुँदै थियो । युरोपमा पुगेपछि स्पेनको टोलेडो नगरमा यसको केन्द्र बनेको थियो । बिस्तारै बग्दादको ठाउँ टोलेडोले ओगटेको थियो । जहाँ ठूलो संख्यामा अरबीभाषाका ग्रन्थहरुलाई ल्याटिन भाषामा अनुवाद गर्न व्यस्त मानिन्थे ।

१२ औं शताब्दी तिरै बुद्धको जीवनमा आधारित दन्त्य कथाहरुलाई ईसाई धर्मको कहानीका रुपमा रुपान्तरित गरिएको थियो । यस ग्रन्थले धेरै प्रशस्ति पायो । युरोपमा यसका लागि सम्मान पनि मिल्यो । त्यो समयमा भएका अनुवादमध्ये सबैभन्दा विलक्षण अनुवाद यसैलाई मान्ने गरिन्छ ।

एलिजावेथ प्रथमको समयमा इंग्ल्याण्डमा अनुवादको प्रथम महान युग मानिन्थ्यो । एलिजावेथ द्वितीयको युग समेत द्वितीय विपुल अनुवादको युग थियो । भौतिक मानिसहरुको साहित्यिक कार्य पुस्तकालय संस्कृतिमा केन्द्रित भयो ।

नेपालमा अनुवाद संस्कृति

नेपालमा भाषा अनुवादको कुरा गर्दा लिच्छविकालदेखि यसको प्रमाण पाइन्छ । लिच्छविकालमा चिनियाँ एवं युरोपबाट समेत धेरै यात्रीहरु आएका थिए । सो समयमा उनीहरुले उल्लेख गरेको एवं विभिन्न पुरातात्विक स्रोतहरुलाई आधार मान्दा नेपालमा समेत अनुवाद संस्कृति पहिलेदेखि नै सुरु भएको मान्न सकिन्छ ।

त्यतिबेला विभिन्न बौद्ध ग्रन्थहरुलाई पाली भाषाबाट तिब्बती भाषामा अनुवाद गरेको कुरा उल्लेख गरिएको छ । यसले पनि पहिलेदेखि नै अनुवाद संस्कृतिको विकास भएको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment